एसएलसीः ३ सय ३१ विद्यालय निल ,गणितमा धेरै फेल


सूर्यकुमार क्षेत्री/उज्यालो । काठमाडौं, असार १ – यो बर्षको एसएलसी परीक्षामा मुलुकभरका ३ सय भन्दा धेरै विद्यालयको नतिजा शून्य भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार तीनसय ३१ विद्यालयको नतिजा शून्य भएको हो । पाँचथर सबै भन्दा धेरै शून्य नजिता ल्याउने जिल्लामा परेको छ । शून्य नतिजा ल्याउनेमा पाँचथरसँगै इलाम र अछामका विद्यालय अगाडि छन् ।
पाँचथरमा २३, अछाममा १७ र इलाममा १५ वटा विद्यालयको नतिजा शून्य भएको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिनुभयो । त्यस्तै डोटीमा १४, उदयपुरमा १३, भोजपुर र मोरङमा १२ ताप्लेजुङमा ११, खोटाङमा ११, सप्तरीमा ११ विद्यालयको नतिजा शून्य भएको छ । नियन्त्रक द्वारेले नतिजा शून्य आउने विद्यालय सामुदायिक, संस्थागत नछुट्टिएको बताउनुभयो ।

सबै भन्दा धेरै गणितमा फेल

एसएलसी दिएका बिद्यार्थी मध्ये धेरै गणित बिषयमा फेल भएका छन् । यो बर्षको एसएलसीमा १ लाख ७२ हजार २ सय ११ विद्यार्थी गणित बिषयमा फेल भएका छन् । गणितपछि विज्ञान बिषयमा धेरै विद्यार्थी फेल भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार विज्ञानमा १ लाख ६१ हजार २ सय ६० विद्यार्थी फेल भएका छन् । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले अंग्रेजीमा फेल हुने विद्यार्थीको संख्या १ लाख ३४ हजार ७ सय २९ रहेको बताउनुभयो । परीक्षा नियन्त्रणका अनुसार सामाजिक शिक्षामा १ लाख १२ हजार ९४, नेपालीमा, ५७ हजार ५५ र स्वास्थ्य, जनसंख्यामा ३० हजार १ सय ५३ विद्यार्थी फेल भएका छन् ।

फेलको कारण शिक्षक

शिक्षासँग सरोकार राख्नेले एसएलसीमा विद्यार्थी फेल हुनुको प्रमुख कारण शिक्षक भएको औंल्याएका छन् । शिक्षा पत्रकार समूहले गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले शिक्षकले राम्रो पढाउन नसकेका कारण फेल हुनेको संख्या बढेको बताउनुभयो ।
द्वारेले भन्नुभयो ‘विद्यालयमा केही शिक्षकले पढाएका छन केहीले छैनन्, त्यसैको मारमा विद्यार्थी परेका हुन् ।’ शिक्षाविद डा विद्यानाथ कोइरालाले नयाँ प्रविधिसँग घुलमिल हुन नसकेका शिक्षकका कारण नतिजा खस्केको बताउनुभयो ।
शिक्षक नेता मोहन ज्ञवालीले आफूहरुले क्याम्पस पढ्दा सिकेका र जानेका भरमा विद्यार्थीलाई पढाउन परेको तर्क गर्नुभयो । ज्ञवालीले भन्नभयो ‘हामी शिक्षकलाई आवश्यक तालिम, ज्ञान र सामाग्री छैनन् ।’

Post a Comment

Previous Post Next Post