एसएलसीले कसैलाई नमारोस् ।

प्यारा भाईबहिनीहरु
हरेक वर्ष एसएलसीको नतिजा प्रकाशित भएपछि पत्रपत्रिकामा फलानो विद्यार्थीले आत्महत्या गरेर मरे भन्ने खवरले भित्रैदेखि मर्माहत हुन्छु । म पनि मेरो पालामा अनेक परिस्थितको सिकार भएर त्यसैगरी अनुतीर्ण भएको थिएँ । तर मैले ठानिन कि म जिन्दगीमै अनुतीर्ण भएको हुँ । म गरेर देखाइदिन्छु भन्ने हिम्मत राखेर अघि बढे र आज मसँग हातमा दुई वटा डिग्री  छ भने एउटा कलेज लगायत अन्य दुईवटा कम्पनीको संचालन गरिरहेको छु । म भन्दा पहिला पास भएका साथीहरु धेरैजनाले अझै डिग्री गर्न सकेका छैनन् भने धेरै जना उत्कृष्ट नतिजा ल्याउने साथीहरु जागिर पाइन भनेर डिपे्रशनको सिकार भएको भेटेको छु । कतिलाई म अझै पनि जागिर खोज्दिरहेछु । जिन्दगीमा अघि बढने धेरै बाटाहरु हुन्छन् । पास हुँदैमा संसारनै जितिने पनि हैन र फेल हुँदैमा संसार नै डुव्ने पनि हैन । कहिल्यै नठान्नुहोला एसएलसी नै सबथोक हो । जिन्दगीमा दिनुपर्ने अनेक परीक्षाहरु अझै धेरै बाँकी छन् । कति ठाउँमा लडनै बाँकी छ । लडेर उठनेहरु नै संसारमा महान् भएकाछन् । नेपालकै प्रख्यात कलाकार हरिवंश आचार्य पनि एसएलसीमा अनुतीर्ण भएका थिए तर उनी आज जिन्दगीमा धेरै अगाडि छन् । त्यसैगरि माइक्रोसफ्टका विल गेट्स, भारतका लेखक रविन्द्रनाथ टैगोर, अमेरीकी राष्ट्रपति हेरी एस् टुमन लगायत धेरै विजेताहरु यस्ताखाले परीक्षमा पटकपटक अनुतीर्ण भएका थिए तर उनीहरुले हिम्मत हारेनन् र आत्मविश्वास र मिहिनेतले संसारलाई जितेर देखाए । हरेक मानिससँग केही न केही खुवी हुन्छ नै केवल त्यसलाई चिनेर अघि बढ्न मात्र सक्नुपर्छ ।हरेक असफलताले ज्ञान दिन्छ र शोकलाई शतिmमा परिणत गरेर अघि बढ्नुनै मानिसको सफलता हो ।   एक वर्ष ढिलो चाँडो हुँदैमा तपाईको जिन्दगीमा केही फरक पर्नेछैन । तपाईका साथीहरु जितेर कतै पुग्ने छैनन् । अनुतीर्ण त राज्य भएको हो ,शिक्षक भएका हुन् ,यहाँको शिक्षा प्रणली भएको हो जो पास हुनेगरी पढाउन सक्दैनन्, आत्महत्या त तिनले गर्नुपर्ने हो । राज्यका ठेकेदारहरु शिक्षाको नाममा आएको करोडौ पैसामा आहाल बसेर निर्दोष विद्यार्थीहरुको हत्या गरिरहेछन् र निजी स्कूल चलाउने व्यापारीहरु जुकाझै चुसेर डेल्किएपछि स्तरीयताको नाममा विद्यार्थीहरुलाई बलिको बोको बनाइरहेछन् । 
  अभिभावकहरुमा मेरो अनुरोध कृपया तपाईहरुका छोराछोरी अनुतीर्ण भइहाले भने गाली गर्नुको साटो सम्झाउनुहोला र थप हिम्मत दिनुहोला । यसमा व्यतिmगत कमजोरीको मात्र भूमिका हुँदैन, अवोध विद्यार्थीहरुलाई अनेक पारिवारिक  एवं सामाजिक चाप र महत्वकांक्षाको चेपुवामा पारिएको छ र छोराछोरीले डिस्टिंकसन ल्याउनुलाई सामाजिक रवाफ देखाउने पाखण्डी आडम्बरको संस्कार बनाइएको छ । वर्तमान समयमा त यो परीक्षाको कुनै महत्वसमेत बाँकी छैन किनकी अन्तराष्ट्रिय स्तरमै १२ कक्षासम्मलाई नै  विद्यालय तहको मान्यता दिइएको छ । राज्य एसएलसी लिने प्रणालीलाई खारेज गर्नुको साटो केही शैक्षिक माफिया र राजनितीक दवावको दलदलमा फसेर यसलाई व्यापारिकरण गर्न सघाइरहेको छ ।  यस परीक्षालाई जिन्दगीको फलामे ढोका हो भनेर कलिला विद्यार्थीहरुलाई वर्षौदेखि तर्साइएको छ जसले उनीहरुमा मनोवैज्ञानिक त्रास सिर्जना भएको छ जसकारण कतिले आत्तिएर क्षमता हुँदाहुँदैपनि राम्रो लेख्न सकिरहेका छैनन् ।हामीले हाम्रा छोराछोरी र विद्यार्थीहरुलाई जिन्दगी भनेको दौड हो भनेर गलत सिकाइरहेछौ र विना गन्तव्य कुद्न लगाइरहेछौ । बुझ्नुहोला जिन्दगी कुनै दौड हैन ,केवल यात्रा हो । सफलता जिन्दगी कसले कति मजासँग यात्रा गर्नसक्छ भनेर नाप्नु ठीक हुन्छ । प्रथम हुनेको मात्र अस्तित्व हुने भैदेकोभए बाँकी त कोही नहुनुपर्ने । यात्राको आफ्नै गति हुन्छ ।क्षमता अनुसार कोही छिटो पुग्छन् त कोही ढिलो फरक यत्ति हो ,कतै नपुगेपनि यात्रा गर्नु नै जीवनको सार हो । त्यसैले यात्रा गर्न अनेक बाटाहरु देखाईदिनुहोला । कसैले जिन्दगीको बाटो नै नदेखेर अकालमै ज्यान नफालोस् । 
अन्तमा भाइबहिनीहरु, सबै पास भए म मात्र फेल भएँ, मेरो जिन्दगीनै सत्यानाश भयो भनेर एकफेर पनि नसोच्नु । आत्महत्याको सोच एकफेर पनि नराख्नु । जीवन सारै सुन्दर छ र तपाई कहिल्यै एसएलसीमा पास नभएनी सीप सिकेर जीवन हराभरा बनाउन सक्नुहुनेछ ।  असफल मानिसका अगाडि बाटैबाटाहरु हुन्छन् । यात्रा गर्ने हिम्मत चाहि राख्नुपर्छ । यस्तो सोच्नु अब मैले थप जिम्मेवार बन्नु छ, लगनशील बन्नुछ र आफूलाई म कमजोर छैन भनेर प्रमाणित गर्ने मौका आएको छ । नरमाइलो लागेको छ भने कतै घुम्न गइदिनुहोस् जहाँ जस्ले तपाईको कुरा बुझ्छ र हिम्मत दिन्छ । यहाँ कसैलाई जितेर केही पाईदैन । जित्नु त आफूलाई नै छ । पास त त्यो हुन्छ जस्ले जिन्दगीमा हिम्मत हार्दैन र यात्रा गरिरहन्छ । लडेर उठने हिम्मत राख्नु नै तपाईको जितको मार्ग हो । त सफल जिन्दगीको शुभकामना । 

 तपाईहरुको दाजु
अविरल थापा
 
Published on Kantipur Saptahik on June 

Post a Comment

Previous Post Next Post