एक हप्ताभित्र पूर्वबाट मनसुन सुरु हुने

काठमाडौ, जेठ २७ – सामान्यतया जुन १० मा मनसुन सुरु हुने गर्छ । तर यसवर्ष जुन १० भैसक्दा समेत मनसुनको छाँटकाँट देखिएको छैन ।
कहाँ आइपुग्यो त मनसुन ? ‘भारतको केरला र तमिलनाडुमा आइपुगेको छ अहिले’ मौसमविद सुवास रिमालले भन्नुभयो, ‘अबको एक हप्ताभित्र पूर्वबाट मनसुन सुरु हुने संकेत देखिएको छ ।’
पूर्वमा एक हप्ताभित्र सुरु भएपनि पश्चिममा भने मनसुन पुग्न अझै ढिलाई हुने मौसमविदको भनाई छ । नेपालमा पूर्वी क्षेत्रबाट मनसुन सुरु हुने गर्छ । अहिले पनि पूर्वी क्षेत्रमा प्रिमनसुन सक्रिय छ । पूर्व र मध्य क्षेत्रमा पानी पर्दा मध्य र सुदूरपश्चिममा भने गर्मी बढेको छ ।

मौसमविदहरुका अनुसार मनसुनी वर्षाको मात्रा र यसको प्रभावको अध्ययन गर्दा यसवर्षको मनसुन केही कमजोर हुने देखिएको छ । मनसुन औषत या त्यो भन्दा पनि कम हुने आंकलन गरिएकाले यसवर्षको मनसुनमा उत्साहजनक वर्षाको सम्भावना कम रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

वरिष्ठ मौसमविद मणिरत्न शाक्यका अनुसार नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा देखापर्ने मनसुनको उत्पत्ति हिन्द महासागरमा हुने गर्छ । गर्मीयामको बेला दक्षिण एसियाको भू–भाग र यससँग जोडिएको बंगालको खाडी, अरब सागर र हिन्द महासागरको सतहको पानी असमान रुपमा तात्ने कारणले देखा पर्ने मनसुन हिन्द महासागरबाट दक्षिण एसियामा बहने सिलसिलामा दक्षिण पश्चिम दिशाबाट सर्वप्रथम दक्षिण भारतको केरला राज्यमा प्रवेश गर्ने गर्छ । त्यहाँबाट उत्तर–पूर्वतिर बहँदै भारतको विभिन्न स्थानमा मनसुन देखा पर्ने गर्छ । र त्यहाँबाट बंगालको खाडीको बाटो हुँदै बंगलादेशतिर प्रवेश गर्ने गर्छ ।

यही मनसुनी वायु  दिशा परिवर्तन हुँदै दक्षिणपूर्वी दिशाबाट नेपालको पूर्वी भेगमा  प्रवेश गर्ने गर्छ । पूर्वी नेपाल र यससँग जोडिएको भारतीय भू–भागबाट मनसुन उत्तर–पश्चिम दिशातिर बहँदै मध्य तथा पश्चिम नेपाल र यससँग जोडिएको उत्तर र उत्तर–पश्चिम भारतमा मनसुन प्रवेश गर्ने गर्छ । र अन्ततः यो पाकिस्तान प्रवेश गर्ने गर्छ ।
मूलतः दक्षिण एसियामा बहने मनसुनको वहाव यसरी हुने गरेपनि अरब सागरमा देखा पर्ने मनसुनी गतिविधिले पनि दक्षिण एसियामा वर्षा गराउने गर्छ  । अरब सागरमा देखा पर्ने मनसुनले पाकिस्तान तथा उत्तर र उत्तर–पश्चिम भारतको विभिन्न स्थानमा राम्रो वर्षा गराउने गर्छ । यसको प्रभावबाट नेपालमा पनि विशेष गरी सुदूर र मध्य पश्चिममा वर्षा हुने मौसमविद शाक्यले बताउनुभयो ।
Source: ujyaaloonline.com

Post a Comment

Previous Post Next Post