काठमाडौ, जेठ २७ – सामान्यतया जुन १० मा मनसुन सुरु हुने गर्छ । तर यसवर्ष जुन १० भैसक्दा समेत मनसुनको छाँटकाँट देखिएको छैन ।
कहाँ आइपुग्यो त मनसुन ? ‘भारतको केरला र
तमिलनाडुमा आइपुगेको छ अहिले’ मौसमविद सुवास रिमालले भन्नुभयो, ‘अबको एक
हप्ताभित्र पूर्वबाट मनसुन सुरु हुने संकेत देखिएको छ ।’
पूर्वमा एक हप्ताभित्र सुरु भएपनि
पश्चिममा भने मनसुन पुग्न अझै ढिलाई हुने मौसमविदको भनाई छ । नेपालमा
पूर्वी क्षेत्रबाट मनसुन सुरु हुने गर्छ । अहिले पनि पूर्वी क्षेत्रमा
प्रिमनसुन सक्रिय छ । पूर्व र मध्य क्षेत्रमा पानी पर्दा मध्य र
सुदूरपश्चिममा भने गर्मी बढेको छ ।
मौसमविदहरुका अनुसार मनसुनी वर्षाको
मात्रा र यसको प्रभावको अध्ययन गर्दा यसवर्षको मनसुन केही कमजोर हुने
देखिएको छ । मनसुन औषत या त्यो भन्दा पनि कम हुने आंकलन गरिएकाले यसवर्षको
मनसुनमा उत्साहजनक वर्षाको सम्भावना कम रहेको जल तथा मौसम पुर्वानुमान
महाशाखाले जनाएको छ ।
वरिष्ठ मौसमविद मणिरत्न शाक्यका अनुसार
नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा देखापर्ने मनसुनको उत्पत्ति
हिन्द महासागरमा हुने गर्छ । गर्मीयामको बेला दक्षिण एसियाको भू–भाग र
यससँग जोडिएको बंगालको खाडी, अरब सागर र हिन्द महासागरको सतहको पानी असमान
रुपमा तात्ने कारणले देखा पर्ने मनसुन हिन्द महासागरबाट दक्षिण एसियामा
बहने सिलसिलामा दक्षिण पश्चिम दिशाबाट सर्वप्रथम दक्षिण भारतको केरला
राज्यमा प्रवेश गर्ने गर्छ । त्यहाँबाट उत्तर–पूर्वतिर बहँदै भारतको
विभिन्न स्थानमा मनसुन देखा पर्ने गर्छ । र त्यहाँबाट बंगालको खाडीको बाटो
हुँदै बंगलादेशतिर प्रवेश गर्ने गर्छ ।
यही मनसुनी वायु दिशा परिवर्तन हुँदै
दक्षिणपूर्वी दिशाबाट नेपालको पूर्वी भेगमा प्रवेश गर्ने गर्छ । पूर्वी
नेपाल र यससँग जोडिएको भारतीय भू–भागबाट मनसुन उत्तर–पश्चिम दिशातिर बहँदै
मध्य तथा पश्चिम नेपाल र यससँग जोडिएको उत्तर र उत्तर–पश्चिम भारतमा मनसुन
प्रवेश गर्ने गर्छ । र अन्ततः यो पाकिस्तान प्रवेश गर्ने गर्छ ।
मूलतः दक्षिण एसियामा बहने मनसुनको वहाव
यसरी हुने गरेपनि अरब सागरमा देखा पर्ने मनसुनी गतिविधिले पनि दक्षिण
एसियामा वर्षा गराउने गर्छ । अरब सागरमा देखा पर्ने मनसुनले पाकिस्तान तथा
उत्तर र उत्तर–पश्चिम भारतको विभिन्न स्थानमा राम्रो वर्षा गराउने गर्छ ।
यसको प्रभावबाट नेपालमा पनि विशेष गरी सुदूर र मध्य पश्चिममा वर्षा हुने
मौसमविद शाक्यले बताउनुभयो ।
Source: ujyaaloonline.com
Source: ujyaaloonline.com
إرسال تعليق