नेपालमा मनसुनको आगमन

मणिरत्न शाक्य – मानव जीवनयापन गर्न अति नै आवश्यक पानीको स्रोतको रुपमा रहेको मनसुन, पहाडी तथा कृषि प्रधान मुलुक नेपाल जहाँ पर्याप्त मात्रामा सिञ्चाइ सुविधा उपलब्ध हुन सकिरहेको छैन त्यहाँको लागि वरदानतुल्य छ । तर यही मनसुनको प्रकोपले निम्त्याउने अतिवृष्टि मानव जीवन समाप्तिको कारण बन्छ ।

नेपाल लगायत दक्षिण एशियाको विभिन्न स्थानमा देखापर्ने मनसुनको उत्पत्ति हिन्द महासागरमा हुने गर्छ । गर्मीयामको बेला दक्षिण एसियाको भू–भाग र यससँग जोडिएको बंगालको खाडी, अरब सागर र हिन्द महासागरको सतहको पानी असमान रुपमा तात्ने कारणले देखा पर्ने मनसुन हिन्द महासागरबाट दक्षिण एशियामा बहने सिलसिलामा दक्षिण पश्चिम दिशाबाट सर्वप्रथम दक्षिण भारतको केरला राज्यमा प्रवेश गर्ने गर्छ ।

त्यहाँबाट उत्तर–पूर्वतिर बहँदै भारतको विभिन्न स्थानमा मनसुन देखा पर्ने गर्छ । र त्यहाँबाट बंगालको खाडीको बाटो हुँदै बंगलादेशतिर प्रवेश गर्ने गर्छ । यही मनसुनी वायु दिशा परिवर्तन हुँदै दक्षिणपूर्वी दिशाबाट नेपालको पूर्वी भेगमा  प्रवेश गर्ने गर्छ । पूर्वी नेपाल र यससँग जोडिएको भारतीय भू–भागबाट मनसुन उत्तर–पश्चिम दिशातिर बहँदै मध्य तथा पश्चिम नेपाल र यससँग जोडिएको उत्तर र उत्तर–पश्चिम भारतमा मनसुन प्रवेश गर्ने गर्छ । र अन्ततः यो पाकिस्तान प्रवेश गर्ने गर्छ ।

मूलतः दक्षिण एशियामा बहने मनसुनको वहाव यसरी हुने गरे पनि अरब सागरमा देखा पर्ने मनसुनी गतिविधिले पनि दक्षिण एशियामा वर्षा गराउने गर्छ  । अरब सागरमा देखा पर्ने मनसुनले पाकिस्तान तथा उत्तर र उत्तर–पश्चिम भारतको विभिन्न स्थानमा राम्रो वर्षा गराउने गर्छ भने यसको प्रभावबाट नेपालमा पनि विशेष गरी सुदूर र मध्य पश्चिममा वर्षा हुने गर्छ ।

सामन्यतया मनसुन नेपालमा जुन महिनाको १० तारिख देखि सुरु हुने गर्छ, जसलाई औसत मितिको रुपमा लिने गरिन्छ । तर  यसो भए पनि साच्चै मनसन सुरु हुने दिन भने  पत्येक वर्ष फरक हुने गर्छ । पूर्वी नेपालबाट सुरु हुने मनसुन यसको गति र वेगमा निर्भर रही केही दिनमै पश्चिम नेपालसम्म पुग्छ । तर सामान्यतया एक हप्तादेखि दश दिन सम्ममा पश्चिम नेपालमा मनसुन देखा पर्ने गर्छ ।

भू–उपग्रहबाट प्राप्त मनसुन आगमनको चित्र


मनसुनको कारण नेपालको पहाडी र तराई भेगतिर भारी वर्षा हुने गर्छ । मनसुनकालमा नेपालमा औसत १०५ दिन  वर्षा हुने गरेको तथ्याकबाट देखिन्छ भने मनसुनको अन्त्य नेपालमा पश्चिमबाट पूर्वतिर हट्दै अन्तत पूर्वी नेपालबाट समाप्त हुने गर्छ । सरदर सेप्टेम्बर २३ देखि पूर्वी नेपालबाट समाप्त हुने गर्छ ।

तर विगत केही वर्षदेखि विभिन्न कारणवश मनसुनको आगमन र अन्त्यमा ढिलाई हुन्दै गरेको एक अध्ययनबाट देखा परेको छ । यसै सन्दर्भमा  सन १९८९ देखि २०१० सम्मको  मनसुन सम्बन्धि गरिएको एक प्रारम्भिक अध्ययन अनसार नेपालमा मनसुनको आगमनमा १० बर्षमा २ दिनले ढिला  हुन्दै गई रहेको पाइएको छ । यस अबधिमा सबभन्दा चाडो मनसुन ३१ मेमा शुरु भएको छ भने सबभन्दा ढिला २२ जुनमा भएको छ ।

मनसुन आगमनका दिनहरु सन १९८९ देखि २०१०


त्यस्तै मनसुन समाप्तिका दिन पनि ढिला हुन्दै गई रहेको छ । अध्ययन अनसार १० बर्षमा ७ दिनले मनसुन ढिला हुन्दै गई रहेको छ । यस अबधिमा मनसुनको समाप्ति सबभन्दा चाडो १९ सेप्टेम्बरमा भएको छ भने सबभन्दा ढिला १७ अक्टोवरमा भएको छ ।


मनसुन समाप्तिका दिनहरु सन १९८९ देखि २०१०


स्रोेत: जल तथा मौसम बिज्ञान बिभाग

लेखक वरिष्ठ मौसमविद् हुनुहुन्छ

साभारः उज्यालो अनलाईन

Post a Comment

Previous Post Next Post