बाढीपीडितको सहयोगका लागि टोखा नगरपालिकाद्वारा २० लाख नगद र १ करोड अनुदान दिने निर्णय



टोखा टाइम्स 

काठमाडौँ, ११ भाद्र ।

चीनको सीमावर्ती क्षेत्र नजिकैबाट फुटेर भोटेकोशी नदीमा आएको भीषण र अनपेक्षित बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेपछि काठमाडौँको टोखा नगरपालिकाले ठूलो राहत सहयोगको घोषणा गरेको छ। नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २० लाख सहयोग गर्नाका साथै क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सम्बन्धित स्थानीय तहलाई रु. १ करोड अनुदान उपलब्ध गराउने ऐतिहासिक निर्णय गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईद्वारा भदौ ११ गते हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार, भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण पुगेको क्षतिप्रति टोखा नगरपालिका परिवार स्तब्ध र दुःखी भएको जनाएको छ।

टोखा नगरपालिकाद्वारा घोषित ५ प्रमुख निर्णयहरू:

१. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २० लाख योगदान:

विपदबाट प्रभावित बासिन्दाको उद्धार, राहत तथा पुनःस्थापनाका लागि टोखा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूको सेवा सुविधा, कर्मचारी तथा शिक्षकहरूको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट कट्टा हुने गरी रु. २० लाख रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। साथै, इच्छुक नगरवासीलाई आ-आफ्नो तर्फबाट स्वेच्छिक सहयोग गर्न आह्वान गरिएको छ।

२. भौतिक संरचना पुनर्निर्माणका लागि रु. १ करोड अनुदान:

बाढीबाट क्षति पुगेका प्रभावित क्षेत्रका स्थानीय तहहरूमा पुल, सडक वा अन्य कुनै सार्वजनिक संरचना निर्माण गर्न टोखा नगरपालिकाले रु. १ करोड अनुदान रकम सहयोगका रूपमा उपलब्ध गराउने भएको छ।

३. घाइतेको उपचारमा विशेष प्राथमिकता:

विपदमा परी घाइते भएका व्यक्तिहरूलाई प्राथमिकताका आधारमा स्वास्थ्य उपचार उपलब्ध गराउन टोखा नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूलाई आधिकारिक रूपमा अनुरोध गरिएको छ।

४. वार्ड स्तरबाटै राहत सामग्री सङ्कलन र वितरण सम्झौता:

खाद्य सामग्री, कपडा, औषधि लगायतका आवश्यक राहत सामग्री सङ्कलनका लागि प्रत्येक वडा कार्यालयलाई जिम्मेवारी दिइएको छ। इच्छुक व्यक्ति तथा संस्थाहरूबाट प्राप्त राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी ढुवानीको व्यवस्था मिलाएर सीधै प्रभावित क्षेत्रमा पुर्‍याइनेछ।

५. सम्पर्कविहीन नगरवासीको खोजतलास र सहजीकरण:

बाढी प्रभावित क्षेत्रमा गएका वा बसोबास गरिरहेका टोखाका नगरवासी हालसम्म परिवारको सम्पर्कमा नआएको भए आफ्ना आफन्तहरूबारे नगरपालिकामा विवरण गराउन अनुरोध गरिएको छ। खोज तथा उद्धारका लागि अन्य सुरक्षा निकायहरूसँग निरन्तर समन्वय भइरहेको जनाइएको छ।

सुरक्षाकर्मी र उद्धारकर्ताहरूको उच्च प्रशंसा
नगरपालिकाले जारी गरेको वक्तव्यमा हाल विपद् प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी तथा स्वयंसेवकहरूको अथक प्रयास र योगदानको उच्च कदर एवं प्रशंसा गरिएको छ।

नदी आसपास र जोखिमयुक्त क्षेत्रमा अझै पनि जोखिम कायम रहेकाले सबै प्रभावित क्षेत्रका बासिन्दाहरूलाई धैर्यता राख्न र उच्च सतर्कता अपनाउन नगरपालिकाले अपिल गरेको छ।

Post a Comment

Previous Post Next Post