ऐतिहासिक नगरी टोखाको तलेजु मन्दिरमा भव्यताका साथ सम्पन्न भयो खः द्यः (खड्ग) जात्रा



- सुबिन्द्र श्रेष्ठ, टोखा टाइम्स

टोखा, काठमाडौं — पौराणिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले भरिपूर्ण प्राचीन नगरी टोखाको मुटुमा अवस्थित तलेजु मन्दिरमा यस वर्षको खः द्यः (खड्ग) जात्रा विविध धार्मिक विधि र परम्परासहित भव्यताका साथ सम्पन्न भएको छ।

मल्लकालदेखि नै टोखाको सामरिक सुरक्षा किल्ला वा ‘क्वाथ’ का रूपमा चिनिदै आएको यस मन्दिरको जात्राले टोखाको प्राचीन इतिहास र जीवन्त संस्कृतिको जगेर्ना गर्दै आएको छ।

गुठीगत पद्धति र कडा नियमसहित सञ्चालन
तलेजु मन्दिरमा वर्षको एकपटक बडादशैँका अवसरमा मात्र विशेष जात्रा हुने गर्दछ। तलेजु मन्दिर प्रवेशमा परापूर्वकालदेखि नै कडा नियमहरू लागु रहँदै आएका छन्। सर्वसाधारणका लागि बडादशैँको दशमीका दिन मात्र मन्दिर प्रवेश र दर्शनको खुला अनुमति हुन्छ भने अन्य समयमा आगँ द्यः खलः बाहेकलाई प्रवेश निषेध छ।

जात्रा सम्पन्न गर्नका लागि टोखाका १३ जना जेष्ठ व्यक्तिहरू (थकालीहरू) को अनिवार्य सहभागिता रहने गर्दछ। यसमा श्रेष्ठ थरका १२ परिवारबाट चयन हुने जेष्ठ व्यक्तिहरूमध्ये सबैभन्दा जेष्ठलाई ‘देय् थकाली’ र डंगोल थरका बह्र थकाली गुठीका मूल थकालीलाई १३ औँ थकालीका रूपमा विशेष स्थान तथा दर्जा प्रदान गरिएको हुन्छ।

घटस्थापनादेखि नवमीसम्मका विशेष विधिहरू
दशैँको पहिलो दिन (शुक्ल प्रतिपदा) का दिन देय् मूल नायो र आचाजु (कर्मचारी थरका पूजारी) को उपस्थितिमा मन्दिरमा ‘नलस्वाः’ (जमरा) राखिएसँगै औपचारिक पूजा सुरु हुन्छ। फूलपातीका दिन आचाजुद्वारा पूजाका सामग्री भित्र्याइन्छ भने हाँसको बलि दिइने प्रचलन छ। साथै, जात्राका लागि आवश्यक बाँसको छत्र आकारका १३ वटा खट लाई पूजा गरी स्थापना गरिन्छ। नवमीको सन्ध्याकालमा ‘कुमा फ्वायका वनेगु’ अर्थात् तलेजुको प्रसाद लिएर जीवित देवी गणेश र कुमारीको घरमा गई विशेष पूजाअर्चना गरिन्छ।

एकादशीको दिन: रोमाञ्चक खः द्यः जात्रा र कुभिण्डो लुछाचुँडी
विजयादशमीको भोलिपल्ट एकादशीको बिहानैदेखि तलेजु मन्दिर परिसर (क्वाल) मा विशेष चहलपहल हुन्छ। पूजारीद्वारा तलेजु भवानीको खड्ग र फूलले सजाइएको बाँसको छत्र (जालीदेवी) दर्जाअनुसार थकालीहरूलाई हस्तान्तरण गरिन्छ। शिरमा सेतो ‘बेताली’ पहिरेका थकालीहरूलाई परिवारका महिलाहरूले सुकुन्दा बालेर बत्ती देखाउँछन्।

जीवित देवी गणेश र कुमारीलाई कुमारी पाटीमा विराजमान गराएपछि जात्राको मुख्य भाग सुरु हुन्छ:
• भव्य परिक्रमा: डंगोल थरका बह्र थकाली (शरीरमा ढाल र राँगाको आन्द्राको माला पहिरेका) को अग्रतामा, देय् थकालीलगायतका अन्य थकालीहरू धीमे बाजाको तालमा तपलाछीस्थित लिङ्गेश्वर तथा नारायण मन्दिर परिक्रमा गरी ताहालेस्थित क्षेत्रपाल पुग्छन्।
• रोमाञ्चक दौड : क्षेत्रपालमा विधिवत् पूजा सम्पन्न भएपछि थकालीहरू मन्दिरतर्फ तीव्र गतिमा दौडिन्छन्। सहयोगीहरूले उचालेरै दौडाउने यस दौडमा पहिलो हुने थकालीलाई विशेष सम्मान गरिन्छ।
• कुभिण्डो (भुइफसी) को बलि र लुछाचुँडी: थकालीहरू दौडिएसँगै क्षेत्रपालमा दुष्ट प्रवृत्तिको प्रतीक मानिएको कुभिण्डो (भुइफसी) को बलि दिइन्छ। ओषधीय गुण हुने जनविश्वासका कारण उक्त कुभिण्डो प्राप्त गर्न जात्रामा सहभागीहरूबीच हुने लुछाचुँडी यस जात्राको मुख्य आकर्षणमध्ये एक हो।

नयाँ गणेश रेनिशाको पहिलो जात्रा
केहिसाता अघिमात्र जीवित देवत्वको परम्परा अनुसार नयाँ 'गणेश' मा चयन भएकी रेनिशा डंगोलको यो पहिलो जात्रा हो । जात्रासंगै आम जनमानसलाई गणेशको पहिलो दर्शन भेट पनि हो ।  गणेशको पहिलो  रेनिशाले निवर्तमान गणेश प्राशना डंगोलको उत्तराधिकारीका रूपमा यो जिम्मेवारी सम्हालेकी हुन्।

संरक्षणमा स्थानीय सरकारको साथ
स्थानीय मूल नाइके हेमराज श्रेष्ठका अनुसार यस ऐतिहासिक तथा मौलिक जात्राको संरक्षण र व्यवस्थापनका लागि हाल टोखा नगरपालिका तथा सम्बन्धित वडा कार्यालयले आवश्यक सामाग्री तथा प्रबन्ध मिलाउँदै आएका छन्।

भक्तपुरबाट तलेजुमा खड्ग भित्र्याइएको किंवदन्ती बोकेको यस खः द्यः जात्राले टोखाको ऐतिहासिक पहिचानलाई अझ प्रगाढ बनाउँदै आएको छ। यस प्रकारका मौलिक सांस्कृतिक पर्वहरूको संवर्द्धन र प्रवर्द्धन गर्नु आजको आवश्यकता बनेको छ।

Post a Comment

Previous Post Next Post