नेपालको गौरव–नेपाल संवत विशेष


नेपाल संवत र नेपालको सामाजिक जीवन
        नेपालका केही अल्पसंख्यक धार्मिक वा जातीय समुहहरु बाहेक नेपाली जनताको अत्यधिक बहुसंख्याको धार्मिक, साँस्कृतिक, सामाजिक तथा जन्मदेखि मृत्युपछि समेतको कार्यमा नेपाल संवत अक्षुण्ण र अभिन्न रुपले गाँसिएको छ । हाम्रा बच्चाका पास्नीका साइतहरु नेपाल संवतको तिथि बमोजिम तय  गरिन्छन् । हामीले मनाउने जन्मोत्सवहरु, जीवित पुर्खाहरुको जङक्वहरु (बुढा पास्नीहरु)नेपाल संवतकै तिथि अनुसार मनाइन्छन् । मृत पुर्खाका नाममा गरिने श्राद्ध, तर्पण, पीण्डपानी अर्पण गर्ने कार्यहरु नेपाल संवतकै तिथिको आधारमा गरिन्छ । 
        साउने संक्रान्ति, माघे संक्रान्ति केहि अपवादलाई छोडेर संस्कृतिका धनी हामी नेपालीका असंख्या चार्डपर्वहरु नेपाल संवतकै तिथि अनुसार मनाइन्छन् । हाम्रा अधिकांस चार्डपवहरु पनि नेपाल संवतकै तिथि अनुसार माइन्छन् । नेपालका जातिवादी शासकहरुले नेपाल संवतलाई राजकीय मान्यताबाट गलहत्याए तापनि यो संवत नेपाली जनजीवनको पलपलमा रगरगमा अत्यन्त गहिराईका साथ भिन्न रुपले भिजेर बसेको छ । कुनै आततायी शासक वा शासक गूटले प्रतिबन्ध लगाउँदैमा नेपाल संवतको अस्तित्व र प्रयोग समाप्त हुनेवाला छैन । हाम्रो धर्म,सँस्कृति,परम्परा र रितिरिवाज जीवित रहेसम्म नेपाल संवतको अस्तित्व पनि जीवित रहने छ ।

नेपाल संवत लाई हेर्ने सही दृष्टिकोः
         कुनै पनि कुरालाई जुनरुपमा प्रस्तुत गरिएको छ त्यसै अनुरुप मात्र बुझदा त्यो बुझाई एकाँगी र अपुरो हुन जान्छ । प्रत्यक कुराको अध्ययन त्यसको ऐतिहासिकता र द्धन्दात्मकताको आलोकमा गरिनु पर्छ । त्यसपछि मात्र त्यसको सहि बुझाई वा निष्कर्षमा पुग्न सकिन्छ । राज्यले गर्ने हरेक काम राजनीतिबाट अलग रहन सक्तैन । नेपाल संवत लिच्छवी राजा मादेव द्धितीयको नाममा प्रचलित मानदेव संवतलाई निषेध गरी आएको संवत हो । के शंखधर शाख्वाःले प्रजाहरुको ऋण तिरिदिएकै कारण उनको इच्छा बमोजिम राजा राघवदेवले आफ्नै पुर्खाको नाममा स्थापित मानदेव संवतलाई खुसुक्क प्रतिंहरण गरी लुसुक्क नेपाल संवत प्रचलनमा ल्याएको घोषणा गरेका होलान् । यस अहं प्रश्नको उत्तर खोजी गर्ने क्रममा त्यसको ऐतिहासिक र द्धण्दतात्मकताको आधारमा नेपाल संवतलाई बझदा त्यसको प्रादुभावका वास्तविक कारण बारे एउटा अलग्गै अन्तरकथा प्रस्तुत हुन आउँछ ।

        एक प्रजाले अर्काे प्रजालाई तिर्न ऋणसंग राजा राघवदेवलाई र उनको राज्यसंयन्त्रलाई केको चासो । त्यसैले शंखधर साख्वाले तिरिदिएको ऋण प्रजाप्रजा बीचको ऋण नभएर राज्यलाई तिर्नु पर्ने कर र जरिवाना भन्ने बुझिन्छ । शासक शासित बीच नरम गरम द्धण्द चलिरहनु राज्य संरचनाको सामान्य प्रकृया नै हो । रातीराती विष्णुमती पारी गएर ज्यामीहरुले लखुतीर्थबाट सुनयुक्त बालुवा  निकालि शंखधर साख्वाको घरमा संकलन गर्नुलाई राज्यलाई तिर्नु पर्ने चर्काे कर र जरिवानाबाट पीडित प्रजाहर भुमिगत रुपमा संगठित भएको विद्रोह गर्न अर्थ संकलन गरेको र ती सबैलाई शंखधर साख्वाले संयोजन र नेतृत्व गरेको सजिलै अनुमान गर्न सकिन्छ । यसरी पीडित प्रजाहरुको संगठित बल र संकलित अर्थ सहित आएका शंखधर साख्वाको प्रचण्ड दवावका अगाडि राजा राघवदेव झुक्न र प्रजाको माग बमोजिम नेपाल संवत घोषणा गर्न बाध्य भएको प्रतिक हुन आउँछ ।
         राजनीतिक दृष्टिकोणले हेर्दा शंखधर साख्वाले प्रजाहरुको ऋण तिरिदिएको घटनाले त्यति महत्व राख्दैन जति त्यसमा अन्तरनिहित देशप्रेम, राष्ट्रियताको भावना र जनताको संगठन बलले सामन्ती राज्यसत्तालाई झुकाउन सफल भएको कुराले महत्व राख्दछ । यस अर्थमा शंखधर साख्वालाई नेपाल संवतका प्रवर्तक मात्र होइन नेपालका प्रथम देशभक्त एवं राष्ट्रवादी जननेता मान्दा अतिसयोक्ति हुने छैन । देशको क्षेत्रफल बढे तापाि नेपाल संवत माथि प्रतिवन्द लागेदेखि नेपालको राष्ट्रियता कुण्ठित भएको छ । सर्वसमावेशी नेपाली समाज निर्माणको महान प्रकृया अवरुद्ध भएर नेपालको शासनसत्तामा एउटा खास जातिको प्रभुत्व कायम भएको छ । त्यसको विरुद्ध आज देशमा गणतन्त्रको स्थापना र सबै जातिको समानुपातिक प्रतिनिधित्व तथा सहभागिता सहितको राज्य संरचना खोजिरहेका शक्तिहरुका लागि नेपाल संवत प्रादुर्भावको अन्तरकथा एउटा गतिलो सन्देश हुन सक्छ ।
नेपाल संवतलाई राज्यले गर्नु पर्ने व्यवहार
      एक थरी मानिस राज्यले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिनु पर्ने माग सहित लामो समयदेखि आन्दोलित भइरहेका छन् । राष्ट्रप्रेमको अनुपम नमुनाको रुपमा स्थापित नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिनु पर्ने उनीहरुको माग शत प्रतिशत जायज र स्तुत्य छ । नेपाल संवतका प्रवर्तक शंखधर साख्वालाई राष्ट्रिय विभुतिको सम्मान दिएर राज्यले उनीहरुको माग आँशिक रुपमा पूरा गरिदिएको पनि छ । तर स्रजकलाई राष्ट्रिय विभूति मान्न सक्ने राज्यले स्रजकको सिर्जनालाई मान्ता नदिनुबाट जनाताको जायज माग र नेपालको राष्ट्रियता प्रति सत्ताकम बस्नेहरुको संबेदनशीलता अझै कति कमजोर रहेछ भन्नु पर्ने हुन्छ ।

नेपाल संवत कुनै जाति विशेषको एकलौटी पेवा होइन, सम्पुर्ण नेपाली जनताको साझा सम्पति हो । कुनै चिजलाई राष्ट्रिय मान्यता दिलाउने जस्ता महान काममा सबै जातजातिको सहमति, सहयोग र सहभागिता हुनु पर्ने हो । तर नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिनु पर्छ भनी आन्दोलित हुनेहरुमा नेवार जातिका मानिसहरुको बाहुल्यता रहँदै आएको छ । यसले जनमानसमा उनीहरको माग विशुद्ध नेवार होकि भन्ने भ्रम सिर्जना हुन पुगेको छ । यो नेपाल संवत पक्षधर आन्दोलनकारीहरुको यो ठुलो कमजोरी हो । राम्रो काम गर्छु भन्नेहरुले त्यसको सबै जस आफुले पाउने नियतले होईन, सबैलाई समेटेर हिड्न सक्नु पर्छ । 
            एक जना देशभक्त धरतीपुत्रको प्रयासमा देशकै नामबाट स्थापित नेपाल संवत नेपालको राष्ट्रिय संवत हो भन्नेमा कुनै शंका छैन । देशकै नामबाट स्थापित संवतलाई राष्ट्रिय संवत घोेषणा गर्दा देशद्रोही बाहेक कसैले त्यसको बिरोध गर्ने छैन् । सरकारले जनभावनाको उच्चतम कदर गरेको ठहरिने छ । कुण्ठित राष्ट्रियताले केही मात्रामा भए पनि फक्रने अवसर पाउने छ । देशको नामबाट संवत चलाउने एक मात्र मुलुक भनेर विश्वमा नेपालको कीर्ति फैलिने छ र त्यस्तो देशको नागरिक हुन पाएकोमा देशभक्त नेपाली जनताले थप गौरव महसुस गर्ने छन् । तर यस्तो सुवर्ण अवसर उपयोग गर्नबाट चुकेमा जनआन्दोलनको शक्तिबाट स्थापित नेपाल सरकारका लागि प्रत्युत्पादक हुनेछ ।

Post a Comment

Previous Post Next Post