अन्नपूर्ण निर्वाचन बहस- २
काठमाडौं  : अब निर्वाचित हुने संविधानसभा संविधान निर्माणका लागि शून्यमा फर्किनुपर्ने अवस्था नरहेकाले समयमै संविधान बन्‍ने विश्वास उम्मेदवारले व्यक्त गरेका छन्। अन्नपूर्ण पोस्ट्को आयोजना तथा हिमालयन टेलिभिजन र रेडियो सगरमाथाको सहकार्यमा सोमबार काठमाडौं क्षेत्र ५ मा भएको बहसमा सहभागी उम्मेदवारले यस्तो विश्वास व्यक्त गरेका हुन्।Annapurna-Election-Debate
नयाँ संविधानसभा गठनपछि विगतको जस्तो शून्य अवस्थाबाट काम थाल्नुपर्ने अवस्था र शान्तिसम्झौताको जटिल राजनीतिक परिवेश अब नरहेकाले संविधान लेखनमै सम्पूर्ण ध्यान केन्द्रित हुने भनाइ उनीहरूको थियो।
एमाले महासचिव एवं त्यस क्षेत्रका उम्मेदवार ईश्वर पोखरेलले भने, ‘विवादित विषयको बहस पनि अब अनन्तकालसम्म गरिने छैन।’ उनले सामान्य बहसले विषय हल गर्न नसके विधिद्वारा हल गर्ने र त्यसो पनि हुन नसके निर्णयका लागि जनतामा लैजाने बताए।
नेपाली कांग्रेसका उम्मेदवार नरहरि आचार्यले मुख्य विवादित विषय शासकीय स्वरूप र राज्य पुनर्संरचनामा पनि दलहरू सहमतिनजिक आइरहेको र आफ्नो दल पनि लचिलो भएका कारण सहमति हुनसक्ने बताए।
एमाओवादी उम्मेदवार महेन्द्र श्रेष्ठले पहिलो संविधानसभाले गरेका कामको स्वामित्व लिने सहमति सबै दलले गरिसकेका कारण अब विवादित विषयमा मात्र केन्द्रित हुने बताए। ‘पहिलो संविधानसभाले दलहरूलाई परिपक्व बनाएको छ’, उनले भने।
राप्रपा नेपालका उम्मेदवार राजाराम श्रेष्ठले भने संविधानसभामा नयाँ शक्ति प्रवेशपछि नयाँ ढंगले अघि बढ्ने धारणा राखेका थिए।
उम्मेदवारहरूले संविधानसभाले संसद्को पनि कार्य गर्ने भएकाले आर्थिक समृद्धिसम्बन्धी कार्यक्रम पनि घोषणापत्रमा राखिएको स्पष्ट पारेका थिए। एमाओवादीका श्रेष्ठले पार्टी घोषणापत्रमा रहेको ४० वर्षे कार्यक्रम र उत्पादन अभियान कार्यक्रम कार्यान्वयन गरिने बताए।
कांग्रेस उम्मेदवार आचार्यले विगतमा आफ्नो पार्टीको सरकारले गरेका आर्थिक सुधारलाई निरन्तरता दिइने धारणा राखे।
एमालेका पोखरेलले २०५१ सालमा आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारले गरेका सामाजिक सुरक्षासहितका विकास कार्यक्रमलाई निरन्तरता दिने बताए।
अन्नपूर्ण पोस्ट्का सम्पादक गुणराज लुइँटेलको संयोजनमा भएको बहसको सुरुमा पत्रिकाको प्रकाशन संस्था नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र हिमालय टेलिभिजनका अध्यक्ष ललित अग्रवालले सहभागीलाई स्वागत गरेका थिए। बहसको प्रसारण हिमालय टेलिभिजनले मंगलबार अपराह्न ४:१५ बजे र रेडियो सगरमाथाले १ देखि २ बजेसम्म प्रसारण गर्नेछ।
प्रश्न सोध्दा एमाले कार्यकर्ता उत्तेजित
काठमाडौं ५ मा आयोजित  बहसमा प्रश्न सोध्ने क्रममा त्यस क्षेत्रका मतदाता एवं पत्रकार रमेश घिमिरे (सेतो क्याप र चस्मा लगाएका) माथि आक्रमण गर्दै एमाले कार्यकर्ता ।
काठमाडौं ५ मा आयोजित बहसमा प्रश्न सोध्ने क्रममा त्यस क्षेत्रका मतदाता एवं पत्रकार रमेश घिमिरे (सेतो क्याप र चस्मा लगाएका) माथि आक्रमण गर्दै एमाले कार्यकर्ता ।

बहसका क्रममा ५ नम्बर क्षेत्रका मतदाता रमेश घिमिरेले एमाले उम्मेदवार ईश्वर पोखरेललाई भ्रष्टाचारसम्बन्धी प्रश्न सोध्‍न खोजेका थिए। उनले पूरा प्रश्न सोध्न नपाउँदै एमाले कार्यकर्ता प्रश्नकर्तामाथि जाइलागेपछि केहीबेर तनाव भएको थियो। प्रश्नकर्ता घिमिरेलाई एमाले कार्यकर्ताले पोखरेलमाथि गरिएको प्रश्न असान्दर्भिक, पूर्वाग्रही र प्रायोजित भएको भन्दै कुटपिट गरेका थिए। उनको चश्मा फुटेको थियो।
त्यसपछि केहीबेर होहल्ला भए पनि पोखरेलले सम्बोधन गरेपछि कार्यकर्ता चुप लागेका थिए र कार्यक्रम अघि बढेको थियो।
स्रोत अन्नपूर्ण दैनिक
यो पनि पढ्नुस्