टोखा सांस्कृतिक क्षेत्र घोषणाको रहर,कार्यान्वयन र ऐन निर्माणमा उदासीनता किन?



टोखा टाइम्स, ✍️धर्म डंगोल 

टोखा सांस्कृतिक क्षेत्र घोषणा गर्ने रहर त पूरा भयो, तर कार्यान्वयन र कानुन निर्माणमा  उदासीनता किन? टोखालाई सांस्कृतिक क्षेत्र घोषणा गर्नु आफैँमा गौरवको विषय हो, तर घोषणा गरेर मात्रै इतिहासको संरक्षण हुँदैन, न त भाषण र औपचारिक प्रतिबद्धताले संस्कृतिको अस्तित्व जोगिन्छ। टोखाको मौलिक सभ्यता, ऐतिहासिक सम्पदा, परम्परा, भाषा, जात्रा, पर्व, कला, वास्तुकला र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनशैलीको संरक्षणका लागि स्पष्ट कानुनी आधार, प्रभावकारी कार्ययोजना र जिम्मेवार कार्यान्वयन संयन्त्र आवश्यक हुन्छ।


 विडम्बना! घोषणा गर्ने बेला देखिएको उत्साह र तामझाम कार्यान्वयनको चरणमा पुग्दा किन सेलायो? सांस्कृतिक क्षेत्र घोषणा गर्ने राजनीतिक श्रेय लिन सबैलाई हतार हुने, तर त्यसलाई संस्थागत गर्ने आवश्यक ऐन, नियमावली र कार्यविधि निर्माण गर्न किन कसैलाई चासो नहुने? के सांस्कृतिक क्षेत्र घोषणा गर्नु केवल प्रचारको विषय थियो, कि टोखाको ऐतिहासिक पहिचान र मौलिक सभ्यता जोगाउने वास्तविक संकल्प पनि थियो?


 यदि संकल्प साँच्चै थियो भने आजसम्म कानुनी संरचना निर्माणमा देखिएको सुस्तता र उदासीनताको जवाफ कसले दिने? इतिहास कुनै पदाधिकारीको कार्यकाल कुर्ने विषय होइन, संस्कृति कुनै राजनीतिक दलको घोषणापत्रमा सजाउने नारा होइन र सम्पदा कुनै औपचारिक समारोहमा भाषण गर्ने सामग्री मात्र होइन। आज संरक्षणका नाममा समय खेर फालियो भने भोलि हाम्रो मौलिक पहिचान केवल पुराना तस्बिर, दस्तावेज र स्मृतिमा सीमित हुन सक्छ। 


त्यसैले सम्बन्धित जनप्रतिनिधि, नगरपालिका र सरोकारवाला निकायले अब घोषणाको गौरवगाथा गाउन छाडेर कार्यान्वयनको स्पष्ट समयसीमा, आवश्यक बजेट, विज्ञसहितको सहभागिता र प्रभावकारी कानुनी व्यवस्था निर्माणमा जुट्नुपर्छ। टोखालाई सांस्कृतिक क्षेत्र घोषणा गरेर इतिहासप्रति आफ्नो दायित्व पूरा भएको ठान्नु ठूलो भ्रम हो; वास्तविक दायित्व त त्यसको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि कानुनी तथा संस्थागत आधार तयार गर्नु हो। अन्यथा, यो घोषणा इतिहास जोगाउने संकल्प होइन, इतिहासको नाममा गरिएको राजनीतिक औपचारिकता मात्र साबित हुनेछ।

Post a Comment

Previous Post Next Post