टोखामा निःशुल्क आँखा शिविर हुँदै, रेटिना परीक्षणदेखि चस्मा वितरणसम्मको सेवा उपलब्ध हुने




(न्युज अफ टोखा) टोखा, काठमाडौं। टोखामा स्थानीय नागरिकलाई लक्षित गर्दै निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। श्री भगवती क्लबको आयोजनामा तथा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग र कम्युनिटी केयर नेपालको सह-आयोजनामा उक्त शिविर सञ्चालन हुन लागेको हो।

भोलि कात्तिक १४ गते शनिबार टोखा नगरपालिका–२ स्थित गणेशस्थानमा आयोजना हुने शिविर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।

शिविरमा आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिने आयोजक भगवती क्लबका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए । उनका अनुसार शिविरमार्फत मधुमेह (सुगर रोग) का कारण आँखाको रेटिनामा पर्न सक्ने असरको परीक्षण, मोतिबिन्दुको जाँच तथा उपचार, आँखाको पावर परीक्षण र आवश्यकताअनुसार चस्मा वितरण गरिनेछ।

त्यसैगरी, आवश्यकताअनुसार औषधि वितरण तथा आँखासम्बन्धी अन्य आवश्यक परामर्शसमेत उपलब्ध गराइने छ।

पछिल्लो समय आँखासम्बन्धी समस्या बढ्दै गइरहेको अवस्थामा स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो। विशेषगरी आर्थिक तथा भौगोलिक कारणले नियमित आँखा परीक्षण गराउन नसकेका नागरिकका लागि शिविर उपयोगी हुने अपेक्षा गरिएको छ।

आयोजक श्री भगवती क्लबका अध्यक्ष श्रेष्ठले टोखा तथा आसपासका क्षेत्रका सम्पूर्ण नागरिकलाई शिविरमा सहभागी भई निःशुल्क आँखा परीक्षण तथा उपलब्ध स्वास्थ्य सेवाबाट लाभ लिन आग्रह गरेको छ।

Post a Comment

Previous Post Next Post