मणिरत्न शाक्य – मानव जीवनयापन गर्न अति
नै आवश्यक पानीको स्रोतको रुपमा रहेको मनसुन, पहाडी तथा कृषि प्रधान मुलुक
नेपाल जहाँ पर्याप्त मात्रामा सिञ्चाइ सुविधा उपलब्ध हुन सकिरहेको छैन
त्यहाँको लागि वरदानतुल्य छ । तर यही मनसुनको प्रकोपले निम्त्याउने
अतिवृष्टि मानव जीवन समाप्तिको कारण बन्छ ।
नेपाल लगायत दक्षिण एशियाको विभिन्न
स्थानमा देखापर्ने मनसुनको उत्पत्ति हिन्द महासागरमा हुने गर्छ ।
गर्मीयामको बेला दक्षिण एसियाको भू–भाग र यससँग जोडिएको बंगालको खाडी, अरब
सागर र हिन्द महासागरको सतहको पानी असमान रुपमा तात्ने कारणले देखा पर्ने
मनसुन हिन्द महासागरबाट दक्षिण एशियामा बहने सिलसिलामा दक्षिण पश्चिम
दिशाबाट सर्वप्रथम दक्षिण भारतको केरला राज्यमा प्रवेश गर्ने गर्छ ।
त्यहाँबाट उत्तर–पूर्वतिर बहँदै भारतको
विभिन्न स्थानमा मनसुन देखा पर्ने गर्छ । र त्यहाँबाट बंगालको खाडीको बाटो
हुँदै बंगलादेशतिर प्रवेश गर्ने गर्छ । यही मनसुनी वायु दिशा परिवर्तन
हुँदै दक्षिणपूर्वी दिशाबाट नेपालको पूर्वी भेगमा प्रवेश गर्ने गर्छ ।
पूर्वी नेपाल र यससँग जोडिएको भारतीय भू–भागबाट मनसुन उत्तर–पश्चिम दिशातिर
बहँदै मध्य तथा पश्चिम नेपाल र यससँग जोडिएको उत्तर र उत्तर–पश्चिम भारतमा
मनसुन प्रवेश गर्ने गर्छ । र अन्ततः यो पाकिस्तान प्रवेश गर्ने गर्छ ।
मूलतः दक्षिण एशियामा बहने मनसुनको वहाव
यसरी हुने गरे पनि अरब सागरमा देखा पर्ने मनसुनी गतिविधिले पनि दक्षिण
एशियामा वर्षा गराउने गर्छ । अरब सागरमा देखा पर्ने मनसुनले पाकिस्तान तथा
उत्तर र उत्तर–पश्चिम भारतको विभिन्न स्थानमा राम्रो वर्षा गराउने गर्छ
भने यसको प्रभावबाट नेपालमा पनि विशेष गरी सुदूर र मध्य पश्चिममा वर्षा
हुने गर्छ ।
सामन्यतया मनसुन नेपालमा जुन महिनाको १०
तारिख देखि सुरु हुने गर्छ, जसलाई औसत मितिको रुपमा लिने गरिन्छ । तर यसो
भए पनि साच्चै मनसन सुरु हुने दिन भने पत्येक वर्ष फरक हुने गर्छ । पूर्वी
नेपालबाट सुरु हुने मनसुन यसको गति र वेगमा निर्भर रही केही दिनमै पश्चिम
नेपालसम्म पुग्छ । तर सामान्यतया एक हप्तादेखि दश दिन सम्ममा पश्चिम
नेपालमा मनसुन देखा पर्ने गर्छ ।
भू–उपग्रहबाट प्राप्त मनसुन आगमनको चित्र
मनसुनको कारण नेपालको पहाडी र तराई भेगतिर
भारी वर्षा हुने गर्छ । मनसुनकालमा नेपालमा औसत १०५ दिन वर्षा हुने गरेको
तथ्याकबाट देखिन्छ भने मनसुनको अन्त्य नेपालमा पश्चिमबाट पूर्वतिर हट्दै
अन्तत पूर्वी नेपालबाट समाप्त हुने गर्छ । सरदर सेप्टेम्बर २३ देखि पूर्वी
नेपालबाट समाप्त हुने गर्छ ।
तर विगत केही वर्षदेखि विभिन्न कारणवश
मनसुनको आगमन र अन्त्यमा ढिलाई हुन्दै गरेको एक अध्ययनबाट देखा परेको छ ।
यसै सन्दर्भमा सन १९८९ देखि २०१० सम्मको मनसुन सम्बन्धि गरिएको एक
प्रारम्भिक अध्ययन अनसार नेपालमा मनसुनको आगमनमा १० बर्षमा २ दिनले ढिला
हुन्दै गई रहेको पाइएको छ । यस अबधिमा सबभन्दा चाडो मनसुन ३१ मेमा शुरु
भएको छ भने सबभन्दा ढिला २२ जुनमा भएको छ ।
मनसुन आगमनका दिनहरु सन १९८९ देखि २०१०
त्यस्तै मनसुन समाप्तिका दिन पनि ढिला
हुन्दै गई रहेको छ । अध्ययन अनसार १० बर्षमा ७ दिनले मनसुन ढिला हुन्दै गई
रहेको छ । यस अबधिमा मनसुनको समाप्ति सबभन्दा चाडो १९ सेप्टेम्बरमा भएको छ
भने सबभन्दा ढिला १७ अक्टोवरमा भएको छ ।
मनसुन समाप्तिका दिनहरु सन १९८९ देखि २०१०
स्रोेत: जल तथा मौसम बिज्ञान बिभाग
إرسال تعليق