एसएलसी : ४३.९२% मात्रै पास, ५ वर्षयता लगातार आधाभन्दा बढी फेल

http://assets.ekantipur.com/_img__w_350_h_0__uploads/ekantipur_nep/news/2014/gallery_06_14/slc-pass-color_20140614082802.jpgभक्तपुर, जेष्ठ ३१ - एसएलसीमा योपल्ट ४३.९२ प्रतिशत मात्र विद्यार्थी पास भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजामा नियमिततर्फ गतवर्षभन्दा २.३५ प्रतिशत बढी पास देखिए पनि पाँच वर्षयता आधाभन्दा धेरै विद्यार्थी फेल हुँदै आएको स्थितिमा यो वर्ष पनि सुधार देखिएन ।
योपल्ट पनि ५६ प्रतिशत विद्यार्थी फेल भएका छन् । आंशिकतर्फ ८९ प्रतिशत अनुत्तीर्ण छन् । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ विद्यार्थीले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण भएका छन् । नतिजाअनुसार १८ हजार १ सय १० जनाको विशिष्ट श्रेणी (डिस्टिङ्सन) र ८३ हजार ६ सय ३७ को प्रथम श्रेणी छ । दोस्रो श्रेणीमा ६७ हजार ९ सय ४२ र तेस्रो श्रेणीमा सबै ३ हजार ७ सय ४७ ले पास गरे ।
यस वर्ष नियमितमा २ लाख २१ हजार ४ सय ९७ अनुत्तीर्ण भए । आंशिकमा १ लाख ३३ हजार ६ सय २६ जनाले परीक्षा दिएकामा १४ हजार ५ सय ९१ मात्रै पास भए । ५६ प्रतिशत विद्यार्थी फेल भएकामा यसको जिम्मेवारी सरकारले लिने शिक्षा विभागमा महानिर्देशक लवदेव अवस्थीले बताए । 'नतिजा सुुधार गर्न नसकेकामा यसको अपजस हामी लिन्छांै,' उनले भने, 'गत वर्षभन्दा दुई प्रतिशत मात्रै भए पनि बढ्नुको श्रेय विद्यार्थी र अभिभावकलाई जान्छ ।'
दस प्रतिशत वृद्धि गर्ने लक्ष्य लिए पनि सफल हुन नसकेको उनले बताए । शिक्षक व्यवस्थापन गर्न नसक्दा नतिजामा सुधार ल्याउन नसकेको उनको तर्क छ । विषयगत शिक्षक नभए पनि विद्यार्थी अध्ययनशील भएकाले विगतको भन्दा उत्तीर्ण संख्या बढेको उनको ठम्याइ छ ।
विद्यार्थी उत्तीर्ण संख्या बढाउन ५ नम्बर ग्रेस दिएको द्वारेले बताए । उनका अनुसार ग्रेस दिँदा १५ हजार ७४ विद्यार्थी उत्तीर्ण भएका छन् । यसपालिको परीक्षा विगतभन्दा मर्यादित भएको र नतिजा प्रकाशनमा पनि 'मिसिङ' कम भएको उनले बताए ।
परीक्षा चैत ६ देखि १४ सम्म चलेको थियो । नतिजाअनुसार सामुदायिक विद्यालयको नतिजा बढी कमजोर देखिएको छ । पास हुनेमा सामुदायिक विद्यालयका २८.१९ र संस्थागततर्फ ९३.२५ प्रतिशत छन् ।
विषयगत रूपमा गणित विषयमा सबैभन्दा बढी फेल भएका छन् । अनिवार्यतर्फका विषयमध्ये गणितमा १ लाख ७२ हजार २ सय ११ जना, विज्ञानमा १ लाख ६१ हजार २ सय ६०, अंग्रेजीमा १ लाख ३४ हजार ७ सय २९, सामाजिकमा १ लाख १ हजार २ सय ९४, स्वास्थ्य तथा वातावरणमा ३ हजार १ सय ५३ र नेपालीमा ५ हजार ७ सय ५५ विद्यार्थी फेल भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । लैंगिक रूपमा हेर्दा छात्रा ३८.२७ र छात्र ४९.४३ प्रतिशत मात्र पास भएका छन् । पछिल्लो ५ वर्ष उत्तीर्ण दर कमजोर देखिएको छ ।
०६६ को उत्तीर्ण दर ६४.३१ प्रतिशत रहेकामा ०६७ मा ५५.५० प्रतिशतमा झरेको थियो । त्यस्तै ०६८ मा ४७.६५ र ०६९ मा ४१.८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।  
शिक्षा सचिव विश्वप्रकाश पण्डितले परीक्षा मर्यादित गरिएकाले र निगरानी बढाएकाले बढी पास हुन नसकेको तर्क गरे । 'उत्तीर्ण प्रतिशत ह्वात्तै नबढे पनि गुणस्तर बढेको छ,' उनले दाबी गरे । यो वर्ष शिक्षक व्यवस्था हुने भएकाले आउँदो परीक्षामा उत्तीर्ण प्रतिशत बढ्ने सम्भावना रहेको महानिर्देशक अवस्थीले बताए । शिक्षाविद् विष्णु कार्कीले भने, 'ग्रेस नदिएको भए उत्तीर्ण दर अझै घट्न सक्थ्यो ।' चरम द्वन्द्वमा भर्ना भएका विद्यार्थीले यस वर्ष एसएलसी दिएकाले कम प्रतिशत पास भएको टिप्पणी उनको थियो । ०६१ सालमा १ कक्षामा भर्ना भएका विद्यार्थीले ०७० मा एसएलसी दिएका हुन् । 'अहिले परीक्षा दिएका विद्यार्थी चरम द्वन्द्वमा भर्ना भएका हुन्,' उनले भने, 'उनीहरूको जग नै कमजोर थियो । राम्रोसँग पढाइ भएको थिएन । जबर्जस्ती पास भएका हुन् ।' नतिजा राम्रो खोज्नु गलत भएको उनले
बताए । द्वन्द्वमा परेका बालबालिकाको शैक्षिकस्तर उकास्ने विशेष कार्यक्रम सञ्चालन गर्न नसकेको उनको भनाइ छ ।
दुई विषयमा अनुत्तीर्ण विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन् । नियन्त्रक द्वारेका अनुसार परीक्षा साउन २० देखि २७ सम्म सञ्चालन हुनेछ । दुई विषय मात्र अनुत्तीर्ण भई पूरक दिन पाउने विद्यार्थी संख्या १ लाख २० हजार ६ सय २७ छ । मर्यादाविपरीत कार्य गर्ने ८ सय ८३ परीक्षार्थीको परीक्षा रद्द भएको उनले बताए । त्यसमा २२ जनाको सबै विषय रद्द भएको छ । धनुषाको यदुकुवा '' केन्द्रका ४ सयभन्दा बढी विद्यार्थीको परीक्षा पनि रद्द गरिएको छ ।
यस वर्ष कुन विषयमा कति फेल ?
गणित-    ४३.६०%
विज्ञान-    ४०.८३%
अंग्रेजी-    ३४.११%
सामाजिक-    २५.६४%
नेपाली-    १.४५%
स्वास्थ्य-    ०.७९%
साभारः ईकान्तिपुर

Post a Comment

أحدث أقدم