काठमाडौं, जेठ ३१ - जिन्दगीमा सफल हुन
एसएलसी पास हुनैपर्छ त ? उत्तर सजिलो छ –पर्दैन । एसएलसी पास गरेर असफल
हुनेहरु पनि समाजमा धेरै छन् ।
अनि पास नभएर सफल हुनेहरु पनि उत्तिकै छन्
। परीक्षामा आउने अंक मात्रै भविष्य बनाउने सूचक होइन, त्योभन्दा ठूलो
कुरा हो ज्ञानसँगै सीप र अक्कल ।
जाँच दिएकामध्ये आधाभन्दा बढी फेल । केही
वर्षदेखिको एसएलसीको नतिजा हेर्दा यो नयाँ र नौलो कुरा नै होइन । अघिल्ला
वर्षहरुमा जस्तै यसपाली पनि यही भयो ।
पास भइयो भनेर केही विद्यार्थी खुशीले
गद्गद् भैरहँदा आधाभन्दा धेरै चाहिँ निराश र खिन्न छन् । तर एकपटक असफल
हुँदा सबै खत्तम भयो भनेर चिन्ता नमान्नेलाई सफल हुने बाटो जति भनेपनि छन् ।
‘असफलता नै सफलताको संकेत हो, अहिले नभएर
के भो अर्कोपटक भइन्छ’ शिक्षाविद चीरञ्जीवि शर्मा भन्नुहुन्छ, ‘फेल भएँ
भनेर भाइबहिनीहरुले पटक्कै निराश नहुनुहोला । फेल हुँदैमा तपाईंको जिन्दगी
सकिएको होइन, आउँदा दिनमा कयौं अवसर छन् तपार्इंका लागि ।’
उखानै छ–घोडा चढ्ने मान्छे लड्छ । एकपटक
लडेर के भो त ? फेरि चढेर गन्तव्यमा पुग्न सकिन्छ । पढाईमा असफल र फेल भएका
मान्छे पढेकाभन्दा सफल भएका उदाहरण प्रशस्त छन् । तपाईंहामीले राम्रोसँग
चिनेका चर्चित हाँस्यव्यंग्य कलाकार हरिवंश आचार्य पनि एसएलसीमा फेल भएका
थिए । भारतीय साहित्यकार रविन्द्रनाथ ठाकुर पनि सातपटक फेल भएका थिए ।
महात्मा गान्धी तेस्रो डिभिजनमा पास भएका व्यक्ति हुन् ।
विलियम शेक्सपियर ५ कक्षामा दुईपटक फेल
भएका थिए । वैज्ञानिक थोमस एल्भा एडिसनलाई १२ वर्षको उमेरमा स्कुलबाट
निकाला गरिएको थियो । अर्का वैज्ञानिक अल्बर्ट आइन्स्टाइन पनि पढाईलेखाईमा
तीक्ष्ण थिएनन् । संसारका अरु चर्चित हस्तीहरु म्याक्सिम गोर्की, माइकल
फराडे, विल गेट्स, स्टेफन स्पेल बर्ग, पिटर जेनिग्स, स्टिभ जब्स कहिल्यै
पनि विद्यालय गएनन् । खोज्दै जाँदा पढाईमा असफल, तर जिन्दगीमा सफल भएका
हस्तीहरु धेरै छन् ।
विल गेट्सको त एउटा उद्गार नै छ –“I
failed in some subjects in exam, but my friend passed in all. Now he is
an engineer in Microsoft and I am the owner of Microsoft.”
असफल हुनेलाई मौका
एसएलसीमा दुई विषयसम्म अनुतीर्ण भएकाले
पुरक परीक्षा दिन पाउँछन् । साउन २० गतेदेखि हुने पुरक परीक्षामा पास भएमा
उच्च शिक्षा पढ्न अर्को वर्ष पर्खनै पर्दैन । अहिले पास भएकाहरुसँगै कलेज
पढ्न पाइन्छ । त्यसैले दुई विषयसम्म लागेकाले चिन्ता गर्नुपर्ने ठाउँ नै
छैन ।
दुई विषयभन्दा पनि धेरैमा अनुतीर्ण हुनेले
अर्को वर्ष परीक्षा दिन पाउँछन् । एक वर्ष ढिलो हुँदैमा सबैथोक बिग्रन्छ
भन्ने छैन । त्यसमाथि पास हुनेहरुलाई उच्चशिक्षा पढ्ने ठाउँ भएजस्तै एसएलसी
असफल हुनेहरुका लागि पनि जिन्दगी बनाउने जति भनेपनि छन् । जिन्दगी बनाउन
उच्च शिक्षा नै पढ्नुपर्छ भन्ने छैन । उच्च शिक्षा पढेर असफल भएका र पढ्दै
नपढी सफल भएका मान्छे समाजमा जति पनि छन् ।
‘एसएलसी दिने उमेर भनेको कमाउने उमेर हो,
कमाउनको लागि पास हुनैपर्छ भन्ने छैन’ शिक्षाविद डाक्टर विद्यानाथ कोइराला
भन्नुहुन्छ, ‘सकिन्छ एक वर्ष कुरेर जाँच दिने, हैन भने सीप सिकेर कमाउन
थाल्ने ।’
सीप सिक्नको लागि एसएलसी पास गर्नु पर्दैन
। यस्तै खाले युवाहरुलाई लक्षित गरी सरकारी तथा गैरसरकारी संघसंस्थाले
मोवाइल मर्मत, कम्प्युटर मर्मत, रेडियो र टेलिभिजन मर्मत, मोटरसाइकल मर्मत
लगायतका तालिम सञ्चालन गरेका छन् । यस्ता तालिम लिएर राम्रो आम्दानी गर्ने
युवाहरुको संख्या धेरै छ ।
यस्तै कृषि पेशामा लागेर उदाहरणीय काम
गरेका युवाको संख्या पनि उत्तिकै छ । सरकारले गाईपालन, माछापालन, बंगुरपालन
गर्न चाहने युवाहरुको लागि अनुदानको व्यवस्था गरेको छ । तरकारी र फलफूल
खेतीमा पनि आयआर्जन गर्ने बाटो प्रशस्त छन् । सबैले भन्ने गर्छन्– हातमा
प्रमाणपत्र मात्र भएर हुँदैन, सबैभन्दा ठूलो कुरा सीप हो । तपाईंसँग सीप छ
भने जिन्दगीमा सफल नहुने कुरै छैन । परीक्षा र प्रमाणपत्र मात्रै सफलताको
सूचक पनि होइन ।
त्यसमाथि एसएलसी पास हुने मौका त अझै
बाँकी नै छ । दुई विषयसम्म लागेकालाई पुरक परीक्षा । त्योभन्दा धेरै विषय
लाग्नेलाई अर्को वर्ष । यो अवधिमा राम्रोसँग पढ्ने हो भने अर्कोपटक सफलता
हात लाग्नेमा शंकै छैन । साथमा ज्ञान र हातमा सीप छ भने जिन्दगीका हरेक
मोडमा सफल भइन्छ भन्ने यथार्थलाई धेरैले पुष्टी गरेर देखाइदिएका छन् ।
إرسال تعليق