जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले 
तेल चोरी गरेर राज्यलाई डुबाउने खेलमा लागेकालाई जहाँ भए पनि पक्रेरै 
छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले 
गत शुक्रबार उनीहरुविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो । प्रहरीले २२ जना
 ट्याङ्कर चालक र सहचालकको बयानका आधारमा १६ जना ट्याङ्करधनीलाई 
पक्राउपुर्जी जारी गरेको हो ।
प्रहरीले २२ जना ट्याङ्कर चालक र सहचालकलाई हिरासतमा राखेर छानबिन 
गरिरहेको छ । प्रहरीले चोरीमा संलग्न भएको आरोपमा नेपाल आयल निगमका दुई जना
 अधिकृतलाई पनि हिरासतमा राखेको छ । तेल मापन गर्ने अधिकृतद्वय देवेन्द्र 
बस्नेत र रवीन्द्रकुमार राउतलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको 
प्रहरीले जनाएको छ । यता, ट्याङ्कर भाडामा लिएर चोरी कार्य गर्ने रामचन्द्र
 अधिकारी, विनोद उप्रेती र बिक्की क्षेत्री फरार रहेका छन् ।
यसैबीच तेल चोरीमा संलग्न सबै व्यवसायीलाई अविलम्ब पक्राउ गरी कानुनको 
कठघरामा उभ्याउन युवा तथा विद्यार्थीले माग गरेका छन् । उता,  डिजेल चोरीमा
 मुछिएका व्यवसायीहरुलाई जोगाउन ढुवानी व्यवसायी सङ्घलगायतका लागिपरेका छन्
 ।
अहिले व्यवसायीहरुले तेलको ढुवानी गरेका छैनन् । जसका कारण पम्पहरुले 
पेट्रोलियम पदार्थ बिक्री वितरण गरेका छैनन् । कृत्रिम रुपमा पेट्रोलियम 
पदार्थको अभाव गराइँदा जनताले सास्ती भोग्नुपरेको छ । सरकारले अत्यावश्यक 
सेवामा बन्द हडताल गर्न निषेध गरेको हुँदा कानुनको विरुद्धमा जानेलाई 
कारबाही गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले 
जनाउनुभएको छ ।
 
 
                                                
إرسال تعليق