भैरहवा,
२५ वैशाख । योजनाबद्ध ढंगले दैनिक हजारौं लिटर डिजेल चोरी गर्ने टयांकर
धनीहरुलाई प्रहरीले पक्राउपुर्जी काटे तापनि उनीहरु फरार रहेका छन् । तेल
चोरी आरोपमा पक्राउपुर्जी जारी गरिएका १६ जना पेट्रोल व्यवसायी यतिबेला
भारतमा रहेको आशंका प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले
तेल चोरी गरेर राज्यलाई डुबाउने खेलमा लागेकालाई जहाँ भए पनि पक्रेरै
छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले
गत शुक्रबार उनीहरुविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो । प्रहरीले २२ जना
ट्याङ्कर चालक र सहचालकको बयानका आधारमा १६ जना ट्याङ्करधनीलाई
पक्राउपुर्जी जारी गरेको हो ।
प्रहरीले २२ जना ट्याङ्कर चालक र सहचालकलाई हिरासतमा राखेर छानबिन
गरिरहेको छ । प्रहरीले चोरीमा संलग्न भएको आरोपमा नेपाल आयल निगमका दुई जना
अधिकृतलाई पनि हिरासतमा राखेको छ । तेल मापन गर्ने अधिकृतद्वय देवेन्द्र
बस्नेत र रवीन्द्रकुमार राउतलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको
प्रहरीले जनाएको छ । यता, ट्याङ्कर भाडामा लिएर चोरी कार्य गर्ने रामचन्द्र
अधिकारी, विनोद उप्रेती र बिक्की क्षेत्री फरार रहेका छन् ।
यसैबीच तेल चोरीमा संलग्न सबै व्यवसायीलाई अविलम्ब पक्राउ गरी कानुनको
कठघरामा उभ्याउन युवा तथा विद्यार्थीले माग गरेका छन् । उता, डिजेल चोरीमा
मुछिएका व्यवसायीहरुलाई जोगाउन ढुवानी व्यवसायी सङ्घलगायतका लागिपरेका छन्
।
अहिले व्यवसायीहरुले तेलको ढुवानी गरेका छैनन् । जसका कारण पम्पहरुले
पेट्रोलियम पदार्थ बिक्री वितरण गरेका छैनन् । कृत्रिम रुपमा पेट्रोलियम
पदार्थको अभाव गराइँदा जनताले सास्ती भोग्नुपरेको छ । सरकारले अत्यावश्यक
सेवामा बन्द हडताल गर्न निषेध गरेको हुँदा कानुनको विरुद्धमा जानेलाई
कारबाही गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले
जनाउनुभएको छ ।
Post a Comment