राजनीतिक कार्यसूचीबिना नै संविधानसभा सुरु

काठमाडौं, माघ ८ - राजनीतिक कार्यसूचीबिना बसेको दोस्रो संविधानसभाको पहिलो बैठक औपचारिकतामा सीमित भएको छ । बैठकपछि प्रमुख दलका शीर्ष नेताहरूले संविधान निर्माण प्रक्रिया सुरु भएको भन्दै एक वर्षभित्रै नयाँ संविधान जारी हुने बताए ।
सहिदको सम्झनामा दुई मिनेट मौनधारणबाट सुरु पहिलो बैठकले संविधानसभा निर्वाचन सफल पार्न सघाउने सरकार, निर्वाचन आयोग, सञ्चारकर्मी, पर्यवेक्षक र सम्बद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको थियो ।
कार्यसम्पादन नियमावली नबनेसम्मका लागि बैठकले संविधानसभाको पुरानै नियमावलीअनुसार काम गर्ने प्रस्ताव पनि पारित गर्‍यो । बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बैठक आह्वान गरेको पत्र वाचन गरेका थिए ।
अघिल्लो संविधानसभाको पहिलो बैठकको तुलनामा विभिन्न क्ष्ाेत्रका प्रतिष्ठित व्यक्तित्व र विदेशी कूटनीतिक निकायका प्रतिनिधिको उपस्थिति निकै कम थियो । बैठकमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मी र मन्त्रिपरिषद्का अन्य सदस्यहरू उपस्थित थिए । संविधानसभाको दोस्रो बैठक माघ १५ गते १ बजेका लागि तोकिएको छ भने व्यवस्थापिका संसद्को बैठक १२ गते बोलाइएको छ ।
नवनिर्वाचित सदस्यहरूलाई स्वागत गर्दै ज्येष्ठ सदस्य थापाले समयमै नयाँ संविधान जारी गर्न सके ऐतिहासिक काम पूरा हुने भन्दै शुभकामना व्यक्त गरे । २००८ देखि ०१४ सालको राजनीतिक अस्थिताको स्मरण गर्दै थापाले इतिहास नदोहोर्‍याउन राजनीतिक नेतृत्वलाई सचेत गराए ।
'इतिहास आफैंमा दोहोरिन्छ भन्ने कुरा नेपालमा चरितार्थ भएको र हुने सम्भावना देखिन्छ,' उनले भने, 'आशा राखौं त्यस्तो नहोस् ।' छिटो संविधान जारी हुनुपर्नेमा जोड दिँदै थापाले विगतको असफलताप्रति राजनीतिक नेतृत्वप्रति कटाक्ष गरे । 'केही वर्षयता राजनीति अलमल तथा गतिहीन अवस्थाले राष्ट्रियतामा मलिनता ल्याएको छ, अन्तर्राष्ट्रियस्तरमा नेतृत्वको भरोसाको स्तर धेरै घटेको छ,' उनले भने, 'नेतृत्व वर्गमा राष्ट्रिय सोच राख्ने निर्णय लिने क्षमता ह्रास हुँदै गएको महसुस हुन्छ ।'
बैठक कक्षबाट बाहिरिनेक्रममा प्रमुख दलका शीर्ष नेताहरूले भने एक वर्षमा संविधान निर्माणको काम पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याए । 'सरकार गठन समयमै हुन्छ,' कांग्रेस सभापति सुशील कोइरालाले भने, 'सहमतिका आधारमा संविधान निर्माणका काम एक वर्षमा पूरा हुन्छ ।'
एमाले अध्यक्ष झलनाथ खनालले भने, 'संविधानसभा सुरु भएको छ, यसको अर्थ संविधान निर्माणको ऐतिहासिक काम सुरु भएको हो,' उनले भने, 'संविधानसभामा प्रतिनिधित्व गरेका ३० दल एक जुट भएर संविधान निर्माणका काम पूरा गर्छौं ।'
संविधानसभाले ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने ७ जनाको नाम सर्वसम्मत चयन गरेको छ । यस्तो जिम्मेवारी पाउनेमा मानबहादुर विश्वकर्मा, विद्या भण्डारी, जुठबहादुर टुहुरे, रामकुमार सुब्बा, आशा चर्तुवेदी, विक्रम पाण्डे र अकवाल अहमद शाह छन् ।
बैठकमा ज्येष्ठ सदस्य थापाले सप्तरी-२ का सभासद अशोककुमार मण्डललाई निलम्बन गर्ने संविधानसभा अदालतको अन्तरकालीन आदेशबारे पनि जानकारी गराएका थिए । निर्वाचनसम्बन्धी मुद्दामा अदालतले मंगलबार मात्रै अन्तिम फैसला नभएसम्मका लागि मण्डललाई सभासदको हैसियतमा बैठकमा भाग नलिन र अन्य कामसमेत नगर्न आदेश दिएको थियो ।


प्रकाशित मिति: २०७० माघ ८ ०१:५७

Post a Comment

أحدث أقدم