काठमाडौं । चीन आफ्ना
छिमेकीको आन्तरिक मामिलामा हत्तपत्त प्रकट हुने वा हस्तक्षेपकारी भूमिका
निर्वाह नगर्ने मुलुक हो । अझ नेपालको मामिलामा त चीनले खासै चासो
राख्दैनथ्यो ।
तर, केहि बर्षा देखी नेपालमा
पनि चीनको हस्तक्षेपकारी भूमिका ह्वात्तै अगाडि आएको छ । खासगरी तिब्बत
मामिलालाई लिएर अमेरिका र पश्चिमा मुलुकहरूले नेपाललाई सैन्य रणनीतिक
महत्वको स्थानका रूपमा चीनविरुद्धका गतिविधिमा संलग्न हुन थालेपछि
चिनियाँहरूको गतिविधि नेपालमा तीव्र बनेको हो ।
काठमाडौं र बेइजिङको दूरी ३ हजार ७ सय ७६
किलोमिटर टाढा रहे पनि बेइजिङ अब काठमाडौंमा सक्रिय हुन थालेको छ । शान्त
कूटनीतिमा विश्वास राख्ने चिनियाँहरू आफ्नो मुलुकको सुरक्षामा पश्चिमा
मुलुकहरूको सक्रियता र अमेरिकी 'षड्यन्त्र' नजिकबाट नियालिरहेका छन् ।
नेपालको राजनीतिक अस्थिरता र कुनै पनि विश्वासयोग्य संस्था नरहेपछि
बेइजिङको सोझै उपस्थिति काठमाडौंमा भएको छ । आफ्नो मुलुकमाथि हुन सक्ने
खतरा र नेपालमाथि हुन सक्ने सम्भावित दुवै दुर्घटनालाई मध्यनजर राख्दै दुई
लाख चिनियाँ सैनिक माथिल्लो मुस्ताङ सीमाक्षेत्रमा तैनाथ राखेर कुनै पनि
बेला पोखरामा आफ्नो सैन्य उपस्थिति देखाउन सक्ने गरी ‘हाई अलर्ट’ अवस्थामा
रहनुले नेपालभन्दा बढी भारतीय सुरक्षा रणनीतिकारहरूको टाउको दुखाइ बढेको छ
।
चिनियाँ उच्च अधिकारीलगायत चिनिया सुरक्षा
प्रमुख र सैन्य गुप्तचर प्रमुखहरूको ‘हाई प्रोफाइल’ भ्रमणले चिनियाँहरूको
आफ्नो सुरक्षा चासोमात्र होइन, नेपालको सार्वभौम एकता अखण्डताप्रति पनि
चिनियाँहरू त्यत्तिकै चिन्तित देखिन थालेका छन् । चिनियाँहरूको ‘हाई
प्रोफाइल’ भ्रमण चीनको सुरक्षा र सैन्य सामरिक चासोकै विषय बनेको छ ।
चिनियाँ सुरक्षा मामिला प्रमुख लि क्वाङले त स्पष्ट शब्दमा भनिदिए,
‘नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भए
चीन सहयोग गर्न तयार छ ।’ चिनियाँ सुरक्षा मामिला प्रमुख लि क्वाङको यो
अभिव्यक्तिले नेपालमा विदेशी शक्तिबाट ठूलै ‘थ्रेट’ भएको बुझ्न सकिन्छ ।
भारतको झ्यालबाट अमेरिका र पश्चिमा मुलुकहरूको नेपालमा बढिरहेको सैन्य
उपस्थितिले चिनियाँहरू निकै सशंकितमात्र होइन, त्यस्तै परे भारतमाथि नै
हमला गर्न सक्ने संकेत नेपालको उत्तरी सिमानामा बढेको चिनियाँ सैन्य
उपस्थितिले गरेको छ ।
इतिहास दोहोरिन सक्ने चेतावनी चिनियाँ
‘थिङ्क ट्याङक’हरूले नेपाली मामिलामा दिनु कुनै चानचुने विषय होइन, त्यो
बेइजिङको स्पष्ट चेतावनी दक्षिणलाई हो । अहिले नेपालको परिस्थिति लगभग ०१७
सालको छेउछाउको कूटनीतिक स्थितिमा पुगेको कूटनीतिज्ञहरूको भनाइ छ ।
चीनले नेपाली सिमानामा ठूलो संख्यामा सैन्य
उपस्थिति बढाएपछि भारतले पनि नेपालसँग जोडिएको १८ सय किलोमिटर क्षेत्रमा
भारतीय सुरक्षा फौज प्रत्येक साढे तीन किलोमिटर ‘आउट पोष्ट’ हेर्न सक्ने
गरी झण्डै चार लाखको हाराहारीमा सीमा क्षेत्रमा उपस्थित हुनुले नेपालमा
ठूलै कुनै अनिष्टताको संकेत दुई छिमेकी मित्र राष्ट्रहरूको सैन्य
उपस्थितिले देखाउँछ । स्वतन्त्र तिब्बतका नाममा भइरहेका गतिविधि र सम्भावित
खम्पा विद्रोहलाई चिनियाँ सुरक्षा रणनीतिकारहरूले गम्भीरतापूर्वक अध्ययन
गरेपछि आफ्नो उपस्थिति बेइजिङले काठमाडौंमा बढाएको हो ।
नेपालमा रहेका तिब्बतीयनभन्दा पनि भारतीय
सुरक्षा फौजमा राखिएका ३० हजार तिब्बतीयन आर्मीं र भगौडा तिब्बती तथा
अमेरिकी सैन्य उपस्थितिले चिनियाँ सुरक्षामा खतरा रहेको चिनियाँहरूको ठहर छ
। स्रोतका अनुसार नेपालमा राजनीतिक दल र नेपाल सरकार चीनविरोधी गतिविधि
नियन्त्रण गर्न असफल रहेकाले नै कर्मचारी सरकारको स्थापना भएको हो । सन्
२०१८ मा चीनबाट तिब्बतलाई स्वतन्त्र गराउने नाममा अमेरिकी र पश्चिमा
मुलुकहरूको नेपालमा अघोषित सैन्य उपस्थिति र नेपालका राजनीतिक दलहरूको
पश्चिमा मुलुकसँगको साँठगाँठलाई चिनियाँहरूले गम्भीरतापूर्वक लिएका छन् ।
एक कूटनीतिज्ञका अनुसार नेपालको दोस्रो
संविधानसभा निर्वाचन अमेरिकी र पश्चिमा मुलुकहरूको दबाबमा भएकाले दोस्रो
संविधानसभाले पनि नयाँ संविधान दिन नसक्ने उनको दाबी छ । पहिलो
संविधानसभाले संविधान दिन सकेन भने दोस्रो संविधानसभा अर्कै मोडमा पुगेको
राजनीतिक विश्लेषकहरूको भनाइ छ । संविधानसभा माओवादीको एजेण्डा थिएन ।
तत्कालीन रणनीतिमात्र थियो । नेपाली
कांग्रेस र नेकपा एमालेले त्यसलाई एजेण्डाकै रूपमा लिएर जान नसक्नुको
परिणाम हो अहिलेको नेपालको वास्तविक वस्तुस्थिति । नेपाल नबुझेकाले नेपाल
चलाउन खोज्नु र कूटनीतिबारे ठ्याम्मै जानकारी र अध्ययन नभएका दलगत
नेताहरूले गरेको विफल कूटनीति । जसको परिणाम युद्ध अवस्थामा उभिएका छन्
भारत र चीन ।
जसको बीचमा परेको छ नेपाल । चीन र भारतलाई
युद्ध गराएर युएन फोर्स नेपालमा ल्याएर सैन्य अखडा नेपाललाई बनाउन खोज्दै छ
अमेरिका । यो कुरालाई बेइजिङ र नयाँदिल्लीले नबुझेको होइन । नेपालमा देखिन
थालेको चीनको नयाँ सक्रियता १० वर्षदेखि विश्वव्यापी रूपमा बढाएको रुचिकै
निरन्तरता हो । अर्थात् चीनको सक्रिय परराष्ट्र नीतिकै प्रतिबिम्ब हो ।
नेपालमाथि अमेरिकी र भारतीयहरू बढ्दो
गतिविधिले पनि चिनियाँहरू सशंकित हुनु अस्वाभाविक होइन । नेपालमा अस्थिरता
बढ्नु भनेको चीनको आफ्नै सुरक्षामा खतरा बढेको चिनियाँहरूको बुझाइ छ ।
खुल्ला रूपमा नस्वीकारिए पनि नेपाल मामिलामा भारत र चीनको चासो बाझिन
थालेका छन् र यो स्पष्ट देखिँदै पनि छ । चिनियाँहरूले आफ्नो भरपर्दो
शक्तिका रूपमा नेपाली सेनामात्र रहेको बिश्वास गर्नुले पनि यस्को इंगित
गर्छ ।
नेपाली सेनामा चिनियाँहरूले देखाएको
चासोबाट दिल्ली चिन्तित छ । नेपालमा चीनको सैन्य सहयोग भारतका लागि
संवेदनशील विषय रहँदै आएको छ । नेपालमा राजनीतिक अस्थिरताका कारण आफ्नो
सुरक्षा चासोमा समस्या आएको ठहर गर्दै बेइजिङको काठमाडौं उपस्थिति र
सक्रियताले भारतीय सुरक्षा चासोमा पनि दिल्लीको टाउको दुखाइ बढेको छ ।
दुई ठूला उदयीमान शक्ति राष्ट्रबीच रहेको
नेपालले दुवै छिमेकीको बढ्दो सुरक्षा चासो र कूटनीतिक प्रतिस्पर्धालाई कसरी
सम्बोधन गर्ने हो ? सबैको चासोकै बिषय बनेको छ । अस्थिर राजनीति र शून्य
अवस्थामा नेपालको उपस्थिति नै कमजोर देखिएको छ । भारत र चीनबीच सुरक्षाका
विषयलाई लिएर बढ्दो तनावका कारण दुई मुलुकबीच युद्ध भयो भने त्यसबाट पर्ने
दुष्प्रभावलाई रोक्ने नेपालसँग उपाय के छ ?
यसबारे नेपालका ‘थिङ्क ट्याङ्क’ भन्ने र
रणनीतिकार भन्नेहरू नै आफैं अन्यौलमा छन् । मुलुकको आन्तरिक राजनीतिमा
चीनको चासो तीव्र रूपले बढेको छ । आन्तरिक र बाह्य कारणले नेपाल र चीनबीचको
५८ वर्षे कूटनीतिक सम्बन्ध अहिले संवेदनशील मोडमा छ । भारत र चीनबीचको
सम्बन्ध सन्तुलनमा हुन सकेन भने नेपालको आन्तरिक द्वन्द्व अन्तर्राष्ट्रिय
द्वन्द्वमा परिणत हुने खतरा बढेर गएको छ ।
إرسال تعليق