यस्तो बन्दैछ पूर्व–पश्चिम रेलमार्ग

डीपीआर तयार, निकुञ्ज परेकोमा संरक्षणकर्मी चिन्तित

काठमाडौं, ११ माघ : अर्थमन्त्री शंकरप्रसाद कोइरालाले गत असारमा वार्षिक बजेट घोषणा गर्दा ‘राष्ट्रिय गौरवका आयोजना’मा ध्यान दिने उल्लेख गरे । अर्थमन्त्रीको भनाइमा ती राष्ट्रिय गौरवका योजना भन्नाले देशको अर्थतन्त्रमा लामोसमयसम्म सघाउ पुर्याउने योजना बुझाउथ्यो । त्यतिबेला अर्थमन्त्री कोइरालाले जलविद्युत र सिँचाइ सँगसँगै पूर्व–पश्चिम रेलमार्ग र हुलाकी मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरि निर्माण कार्य थालनी गर्ने बताएका थिए ।
 
त्यसको अहिले सम्भाव्यता अध्ययन भइरहेको छ । तयार हुँदै गरेको नक्सा/ प्रतिवेदनमा चितवन राष्ट्रिय निकुञ्ज हुँदै रेलमार्ग बन्ने देखिन्छ । जसले शताब्दीदेखिको निकुञ्जको संरक्षण, पर्यटनमा समेत नराम्रो असर पर्ने संरक्षणकर्मीहरु बताउँछन् । वर्षौँ अघिदेखि दुर्लभ एकसिङ्गे गैँडा, बाघ लगायतका जनावरहरुको संरक्षण गर्दै आएपनि त्यसलाई रेलको कारण असर पर्ने उनीहरुको तर्क छ ।  
 
प्रस्तावित नयाँ रेलमार्ग प्राकृतिक सून्दरताको क्षेत्र मानिएको चितवन राष्ट्रिय निकुञ्ज हुँदै पूर्वदेखि पश्चिमसम्म हुनेछ । चितवन भित्री मधेसको जिल्ला हो, जुन दक्षिणी सीमाका अन्य जिल्ला भन्दा भिन्न किसिमको छ । सोही कारण प्रस्तावित रेलमार्गमा निकुञ्ज र चुरे क्षेत्र पर्छन् । 
 
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर भन्छन् ‘जब रेलहरु संरक्षण गरि राखिएका निकुञ्जका क्षेत्र हुँदै गुड्छन् । अनि के बाँकी रहन्छ ?’
 
सन् २०१० मा गरिएको सम्भाव्यता अध्ययनअनुसार सोम्मेश्वर पहाडको फेदीदेखि टाइगरटप्सहुँदै रेलमार्ग बनाउने भनिएको थियो । तर सो क्षेत्र वन्यजन्तुको आवतजावत बढी हुने क्षेत्र भएकोले निकुञ्जले त्यो कुरा अस्वीकार गर्यो । त्यसपछि अहिले भरतपुर(चितवन)–हेटौँडा(मकवानपुर) सडकखण्ड हुँदै बनाउन सुझाव दिइयो, जुन निकुञ्जको छेउमा पर्छ ।
 
‘विश्वकै एक चर्चित राष्ट्रिय निकुञ्जहुँदै रेल मार्ग बनाउनुपर्ने कुनै कारण छैन ।’ गैँडा तथा बाघ संरक्षणकर्मी हेमन्त मिश्रले भने । उनले वातावरणीय र सामाजिक असरको ख्याल नै नगरी वर्षौँदेखि सरकार, निजी क्षेत्र र स्थानीय समूदायको सहयोग र लागतमा विश्वकै चर्चित बनेको निकुञ्ज हुँदै रेलमार्ग बनाउन खोजिएको बताए । 
 
रेलमार्ग विभागले तयार भएको डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर)मा निकुञ्ज हुँदै रेलमार्ग बनाउने देखिन्छ । प्रस्तावित रुटमा दुई वटा सुरुङ्ग (१४ किमि र ११ किमिको) बनाउने भनिएपनि खर्चिलो हुने कारण त्यसलाई थाँती नै राखिएको छ ।
 
पूर्व–पश्चिम रेलमार्गको डीपीआरको एक भाग
 
रेलमार्गको रुट  माडी(दक्षिण चितवन)हुँदै जगतपुर, नारायणी नदी, नवलपरासीको अमरापुरी, दक्षिण–पश्चिम चुरे पहाड, त्रिवेणी  हुँदै पश्चिमसम्म छ
 
निकुञ्जका प्रमुख संरक्षण अधिृकत कुँवर किन निकुञ्ज हुँदै रेलमार्ग बनाउन खोजिएकोबारे आफू अनविज्ञ रहेको बताउँछन् । उनले अहिलेकै पूर्वपश्चिम राजमार्गलाई आधार मानेर रेलमार्ग बनाउन सकिने बताए ।
 
कुँवरले अहिले पूर्वपश्चिम राजमार्ग बनेको ठाउँ टिकौली वरवरका क्षेत्रमा मानिसहरुको बढी आवतजावतले गर्दा जंगली जनावरहरु त्रसित भएर अन्यत्रै जाने गरेको पनि बताए ।
 
‘जब निकुञ्जलाई रेलमार्ग र हुलाकी मार्गले विभिन्न टुक्रामा विभाजित गर्छौँ, यसले जनावरहरुको प्रजजनलाई घटाउँछ, त्यसको प्रभाव जनावरको संख्या घट्छ ।’
 
रेल विभागका महानिर्देशक राजेश्वरमान सिंहले भने प्रतिवेदन बन्दै गरेकोले यसलाई अन्तिम मान्न नसकिने बताए । उनले प्रतिवेदन बन्दै गरेकोले सबै क्षेत्रसँगको छलफलपछि निकुञ्जलाई असर नपर्ने गरेर प्रतिविदेन तयार गर्ने बताए । 
 
पर्यावरण संरक्षणकर्मीहरु निकुञ्जमा जनवारको संख्या र पर्यटकको आगमन घटेकोमा चिन्तित छन् । सन् २०१३ मा मात्र चितवन राष्ट्रिय निकुञ्जमा एक लाख ५० हजारभन्दा बढी पर्यटक अवलोकनको लागि पुगेका थिए । जसबाट १७ करोड ७० लाख भन्दा बढी रकम नेपाल भित्रिएको छ ।   
 
तर विभागले अहिले पूर्वपश्चिम राजमार्ग रहेको रुटअनुसार रेलमार्ग बनाउने सम्भावना कम रहेको बताइन्छ । चितवन राष्ट्रिय निकुञ्ज हुँदै भरतपुरलाई समेटेर रेलमार्ग बनाउँदा भविष्यमा त्यसले नकारात्मक असर पर्ने संरक्षणकर्मी बताउँछन् ।
 
अहिलेको प्रस्तावित ठाउँमा रेलमार्ग बनाउँदा भविष्यमा चीन र भारतसँग सोझै रेलसेवा सुरु गर्दा पनि तिब्बत (केरुङ्ग) र उत्तरप्रदेश चितवनको भरतपुरसँग जोड्न सहज हुने भएकोले झन् निकुञ्जलाई असर पर्ने उनीहरुको भनाई छ । अहिले बारामा सिमरामा पाँच किलोमिटर रेलमार्ग निर्माण गर्नको लागि निर्देशन दिइसकिएको छ भने रुट पर्ने ठाउँमा मानिसहरुलाई मुआब्जा दिएर रेलमार्ग बनाउनको लागि तयारी थाल्दैछ ।
 
कतिपय संरक्षणकर्मीहरु भने जस्तो तरिकाले रेलमार्ग बनाउँदा पनि निकुञ्जलाई पर राख्न नसकिने बताउँदै बरु निकुञ्ज वरपर अण्डरग्राउण्ड रेलमार्ग बनाउन सुझाउँछन् ।
 
नेपाली टाइम्सको समाचारमा आधारित

Post a Comment

Previous Post Next Post