‘मैले त भोगेँ भोगेँ । शत्रुलाई पनि यस्तो नपरोस् । बम-बारुद गर्न छाड्दिनु् ।’ ठक्कर खाएर गोलेले बुझेको ज्ञान यस्तो छ ‘पार्टी/सार्टीमा लाग्दिन, अधुरै छाडेको पढाइ सकाउँछु ।’
अमृता पोखरेल ‘अरुलाई दुःख दिन बनाएको जालमा आफैँ परेँ ।
सुनेको थिएँ बम बनाउँदै गर्दा पड्किएर कतिपयको ज्यान नै गएका घटना पनि ।
तर सिरियसली कहिल्यै लिइन । अहिले आँफैलाई परेपछि थाहा भयो ।’
उद्देश्य मार्ने थिएन । तर मान्छे मर्न पनि
सक्ने घटना उनी घटाउँदै थिए । हातमा बम लिएर माइक्रोतिर लम्किए उनी ।
माइक्रोमा बम पड्काएर बमको कर्कस ध्वनी र यात्रुहरुको चिच्याहट
गुञ्जीनेवाला थियो उनको कानमा ।
गुञ्जीएन । थाहै भएन । होसमा आउँदा
अस्पतालको बेडमा थिए ती माओवादीका कार्यकर्ता, सर्लाहीको कालिजोरका रवी
गोले तामाङ । उमेर खासै धेरै छैन, मात्र २० वर्ष । तर सात वर्ष अगाडि देखि
नै माओवादीका समर्थक रहेछन् उनी । पार्टी फुटेपछि वैद्यकोमा गएका रे ।
वीर हस्पिटल
अर्थो वार्ड,
बेड नम्बर ४०
उत्तानो परेर पल्टिरहेका छन्, गोले । कोल्टे फेर्न मिल्दैन । हर चलाया भने चस्किन्छ घाउ ।
आँखाबाट आँशु रोकिएकै छैन बग्न । देब्रे
हातमा पट्टी बाँधिएको छ । दाहिनेका औँलाका टुप्पा मात्र देखिएका छन् ।
अनुहारमा बमको छर्राले पोलेका टाटा छन् । लगाएको सेतो टिसर्ट र निलो
जिन्सको पाइन्टमा पनि रगतका टाटा र प्वाल छर्लङ्ग ।
एक छेउमा अस्पतालकै नर्स छिन्, क्रमैसँग विरामीहरु भेट्दै आएकी । अर्को छेउमा २ जना प्रहरी बसिरहेका छन्, उनकै रखवारीको लागि ।
बोलाएँ गोलेलाई । सुस्त बोले । सिलिङमा
एकोहोरिएर हेरिरहेका आँखा म तिर सोझ्याए । आँशु गालाको बाटो हुँदै सिरानीमा
खस्यो । अनुहारमा पछुतो झल्किरहेको थियो ।
विस्फोट भएको बम सँगै उनको देब्रे हातका
सबै औँला गुमे । हत्केलाले काम गर्ने अवस्था छैन । चिकित्सकहरुले भने
‘नाडीसम्मको भाग काटेर फाल्नुपर्छ ।’
गोलेको सपना थियो – ब्रिटीस आर्मी बन्ने ।
सपना चक्नाचुर भयो । हातका औँला नै नभएपछि २० वर्षमै देखेको भविष्य
निमेशभरमै टुक्रियो । चाहन्थे – परिवारलाई खुसी राखौँ । तर यसरी बम
पड्काउँदा हात नै गुम्यो भन्ने थाहा पाउँदा के भन्नाल् भन्ने भयले उनलाई
सताइरहेको छ । त्यसैले खबरसम्म पनि गरेका छैनन् घरमा ।
रेखदेख, हेरचाह गर्ने कोही छैनन् । एक जना
सहपाठी घरीघरी आउँछन्, अवस्था बुझ्न । पार्टीका अरुले पनि वास्ता गरेका
छैनन् । विहान माओवादीका केन्द्रीय सदस्य एकराज भण्डारीले सम्म क्षतिपूर्ति
दिन्छु भनेर आश्वासन दिएका रे ।
किन मान्थ्यो र मन । गोले भक्कानिए ‘मेरो हात त गैहाल्यो नि । क्षतीपूर्ति त उपचारको लागि न हो । घरमा थाहा पाए के भन्नुहोला ।’
शनिबार काठमाडौंको नयाँबजारमा रोकिराखेको खाली माइक्रोमा बम हान्न तम्सिएका गोले अहिले आफूलाई नै धिक्कारदैछन् ।
उनको परिवारको आर्थिक स्थिति पनि बलियो छैन । त्यसैले एसएलसीसम्म सकेर छाडेछन् पढाइ ।
घाउ फेरि चस्कियो । आँखा चिम्लिए । सकसका साथ उघारे ।
‘जीवनमा सबैभन्दा ठूलो भूल नै बम लिएर हिँड्नु भयो’ गोलेको पछुताएको मन प्रस्ट भयो ।
बम हान्न जाने बेलामा उनीहरु तीन जना थिए ।
‘हामी ३ जना थियौँ म र म भन्दा ठूला पार्टीका दाईहरु विनोद र विजय ।’
उनका अनुसार विनोद र विजय कमाण्डर नै हुन्, ‘जनयुद्ध’ समेत लडेका । बम
बनाउने, हान्ने उनीहरु नै निर्देशन दिन्छन् ।
बममा हात पड्किँदाको साझँ सम्झिए उनले ‘६
बजेतिर पूर्व योजना अनुसार दाइहरु र म मिलेर नयाँ बजार गयौँ । मान्छेलाई
नमार्ने भन्दै एउटा सानो बम मलाई दिनुभयो । बम तिमीले त्यो माइक्रोमा
हान्नु भनेर आदेश गर्नु भयो । बम मैले लिएर माइक्रो नजिकै पुग्न लागेको थिए
तर हातमै पड्कियो । त्यसपछि थाहा पाइन । होसमा आउँदा अस्पतालमा पो रहेछु
।’
हातमा बम पड्किएपछि भुइँमा लडे उनी । अल्ली पर रहेका उनका दाइहरु उनलाई देखेको नदेखे झैँ गरेर भागे ।
धन्य ! प्रहरीले अस्पतालसम्म पुर्यायो । बाँचे ।
प्रहरीले उनको हातमा पड्किएको बम शक्तिशाली भएको बतायो ।
गोलेले भने कुन र कस्तो बम हो भन्ने आफूलाई थाहै नभएकोे बताए ।
वीर अस्पतालको आकस्मिक कक्षमा उपचार गरी उनलाई सोमबार विहान मात्र अर्थो वार्डमा सारियो ।
माओवादीको समर्थकदेखि बम पड्काउने बेलासम्म
उनलाई राजनीतिक ज्ञान छैन । साथीहरुको लहैलहैमा उनी माओवादी बने ।
भविष्यको बारेमा बल्ल सोच्न लागेका थिए, ब्रजपात आँफैमाथि आइलाग्यो ।
‘दुःख पाइस मंगले, आफ्नै ढंगले भन्नुहुन्थ्यो बुबाआमाले सानो छँदा साँच्चै रहेछ ।’ कुराकानी टुङ्ग्याउन चाहे उनले ।
अब के गर्नुहुन्छ ? अन्तिममा सोधेँ ।
‘मैले त भोगेँ भोगेँ । शत्रुलाई पनि यस्तो
नपरोस् । बम-बारुद गर्न छाड्दिनु् ।’ ठक्कर खाएर गोलेले बुझेको ज्ञान यस्तो
छ ‘पार्टी/सार्टीमा लाग्दिन, अधुरै छाडेको पढाइ सकाउँछु ।’
Post a Comment