चुनावको लागि तीन दिन सीमा बन्द

संविधानसभा निर्वाचनलाई ध्यानमा राख्दै तीन दिनका लागि नेपाल भारत सीमामा आवागमन बन्द गरिने भएको छ।
 
सीमावर्ती रक्सौलमा बिहीबार आयोजित नेपाल(भारत द्विपक्षीय सीमा समन्वय समिति बैठकमा दुई देशका सीमा क्षेत्रका जिल्ला सुरक्षा अधिकारीबीच आवागमन बन्द गर्ने निर्णय भएको हो।
 
बैठकमा नेपाली टोलीको नेतृत्व गरेका पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले चुनाउमा तीन दिनसम्म नाका बन्द गरिने बताए। बैठकमा निर्वाचनलाई ध्यान दिँदै सीमा नाकाबन्दी, आपराधिक र आतंककारी गतिविधिमा नियन्त्रण, अवैध साना हतियारको ओसारपसार नियन्त्रण, अपराधसँग सम्बन्धित सूचना आदानप्रदान र पर्साको ओरिया खोलाबाट भइरहेको गिट्टीबालुवा तस्करीसँग सम्बन्धित विषयमा छलफल भएको प्रजिअ बजिमयले बताए। बैठकको सहमतिअनुसार मंसिर ३, ४ र ५ गते बिहानसम्म सीमा बन्द रहनेछ।
 
भारतको बिहार राज्यमा अवैध साना हतियार सहज उपलब्ध हुने भएकाले निर्वाचनमा अवैध हतियार ओसारपसार नियन्त्रण गर्न भारतीय पक्षको सहयोग महत्त्वपूर्ण हुने पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताए।
 
बैठकमा भारतीय टोलीको नेतृत्व गरेका बिहार पूर्वी चम्पारणका डिस्ट्रिक्ट मजिस्टे्रट श्रीधर सिले नेपालमा हुने निर्वाचनको सुरक्षालाई ध्यान दिँदै अवैध हतियार र विस्फोटक पदार्थको ओसारपसारमा कडाइका साथ नियन्त्रण गरिने प्रतिबद्धता जनाए। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सीमामा निगरानी बढाउने र शंकास्पद स्थानमा छापामार्ने सहमति पनि गरेका छौं।’
 
एक अर्को देशमा आश्रय लिइरहेका फरार अपराधी र आतंककारी पक्राउ गर्न दुवै पक्षका फिल्ड अधिकृतहरू दुई महिनामा एकपटक बैठक बसेर सूचना आदानप्रदान गर्ने विषयमा पनि सहमति भएको छ। बैठकमा भारतबाट हुँदै आएको लागूपदार्थ तस्करी नियन्त्रणका लागि सूचना आदानप्रदान गर्न दुवै पक्षबाट सम्पर्क व्यक्ति तोक्ने सहमति भएको छ।
 
बैठकमा पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी तथा भारतको पूर्वी चम्पारण र पश्चिमी चम्पारण जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित प्रहरी र भन्सार कार्यालय प्रमुखका साथै भारतका अर्धसैनिक बल प्रमुखको पनि सहभागिता थियो।
 
यसैगरी संविधानसभा निर्वाचनका लागि भारतसँग सीमा जोडिएका रूपन्देही र नवलपरासीका सीमानाका ७२ घन्टा पूर्ण रूपमा बन्द गरिने भएको छ। भैरहवामा शुक्रबार सम्पन्न नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकमा सीमानाका बन्द गर्ने सहमति भएको हो।
 
बैठकमा रूपन्देही र नवलपरासीका सुरक्षा अधिकारीले भारतीय सुरक्षा अधिकारीसँग ७२ घन्टा सीमानाका बन्द गर्न प्रस्ताव गरेका थिए। मंसिर ४ गते हुने निर्वाचनमा खुला सीमाका कारण हुनसक्ने सम्भावित घटना रोक्न दुवै देशका सुरक्षा अधिकारीबीच गम्भीर छलफल भएको जानकारी रूपन्देहीका प्रमुख जिला अधिकारी बालकृष्ण पन्थीले दिए।
 
बैठकमा सीमा क्षेत्रबाट हुने आपराधिक गतिविधि रोक्न निर्वाचन सम्पन्न नहुँदासम्म सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट निगरानी गर्ने, सीमा नाका बन्द गर्ने, सीमा क्षेत्रमा सुरक्षा व्यवस्थापनलगायतका विषयमा छलफल भएको रूपन्देहीका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बताए। खुला सीमाका कारण भारतबाट भित्रिन सक्ने साना हतियारप्रति दुवै देशका सीमा नाकामा रहेका सुरक्षाकर्मीले कडा निगरानी गर्ने सहमति पनि भएको छ। रूपन्देही र नवलपरासीसँग नाका जोडिएका विभिन्न नाकाअन्तर्गत रहेका भारतीय सीमा सुरक्षा बलका हाल ३७ वटा चेक प्वाइन्ट बढाउन आवश्यक भए बढाउन भारतीय सुरक्षा अधिकारी सहमत भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए।
 
भारत महाराजगन्जकी जिल्ला अधिकारी सौम्य अग्रवालले नेपालमा हुन लागेको निर्वाचन सुरक्षाका विषयमा गम्भीर छलफल भएको उल्लेख गर्दै भारतले नेपाललाई सक्दो सहयोग गर्ने बताएको अन्नपूर्ण पोष्टले खबर छापेको छ । 
 
बैठकमा भारतका तर्फबाट महाराजगन्ज जिल्लाका अधिकारी अग्रवाल, प्रहरी उपरीक्षक दिलीप कुमार, एडीएम एसएस श्रीवास्तव, नौतनवाका एसडीएम एसी शर्मा, निचनौलका एसडीएम जयचन्द्र पाण्डे, नौतनवाकी सीओ सुषमा प्रकाश, निचनौलका सीओ आरके बर्मा, भारतीय सीमा सुरक्षा बलका प्रमुख एसएस बानकोटीलगायतको सहभागिता थियो।
 
नेपालका तर्फबाट रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी तथा सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।

Post a Comment

أحدث أقدم