निर्वाचनमा ऐतिहासिक सहभागिता

काठमाडौं, मंसिर ४ - दोस्रो संविधानसभा निर्वाचनमा ऐतिहासिक सहभागिता भएको निर्वाचन आयोगले जनाएको छ ।
मतदान सकिएपछि मंगलबार साँझ आयोगमा भएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले ७० प्रतिशत मतदाता सहभागी भएको जानकारी दिए । 'प्रारम्भिक विवरणअनुसार सरदर ७० प्रतिशत मतदान भएको पूर्वानुमान छ, तर अझै बढ्ने अनुमान गरेका छौं,' उनले भने, 'आजको मतदाता सहभागितालाई इतिहासले रेकर्ड गर्नेछ, हामी कहिल्यै भुल्ने छैनौं ।'
निर्वाचनमा उत्साहजनक सहभागिता भएको भन्दै निर्वाचन आयोगले खुशी प्रकट गरेको छ । प्रमुख निर्वाचन आयुक्त उप्रेतीले निर्वाचनमा सहभागी हुने राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षा निकाय, सञ्चारमाध्यमसहित सवैलाई धन्यवाद दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले फोटोसहितको मतदाता नामावली, नामावली शुद्धीकरणजस्ता प्राविधिक तयारीले सहभागिता बृद्धि भएको उल्लेख गरे । उनले नेपालमा निर्वाचनमा भएको उत्साहजनक सहभागिताले लोकतन्त्र संस्थागत हुनेक्रममा रहेका मुलुकलाई उदाहरण भएको बताए ।
रोल्पाको थवाङमा एक जना पनि मतदाता सहभागी नभएको घटनालाई 'अपवाद' मान्नुपर्ने उप्रेतीले बताए । जुम्लाको एक मतदान केन्द्रमाबाहेक कुनै पनि स्थानमा मतदान स्थगित नभएको जानकारी दिंदै उनले उक्त मतदान केन्द्रमा पनि तुरुन्त मतदान गर्न निर्देशन दिएको बताए ।
आयोगले ७ देखि १० दिनसम्ममा २ सय ४० वटै क्षेत्रको निर्वाचन मपरिणाम आउने बताएको छ । सुगम जिल्लामा मंगलबार रातिदेखि नै मतगणना सुरु हुने र दुर्गम जिल्लामा पनि ढिलोमा भोलि मध्यान्हसम्ममा मतगणना सुरु हुने जनाएको छ ।
आयोगका अनुसार डोल्पामा सवैभन्दा बढी ८३ प्रतिशत मत खसेको छ भने दोलखा र रौतहटमा ८० प्रतिशत मत खसेको छ । सवैभन्दा कम ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।
आयोगले जिल्ला र क्षेत्रीयस्तरमा मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ ।
सिरहा, गोरखा र सर्लाहीमा बुथ कब्जाबारे आयोगमा औपचारिक जानकारी नआएको उनले बताए ।

Post a Comment

Previous Post Next Post