काठमाडौं ५ मा त्रिपक्षीय प्रतिस्पर्धा

http://2.bp.blogspot.com/-AubMBt0sOAY/Um5cT8_bPnI/AAAAAAAAB0A/OFJ0hfJP0UU/s1600/IMG_1423.JPGकाठमाडौ, कार्तिक १६ -
काठमाडौं ५ अन्तर्गत मुख्य प्रतिस्पर्धामा रहेका कांग्रेस, एमाले र माओवादीका उम्मेदवार मतदाता रिझाउन घरदैलो र अन्तरक्रिया लगायतका कार्यक्रमलाई व्यापकता दिइरहेका छन् । यस क्षेत्रमा कांग्रेसका नरहरि आचार्य, एमालेका ईश्वर पोखरेल र एकीकृत नेकपा माओवादीका महेन्द्र श्रेष्ठ चुनावी मैदानमा छन् ।

आचार्यलाई इतिहास दोहोर्‍याउने र पोखरेललाई अघिल्लो चुनावमा गुमेको साख फिर्ता ल्याउने चुनौती छ । श्रेष्ठ नयाँ अनुहार हुन् । आचार्यले यसअघिको संविधानसभा निर्वाचनमा पोखरेललाई पराजित गरेका थिए । अघिल्लो संविधानसभा निर्वाचनमा आचार्यले १३ हजार २ सय ४५ मत र पोखरेलले ९ हजार १ सय २० मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका तत्कालीन माओवादीका दीपेन्द्रप्रकाश महर्जनले ८ हजार ८९ मत पाएका थिए ।

करिब ५६ हजार मतदाता रहेको यस क्षेत्रमा बुढानीलकण्ठ, भद्रकाली, धापासी, टोखा चण्डेश्वरी र टोखा सरस्वती गरी पाँच गाविस र काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५ वडा पर्छन् । नेपाल मजदुर किसान पार्टीका राजवीर डंगोल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजाराम श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सृजना रानी बर्मा, तराई मधेश लोकतान्त्रिकका राधाकृष्ण कार्की, संघीय समाजवादी पार्टी नेपालका लालबहादुर तामाङ, नेपाल जनता पार्टीकी गीता शर्मालगायत २८ जना उम्मेदवार चुनावी मैदानमा छन् । कूल उम्मेदवारमध्ये  ६ जना स्वतन्त्र र सातजना महिला छन् ।

तीनै जना उम्मेदवारले घरदैलो कार्यक्रमबाट जनताको उत्साहजनक प्रतिक्रिया पाइरहेको दाबी गरेका छन् । घरदैलोमा जाँदा उनीहरूलाई सोधिने प्रश्न विकास निर्माणभन्दा संविधान निर्माणसँग बढी सम्बन्धित छन् । उनले पार्टीकै घोषणापत्र बमोजिम एक वर्षभित्र संविधान बनाउने प्रतिबद्धता जनतालाई दिने गरेको बताए । कतिपय मतदाताले हिजो किन संविधान बनेन र अब बन्ने ग्यारेन्टी के छ भन्दै प्रश्न तेस्र्याउने गरेका छन् । लडाकु समायोजन र हतियार व्यवस्थापन नभएकाले संविधान बनाउन सबै शक्ति केन्दि्रत हुन पुगेको प्रस्टीकरण उनले दिने गरेका छन् । 'पार्टीहरूको वैचारिक तथा दार्शनिक पृष्ठभूमिको भिन्नताले पनि संविधानसभाभित्र भन्दा बाहिर तातो बहस भई त्यसले संविधानसभाको माहोललाई अलमल्यायो,' उनले थपे, 'हिजोका यस्ता कमजोरीप्रति दलहरू पनि सतर्क भएका छन् ।' सांसद् विकास कोषको विवरण सार्वजनिक गरिसकेकाले त्यससम्बन्धी जिज्ञासा भने खासै नसोधिएको उनले जानकारी दिए ।

यता, एमालेका पोखरेलले पनि छिटो संविधान बनाउने कुरामै बढी जोड दिने गरेका छन् । 'हिजो सहमति भएका कुरालाई अपनाएर बाँकी कुरामा बहस गरी सीमाभित्रै त्यसलाई टुंग्याउने र नटुंगिएका विषयमा जनमतमा जानेछौं भनेर भन्ने गरेको छु,' उनले भने ।

एमाओवादीका श्रेष्ठले पनि पार्टीको घोषणापत्रअनुसार समयमै संविधान जारी र आर्थिक विकासलाई नै मुख्य एजेन्डाको रूपमा लाने गरेका छन् ।

बौद्धिक छवि बनाएका आचार्यले बोकेर हिँडेको गणतन्त्रको एजेन्डा पूरा भइसकेको, पार्टीभित्र उनको भूमिका पहिलाजस्तो प्रभावशाली नरहेको र विकास निर्माणमा चासो नदिएको उनका आलोचकहरूको आरोप छ । तर, आचार्य भने त्यो प्रतिस्पर्धीले निकालेको तर्क मात्रै भएकाले त्यसले आमजनताको भनाइलाई प्रतिनिधित्व नगर्ने बताउँछन् ।

उनी संविधानसभा र गणतन्त्रको एजेन्डा आफूले नै उठाएको र त्यसको सान्दर्भिकता अझै कायम रहेको दाबी गर्छन् । संसद् विकास कोषमा आएको रकम पारदर्शी ढंगले खर्च गरेको र नियमित रूपमा आफ्ना क्षेत्रका जनतासँग सम्पर्क गरिरहेकाले त्यसलाई नै जित्ने आधार ठान्छन् । 'यसअघि निर्वाचन क्षेत्रको बीचमा सम्पर्क कार्यालय खोलेर हरेक सोम र बुधबार २/२ घन्टा मेरो क्षेत्रका व्यक्तिसँग नियमित सम्पर्क गर्दै आएको छु ।'

एमालेका महासचिव पोखरेलका लागि भ्रष्टाचारसम्बन्धी आरोपले केही धक्का दिन सक्ने विश्लेषकहरूको भनाइ छ । स्वर्गीय मदन भण्डारी र मनमोहन अधिकारीको विरासतको रूपमा पनि अघि सारेका उनले चार कारणलाई आफू जित्ने मुख्य आधार ठानेका छन् । उनका अनुसार अघिल्लो चुनावमा पराजित भएर पनि यो क्षेत्रका जनतासँग सम्पर्कमा रहिरहेको, विकास निर्माणमा लागिरहेको दाबी गर्छन् । उनले स्वास्थ्य, विद्यालय, सडक लगायतका क्षेत्रमा करोडौंका कार्यक्रम ल्याएको दाबी गरे । यस्तै, आफू जिम्मेवार पार्टीको निर्वाचित महासचिव र राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्दै आएकाले त्यसले पनि यो चुनावमा जित्न सजिलो हुने तर्क उनको छ । अघिल्लो चुनावमा आचार्यसँग हारेका पोखरेल यसपालि पनि आफ्नो प्रतिस्पर्धा उनैसँग हुने बताउँछन् ।

यता माओवादीका उम्मेदवार महेन्द्र श्रेष्ठ आफू नयाँ उम्मेदवार भएकाले पुराना र प्रभावशाली प्रतिस्पर्धीलाई उछिन्न चुनौतीपूर्ण ठान्छन् । उनी भने त्यसलाई कमजोरी ठान्दैनन् । 'पुरानो हुनुको फाइदा बेफाइदा दुवै छ,' उनको भनाइ छ, 'फाइदा पुरानो उम्मेदवारलाई सबैले चिन्छन् तर बेफाइदा पुरानोले केही गरेनन् भन्ने छ र मैले यो क्षेत्रमा उहाँहरूको बेफाइदा नै बढी देखें ।' अनुहार नयाँ भए पनि आफू २०६३ सालदेखि काठमाडौं जिल्लाको इन्चार्ज भएर काम गरेको उनको भनाइ छ । 'विकास विरोधी र भ्रष्टचारजस्ता कुराले अरू पार्टीहरू बदनाम भएका छन्,' उनले आफू जित्ने तर्क प्रस्तुत गर्दै भने, 'हाम्रो सरकार भएका सडक विस्तारलगायतका महत्त्वपूर्ण काम भएकाले जनताले हामीलाई नै चाहन्छन् भन्ने विश्वास छ ।'

आचार्यले घरदैलो लगायत व्यक्तिगत सम्पर्क, सानातिना पर्चा, सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत चुनावी प्रचारलाई व्यापकता दिएका छन् । वातावरणीय सफाइलाई ध्यानमा राखेर पोस्टर टाँस्ने काम भने नगरेको उनले बताए । यस्तै, पोखरेलले सांस्कृतिक र्‍याली, पदयात्रा, अन्तरसंवादलगायत जनसभाका कार्यक्रममार्फत प्रचारलाई अघि बढाइरहेका छन् । श्रेष्ठको पनि प्रचारशैली लगभग उस्तै छ । नयाँ उम्मेदवार भएकाले सबैलाई एकपटक अनुहार देखाउन उनले हरेक दिन बिहान र बेलुका घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

यो पनि पढ्नुस्
www.ekantipur.com
प्रकाशित मिति:
२०७० कार्तिक १७ ०९:१६

Post a Comment

Previous Post Next Post