सरकारले सुरक्षा दिए महासंघले इन्धन ढुवानी गर्ने


petrol
काठमाडौं, अषाढ २२ - एक थरी व्यवसायीले इन्धन ढुवानीमा हडताल गर्ने कार्यक्रम घोषणा गरेको भोलिपल्ट पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सरकारले सुरक्षा दिए जस्तोसुकै आन्दोलनमा पनि अपूर्ति सुचारु गर्न तयार रहेको जनाएको छ ।
मध्यमाञ्चल ढुवानी व्यवसायी संघले असार २५ गतेदेखि इन्धन कारोबार ठप्प पार्ने घोषणा गरेको भोलिपल्ट मंगलबार महासंघ अध्यक्ष खगेश्वर बोहोराले  सरकारले सहयोग गरे इन्धन आपूर्तिमा अभाव हुन नदिने बताएका हुन् ।
'सरकारले सहयोग गर्छ भने,' बोहराले कान्तिपुरसित भने, 'हामी जस्तोसुकै आन्दोलनमा पनि पेट्रोलियम पदार्थ ढुवानी गरेर देखाइदिन्छौं ।'
'निहित स्वार्थका लागि' असार ४ गते मात्र गठन भएको संघको आन्दोलनले केही सातायता इन्धन आपूर्ति असहज बन्दै आएको छ । उपभोक्ताले दिनभर लाइन लागेर इन्धन हाल्नुपर्ने बाध्यता सिर्जना भएको छ । यस्तो बेलामा संघको आन्दोलनको विरोधमा महासंघले झन विरोध हडताल गर्ने हल्ला चलेर उपभोक्ता त्रसित छन् । तर महासंघले उपभोक्तालाई मर्का पर्ने गरी कुनै पनि कार्यक्रम नगर्ने जनाउँदै अर्को समूहको हडतालविरुद्ध भद्र अवज्ञा गरेर सरकारलाई सहयोग गर्ने स्पष्ट पारेको छ ।

सरकारले उपभोक्तालाई मर्का परेको जनाउँदै सोमबार साँझ इन्धन कारोबारमा अवरोध सिर्जना गर्ने व्यवसायीलाई आवश्यक सेवा सञ्चालन ऐनअनुसार कारबाही गर्ने निर्णय गरेको थियो । सोही दिन दिउँसो संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
 'हाल मुलुकभर बालीनाली लगाउनुपर्ने बेला छ, यो समयमा उपभोक्ताले इन्धन लागि घन्टौं लाइन बस्नुपर्ने अवस्थाप्रति महासंघको गम्भीर ध्यानाकृष्ट भएको छ,' महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'यस्तो अवस्थामा महासंघ, यसका स्थानीय सदस्य र संस्थाहरूको हाल कुनै पनि बन्द, हडताल वा ढुवानी रोक्नेजस्ता कार्यक्रम नरहेको जानकारी गराउँछौं ।'
महासंघले विज्ञप्तिमार्फत जिम्मेवार व्यावसायिक संस्थाको हैसियतमा सरकारले पेट्रोलियम क्षेत्रमा गर्न लागेको
सुधारका कार्यप्रति पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 'महासंघ पेट्रोलियम पदार्थजस्तो संवेदनशील र अति आवश्यक पदार्थको आपूर्ति सहज गर्न जुनसुकै सहयोग गर्न सदैव तत्पर छ,' विज्ञप्तिमा छ ।
यसैबीच सरकारले जुनसुकै कानुन लगाए पनि आन्दोलन नरोकिने संघअन्तर्गत गठित संघर्ष समिति संयोजक गोकर्ण पराजुलीले बताए । 'सरकारले जुनसुकै कानुन लगाएर कारबाही गरे पनि हाम्रो आन्दोलन रोकिँदैन,' उनले भने । संघले २५ गतेदेखि पेट्रोलियम कारोबार ठप्प पार्ने घोषणा गरेको छ ।
आयल निगम भने रक्सौल-काठमाडौं रुटमा पेट्रोलियम ढुवानी गर्ने ६० वटा ट्यांकर थप्ने विषयमा संघ र महासंघबीच देखिएको विवाद मिलाउन व्यस्त छ । निगम स्रोतका अनुसार निगम सोमबारदेखि विवाद मिलाउन प्रयत्नरत छ ।
यता, निगम प्रबन्ध निर्देशक दिगम्बर झाले पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ वितरण गरिरहेको जानकारी दिए । 'उपभोक्तालाई मर्का नपरोस भनेर हामीले सोमबार राजधानीमा मात्र ४ सय ६ किलोलिटर र मंगलबार ३ सय ५० किलोलिटर पेट्रोल वितरण गर्‍यौं,' उनले भने, 'जबकी, उपत्यकामा दैनिक करिब २ सय १५ किलोलिटर मात्र पेट्रोलको माग छ ।' झाका अनुसार निगमले उपत्यकामा बुधबार (आज) ३ सय ५० किलोलिटर वितरण गरिनेछ ।
उनले  पेट्रोलियम पदार्थ सहज आपूर्ति गर्न निगम जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए । 'खेतीपातीको मौसम सुरु भएको छ,' उनले भने, 'यस्तो अवस्थामा उपभोक्ताको हितलाई ध्यानमा राखी निगम आफूले सकेको जस्तोसुकै कदम चाल्न तयार छ ।'
पेट्रोलियम पदार्थको अभाव पुनः सुरु भएपछि निगमले भारतीय आयल निगम (आईओसी) सँग ५० करोड भारतीय रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ उपलब्ध गराउन आग्रह गरेको छ ।
आईओसीले उक्त आग्रह स्वीकार्दै समय थपेर भए पनि पेट्रोलियम पदार्थ उपलब्ध गराउने जनाएको निगमको भनाइ छ । आईओसीले सार्वजनिक बिदाका दिन आइतबार पनि निगमलाई पेट्रोलियम पदार्थ दिएको थियो ।
प्रकाशित मिति: २०६८ अषाढ २२ ०९:५६

Post a Comment

أحدث أقدم