टोखामा खानेपानी आयोजनाको शुभारम्भ

Monday, 17 August 2009
काठमाडौं उपत्यकामा बसोवास गर्ने न्यून आय भएका उपभोक्ताहरुको स्वच्छ पिउने पानी पाउनुपर्ने अधिकारलाई प्राथमिकतामा राखि काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ५ का स्थानीयवासिहरुको पहलमा टोखाको दुई गा.बि.स.मा खानेपानी सुविधा बिस्तार गर्न संचालन हुन गइरहेको वृहत् खानेपानी आयोजनाका आज शुभारम्भ गरिएको छ ।
उक्त शुभारम्भ कार्यक्रमको समुद्घाटन यूएन हाविटाट, नैरोवीका खानेपानी तथा सरसफाइ विभाव प्रमुख आन्द्रे जिकुशले गर्नुभएको थियो । कार्यक्रममा उहाँले स्थानीय जनसमुदायले देखाएको एक्यबद्धताले टोखामा शुरु हुन गइरहेको आयोजना सफल गर्न मद्दत पुर्याउने बिचार व्यक्त गर्नुभयो ।
यूएन हाविटाट, दक्षिण एशियाका प्रमुख प्राविधिक सल्लाहकार डा. रोशन राज श्रेष्ठले सक्रिय जनसहभागितामा आयोजनाका क्रियाकलापहरु संचालन गर्न आग्रह गर्नु भयो । आयोजना कार्यान्वयनको सिलसिलामा आउने समस्याहरु समाधान गर्न यूएन हाविटाटले आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लुमन्तीका निर्देशक लजना मानन्धरले खानेपानीको उक्त आयोजना स्थापना गर्न लुमन्तीले प्राविधिक सहयोग प्रदान गर्ने तर खानेपानी बितरण प्रणाली निर्माण पश्चात त्यसको जिम्मेवारी स्थानीयवासीलाई दिइने जानकारी दिनुभयो । त्यसको व्यवस्थापनका लागि स्थानीय उपभोक्ताहरुले नै प्रयास गर्नुपर्ने उहाँले बताउनु भयो ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक हरी ढकालले आयोजना सम्पन्न भएपछि त्यसको व्यवस्थापनको जिम्मा स्थानीयवासीले नै लिनु पर्ने बताउनु भयो । स्थानीयवासीहरुले आफै आफ्नो खानेपानीको आवश्यकता अनुरुप खानेपानी वितरण योजना बनाउनु पर्ने उहाँको बिचार थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाराजगंज शाखाकार् इन्चार्ज कुमार सिम्खडाले टोखावासीहरुलाई खानेपानी सुबिधा बिस्तार गर्न शुरु हुन लागेको आयोजनालाई काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न राजनैतिक पार्टीका स्थानीय प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । खानेपानीको समस्या कुनै जात, जाति, समुदाय र राजनैतिक पार्टीको एकलौटी नभई साझा समस्या भएको हुँदा सबै मिलेर आयोजना कार्यान्वयनका लागि काम गर्ने सबै पार्टीका स्थानीय प्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।
आयोजना अन्तर्गतका क्रियाकलापहरु संचालनका लागि यू. एन. हाबिटाटले प्राविधिक सहयोगका साथै ७५ लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । यसैगरि आवश्यक प्राविधिक सहयोग लुमन्ति आवासको लागि सहयोग समूहले प्रदान गर्ने भएको छ । आयोजना संचालनका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं जिल्ला बिकास समिति र गाउँ बिकास समितिले पनि आवश्यक पहल गर्ने छ । टोखा चण्डेश्वरी र टोखा सरस्वती गा.वि.स.को तर्फबाट आर्थिक वर्ष २०६६/६७ का लागि गा.वि.स.हरु र जि.वि.स.बाट गरी कुल ३१ लाख ५० हजार रकम विनियोजन गरिएको छ ।
आयोजनाले स्थानीय तीनवटा खोलाबाट दैनिक ३ लाख ५० हजार लिटर पानी संकलन गरि टोखा चण्डेश्वरी र टोखा सरस्वती गा.वि.स.मा बितरण गर्ने छ ।यस कार्यका लागि इन्टेक, सेडिमेन्टेसन ट्याङक/फिल्टर युनीट, टि्रटमेण्ट प्लाण्ट, रिजर्भ्वायर ट्याङक र वितरण प्रणाली निर्माण गरि संकलित पानी उक्त प्रणालीबाट प्रशोधन पश्चात दुई गा.वि.स.का १५०० घरधूरीलाई बितरण गर्ने छ ।
"२९ दिन घरको काममा, एक दिन समुदायको नाममा" भन्ने साझा नाराका साथ सक्रिय जनसहभगिता सहित संचालन गरिने यस आयोजनाको अन्तर्गत स्थापना गरिने खानेपानी वितरण प्रणालीको दिगोपनाका लागि टोखा खानेपानी व्यवस्थापन नीति पनि तर्जुमा गरिनेछ । साथै पानीको माग विश्लेषण गरी आवश्यक भएमा उपयुक्त स्थानबाट भुमिगत पानी संकलन गरि बितरण गर्ने आयोजनाको लक्ष्य रहेको छ । समुदायस्तरमा पानीको गुणस्तर परिक्षण गर्ने संयन्त्र विकास गरि गुणस्तरीय पानी बितरणका लागि समुदायलाई आत्मनिर्भर बनाउने योजना पनि आयोजनाको रहेको छ । खानेपानी सुबिधा विस्तारका अतिरिक्त सरसफाइ सुबिधा सुधारका लागि सरसफाई गुरुयोजना पनि तयार गर्नेछ ।
यस आयोजनाले टोखा क्षेत्रभन्दा बाहिरका न्यून आय भएका समुदायहरुमा पनि खानेपानी सुबिधा प्रदान गर्ने योजना बनाएको छ । यसका लागि शहरी वातावरण व्यवस्थापन समाजको पहलमा ललितपुरका च्यासल र काठमाडौंको कोटेश्वर क्षेत्रका केही न्यून आय भएका समुदायहरुमा खानेपानी बितरणको व्यवस्था गरिने छ । यसको लागि च्यासलमा हाल संचालनमा रहेको समुदायमा आधारित खानेपानी प्रशोधन तथा बितरण केन्द्रमा थप पानी प्रशोधन प्रणाली जडान गरिने छ । हाल उक्त खानेपानी बितरण केन्द्रले २५० घरधूरीलाई जेरिकेनमा गुणस्तरीय पानी बितरण गरिरहेकोमा नयाँ प्रशोधन प्रणाली जडान पछि थप १०० घरधूरीले यस केन्द्रबाट सुबिधा पाउने भएको छ ।
आयोजनाले कोटेश्वर क्षेत्रका न्यूनआय भएका समुदायमा खानेपानी सुबिधा प्रदान कोटेश्वरमा पानी बितरण केन्द्र स्थापन गर्ने छ । प्रशोधित पानी २० लिटरको बोटलमा भरेर बितरण गरिने छ । यसबाट कोटेश्वरका न्यूनआय भएका समुदायका १२,०० घरधूरीहरु लाभान्वित हुने बताइएको छ । यसका लागि सिद्धिपुर खानेपानी तथा सरसफाइ उपभोक्त समितिले पानी उपलब्ध गराउने छ ।
काठमाडौं उपत्यकाको खानेपानी सुविधा सुधार गर्नको लागि लामो समयदेखि प्रयासहरु हुदैं आएको छ । यहाँको खानेपानीको अवस्था सुधारका लागि भएका प्रयासहरुले न्यूनआय भएका समुदायलाई थप वञ्चितिकरण तर्फ धकेल्न सक्ने सम्भावनाहरु देखिएकाले सरोकारवाला विभिन्न पक्षहरुले सिमान्तकृत समुदायको हितका लागि आवाज उठाउन थालेको पनि धेरै समय भइसकेको छ । हाल संचालन हुन गइरहेको आयोजनाबाट तीन बर्षमा टोखा, च्यासल र कोटेश्वर गरि करीब २५ हजार न्यूनआय भएका जनसंख्याले गुणस्तरीय खानेपानी सुविधा पाउने अपेक्षा गरिएको छ ।
Last Updated ( Sunday, 30 August 2009 )

Post a Comment

Previous Post Next Post