- सुबिन्द्र श्रेष्ठ, टोखा
पौराणिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले भरिपूर्ण प्राचीन नगरी हो टोखा। यस प्राचीन नगरीको मुटु अर्थात् ठीक वस्तीको बीच भागमा अवस्थित तलेजु मन्दिर टोखाको एउटा अभिन्न अंग र गौरवशाली इतिहासको प्रतीकका रूपमा उभिएको छ।मल्लकालमा टोखा (त्यसबेलाको ‘लक्ष्मीपुर’) कान्तिपुर राज्यबाट नुवाकोट जोड्ने सबैभन्दा छोटो र रणनीतिक मार्गका रूपमा रहेको थियो। राज्यको सुरक्षाका लागि एउटा सशक्त किल्ला वा क्वाथका रूपमा तलेजु मन्दिरको स्थापना गरिएको अनुमान गरिन्छ। यद्यपि, टोखाको इतिहास मल्लकालभन्दा पनि अघि लिच्छविकाल र त्यसभन्दा पूर्व पनि छुट्टै समृद्ध राज्यका रूपमा रहेको तथ्य यहाँका छरपस्ट शिलालेखहरूले पुष्टि गर्छन्। यस मन्दिरको ठ्याक्कै स्थापना तिथिमिति प्रस्ट नभए पनि मन्दिर परिसरका अवशेषहरूले यसको प्राचीनता र ऐतिहासिक महत्त्वलाई उजागर गरिरहेका छन्।
१. तलेजु मन्दिरमा थकाली र पूजा परम्परा
टोखाको मौलिक परम्परा, जीवन्त चाडपर्व र कला-संस्कृतिको केन्द्र मानिने यस तलेजु मन्दिरमा वर्षको एकपटक बडादशैँका बेला विशेष एवं भव्य जात्रा हुने गर्दछ।
प्रवेश तथा थकाली चयनको कडा नियम:
तलेजु मन्दिरमा प्रवेशका लागि परापूर्वकालदेखि नै विशेष जातीय एवं गुठीगत नियमहरू तय गरिएका छन्:
• सामान्य सर्वसाधारणका लागि: बडादशैँको महानवमीका दिन मात्र सर्वसाधारणले तलेजु भवानीको दर्शन र मन्दिर प्रवेश पाउन सक्छन्।
• विशेष प्रवेश अधिकार: मूलतः आगँ द्यः खलः लाई मात्र नियमित प्रवेशको अधिकार छ।
• वर्जित परिवार/खलः: घ्यजु, किजिजु, छुजु, ह्यजु, कोजु, नायजु, ग्वाजु, र खाय्जु परिवार वा खलःहरूलाई तलेजुमा सहभागिता जनाउन नपाइने प्रावधान रहेको छ।
१३ जना थकालीको संरचना:
मन्दिर र जात्रा सञ्चालनका लागि १३ जना जेष्ठ व्यक्ति (थकाली) हरूको विशेष भूमिका हुन्छ:
1. देय् थकाली (१२ जना): श्रेष्ठ थरका १२ परिवारबाट १-१ जना जेष्ठ व्यक्ति थकाली रहन्छन्। यी १२ जनामध्ये सबैभन्दा जेष्ठ व्यक्तिलाई ‘देय् थकाली’ को सर्वोच्च स्थान र दर्जा दिइन्छ।
2. बह्र थकाली (१ जना): डंगोल थरको बह्र थकाली गुठीका मूल थकाली यस मन्दिरमा १३ औँ थकालीका रूपमा रहने परम्परा छ।
२. घटस्थापनादेखि नवमीसम्मका धार्मिक विधिहरू
• जमरा राखिने (शुक्ल प्रतिपदा): दशैँको पहिलो दिन देय् मूल नायो र कर्मचार थरका पूजारी (आचायजु) ले तलेजु मन्दिरमा नलस्वाः (जमरा) राखेर दसैँका धार्मिक विधि सुरु गर्छन्।
• फूलपाती भित्राउने: फूलपातीका दिन आचायजुले पूजाका सामग्री तयार गरी फूलपाती भित्राउँछन्। पूजामा हाँसको बलि अनिवार्य मानिन्छ। यसै दिन खःद्यः जात्राका लागि चाहिने बाँसको छत्र आकारको १३ वटा खट लाई समेत पूजा गरी तलेजुमा स्थापना गरिन्छ। पूजापछि १३ थकालीहरूलाई समयबजि र भोज खुवाइन्छ। त्यसपछि एकादशीसम्म दैनिक पूजाआजा हुन्छ।
• कुम: फ्वायका वनेगु (महानवमी): नवमीको साँझ तलेजुबाट विशेष पूजा सामग्रीसहित जीवित देवी गणेश र कुमारीको घरमा गएर तलेजु भवानीको प्रसाद/फूल चढाउने र पूजा गर्ने परम्परा छ, जसलाई ‘कुम: फ्वायका वनेगु’ भनिन्छ।
३. भव्य एवं रोमाञ्चक: खः द्यः (खड्ग) जात्रा
सत्यले असत्यमाथि विजय प्राप्त गरेको खुसीयालीका रूपमा मनाइने यो जात्रा विजयादशमीको भोलिपल्ट अर्थात् एकादशीका दिन सञ्चालन हुन्छ।
जात्राको प्रारम्भ र तयारी:
• एकादशीको बिहानैदेखि तलेजु मन्दिर परिसर (क्वाल) मा चहलपहल सुरु हुन्छ।
• पूजारी आचाजुले विशेष पूजा गरी तलेजु भवानीको खड्गलाई बाँसको छत्र (जालीदेवी) भित्र राखी दर्जाअनुसार थकालीहरूलाई हस्तान्तरण गर्छन्।
• थकालीहरूले शिरमा सेतो कपडाको ‘बेताली’ पहिरेका हुन्छन्। प्रत्येक थकालीको सहयोगका लागि ३ जना सहयोगी हुन्छन्— दुई जना दायाँ-बायाँ र एक जना पछाडि। थकालीका घरपरिवारका महिलाहरूले सुकुन्दा बालेर बत्ती देखाउँछन्।
जीवित देवी गणेश र कुमारीको आगमन:
खःद्यः जात्रा सुरु हुनुअघि जीवित देवी गणेश र कुमारीको उपस्थिति अनिवार्य हुन्छ। मूल नायो बाजागाजा र सुकुन्दा बत्तीसहित गणेश र कुमारीलाई ल्याएर तलेजु परिसरमा रहेको ‘कुमारी पाटी’ मा विराजमान गराउँछन्।
जात्राको यात्रा र रोमाञ्चक दौड :
1. अग्रपंक्तिमा बह्र थकाली: मन्दिरबाट बाहिरिँदा सबैभन्दा अगाडि डंगोल थरका बह्र थकाली हुन्छन्। उनको शरीरमा ढाल (कवच) र राँगाको आन्द्रामा हावा फुलाएर बनाइएको माला पहिराइएको हुन्छ।
2. क्रमबद्ध परिक्रमा: दोस्रो स्थानमा देय् थकाली र त्यसपछि अन्य थकालीहरू धीमे बाजाको तालमा लामबद्ध भई तपलाछी मा रहेको लिङ्गेश्वर तथा नारायण मन्दिरको परिक्रमा गर्छन्। त्यसपछि ताहाले मा रहेको क्षेत्रपालमा पुग्छन्।
3. क्षेत्रपाल पूजा र दौड: ताहालेमा मूल नाइके र आचायजुले विधिवत् पूजा गरेपछि थकालीहरू तलेजु मन्दिरतिर तीव्र गतिमा दौडिन्छन्। सहयोगीहरूले थकालीहरूलाई उचालेरै भए पनि दौडाउँछन्।
4. प्रथम हुनेलाई सम्मान: जो थकाली मन्दिरभित्र पहिलो पुग्छ, उसलाई विशेष सम्मान गरिन्छ। बाँसको छत्र मन्दिरमा बुझाइन्छ र त्यसमा रहेको फूल गणेश र कुमारीलाई चढाइन्छ।
कुभिण्डो (भुइफसी) को बलि र लुछाचुँडी:
थकालीहरू तलेजुतिर दौडिएसँगै क्षेत्रपालमा भुइफसी (कुभिण्डो) को बलि दिइन्छ (काटिन्छ)। राक्षस प्रवेश गरी बसेको र उसको वध गरिएको प्रतीकका रूपमा कुभिण्डो काट्ने धार्मिक विश्वास छ। काटिएको कुभिण्डोमा ओषधीय गुण हुने जनविश्वास रहेकाले जात्रामा सहभागी मानिसहरूबीच कुभिण्डो पाउनका लागि निकै लुछाचुँडी हुन्छ, जुन दृश्य हेर्न लायक र निकै रोमाञ्चक हुन्छ।
४. लोककथा तथा किंवदन्ती
यस जात्राका सम्बन्धमा एउटा रोचक किंवदन्ती पनि सुन्न पाइन्छ। किंवदन्तीअनुसार तलेजु मन्दिरमा रहेका १३ वटा खड्गसहितकी भगवती देवीलाई भक्तपुरबाट ल्याइएको विश्वास गरिन्छ। सोही सम्झनामा खड्गजात्रा गर्दा खड्गलाई सर्वसाधारणबाट ओझेल पार्न बाँसभित्र लुकाएर फूलैफूलको छत्र जस्तो आकृतिले ढाक्ने गरिएको स्थानीय जानकारहरू बताउँछन्।
निष्कर्ष
किंवदन्ती वा मान्यताहरू जे-जस्ता भए पनि, टोखाको तलेजु मन्दिर र खः द्यः जात्राले यहाँको सामाजिक एकता, धार्मिक सहिष्णुता र प्राचीन इतिहासलाई जीवन्त राखिरहेको छ। मूल नाइके हेमराज श्रेष्ठका अनुसार हाल टोखा नगरपालिका तथा वडा कार्यालयले यसको व्यवस्थापन र संरक्षणमा सहयोग पुर्याउँदै आएको छ। टोखाको यो अमूल्य मौलिक सांस्कृतिक पर्वको संवर्द्धन र प्रवर्द्धन गर्नु हामी सम्पूर्ण नगरवासी एवं नेपालीहरूको साझा कर्तव्य हो।
إرسال تعليق