टोखा टाइम्स, काठमाडौँ, साउन १४— काठमाडौँको टोखा नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि करदाताहरूलाई लक्षित गर्दै सम्पत्ति कर, व्यवसाय कर, बहालकर तथा नक्सा पासमा आकर्षक छुट र जरिवाना मिनाहाको व्यवस्था गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै तोकिएको समयभित्र सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा गई राजस्व बुझाई छुटको लाभ लिन नगरवासीहरूलाई आग्रह गरेको छ।
सम्पत्ति, व्यवसाय तथा बहालकरमा छुटको व्यवस्था:
वार्षिक रूपमा कर तिर्ने करदाताहरूका लागि समयसीमा अनुसार निम्न अनुसारको छुट तोकिएको छ:
साउनदेखि भदौ मसान्तसम्म: २० प्रतिशत छुट।
असोजदेखि कात्तिक मसान्तसम्म: १५ प्रतिशत छुट।
मंसिरदेखि पुस मसान्तसम्म: १० प्रतिशत छुट।
ठूला करदातालाई विशेष छुट: ५० लाख रुपैयाँभन्दा बढी सम्पत्ति कर बक्यौता रहेका करदाताले असोज मसान्तभित्र बक्यौता कर बुझाएमा चालु आवको सम्पत्ति करमा ४० प्रतिशत छुट दिइनेछ।
नक्सा पास सम्बन्धी छुट:
नक्सा नियमित वा अभिलेखीकरणका लागि पौष मसान्तभित्र आवेदन दिने सेवाग्राहीहरूलाई लाग्ने थप जरिवानामा ७५ प्रतिशत छुट दिइनेछ।
अन्य क्षेत्रमा प्राप्त हुने छुटहरू:
१. उद्योग दर्ता: टोखा नगरपालिकाको उद्योग दर्ता ऐन, २०८० बमोजिम इजाजतसहित दर्ता हुने उद्योगहरूको व्यवसाय करमा २० प्रतिशत छुट हुनेछ।
२. अपाङ्गता भएका व्यक्तिका लागि: रातो अपाङ्गता परिचयपत्र भएका व्यक्तिहरूलाई वार्षिक व्यवसाय कर (दर्ता/नवीकरण) पूर्ण रूपमा नि:शुल्क (१००% छुट) गरिएको छ भने निलो परिचयपत्र भएकाहरूलाई ७५ प्रतिशत छुट दिइनेछ।
३. सहकारी संस्था: महिला, कृषि तथा दुग्ध सहकारी संस्थाहरूलाई व्यवसाय करमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
जरिवाना मिनाहा:
आर्थिक वर्ष २०७८/७९ सम्मको सम्पत्ति कर तथा व्यवसाय वार्षिक शुल्क तिर्न बाँकी रहेका करदाताहरूले चालु आवको पौष मसान्तभित्र कर बुझाएमा सो समयसम्मको जरिवाना पूर्ण रूपमा मिनाहा हुनेछ। पौष मसान्त पश्चात भने प्रत्येक वर्ष ५ प्रतिशतका दरले जरिवाना लाग्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले तोकिएको समयसीमाभित्रै कर तिरी नगरपालिकाको समृद्धिमा योगदान पुर्याउन र छुटको फाइदा उठाउन अनुरोध गरिएको छ।
إرسال تعليق