तोखा टाइम्स, काठमाडौं —प्रस्तावित तोखा राजमार्ग निर्माणका क्रममा हजारौँ वर्ष पुरानो सांस्कृतिक सम्पदा, सभ्यता र स्थानीयवासीको वासस्थान जोखिममा पर्ने भन्दै तोखाका बासिन्दाहरूले कडा आपत्ति जनाएका छन्। ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (BRI) अन्तर्गतको आयोजनाका नाममा स्थानीयवासीलाई भ्रमित र त्रसित बनाउन खोजिएको भन्दै उनीहरूले एकजुट भएर सशक्त विरोध गर्न आह्वान गरेका हुन्।
स्थानीय अगुवा तथा सरोकारवालाहरूले असनभन्दा पनि पुरानो प्रागऐतिहासिक सभ्यता, मौलिक पहिचान र असङ्ख्य मूर्त-अमूर्त सांस्कृतिक सम्पदाहरूलाई मुआब्जा र क्षतिपूर्तिको लोभमा विनाश गर्न नदिइने स्पष्ट पारेका छन्।भ्रम र डरको खेती नगर्न चेतावनी
हालसम्म यस खण्डलाई राष्ट्रिय राजमार्ग घोषणा देखि अन्य कुनै आवश्यक निर्णय नभएको, यस खण्डलाई बिआरआइ परियोयोजनको समझदारी र फ्रेमवर्क भित्र पनि नपारिएको यथार्थलाई बिर्सिएर केवल सरकारले कुनै दिन हचुवामा प्रस्तावित गरेकै आधारमा सरकारी निकाय वा अन्य कुनै स्वार्थ समूहको दबाबमा हजारौँ वर्ष पुराना आदिवासीको बासस्थान खोस्ने गरी राजमार्ग ल्याउन कुनैपनि कोणबाट न्यायोचित नहुने स्थानीयबासी सबै सरोकारवाला नागरिकको अडान छ। राजमार्ग निर्माणका लागि दायाँ-बायाँ ३१-३१ मिटर जग्गा जाने र समयमै मुआब्जा नलिए पछि नपाइने भन्दै फैलाइएका हल्लाहरू बिल्कुल आधारहीन भएको दाबी गरिएको छ।
गोरखापत्रमा सरकारी वैधानिक सूचना जारी नभई उचित प्रक्रिया बेगर कुनै व्यक्ति वा समूहले दिने रकमलाई कानुनतः मुआब्जा मान्न नसकिने भन्दै सोझा-सिधा जनतालाई बेलाबखत फकाउने र धम्क्याउने कार्यको भत्सर्ना गरिएको छ।
विकासका नाममा सम्पदा मास्न पाइँदैन
चीनको ‘बीआरआई’ आयोजना आउँदैमा आफ्नो भूमि र सांस्कृतिक पहिचान छाड्नैपर्छ भन्ने बाध्यता नरहेको चर्चा गर्दै स्थानीयले भनेका छन्, "अमेरिका पत्ता लाग्नुअघि नै विकास भइसकेको र नेपालको पहिलो घोषित सांस्कृतिक क्षेत्र तोखाको ऐतिहासिक महत्त्वलाई बचाएर मात्र विकासका विकल्पहरू खोजिनुपर्छ।"
ललितपुरको खोकनामा फास्ट ट्र्याक निर्माणका क्रममा स्थानीय आदिवासीहरूको अनवरत सङ्घर्षपछि आयोजनाको मार्ग परिवर्तन (चोभार) भएजस्तै, सामाखुसीबाट भित्रिने बित्तिकै दर्जनौं मूर्त र सयौँ अमूर्त सम्पदाहरू रहेको तोखाको सडक यतायात र पारवहन भन्दा पनि सदियौं देखि मूलत: साँस्कृतिक मार्गको रूपमा रहेको र नेवारी संस्कृति र सास्कृतिक गौरवको रक्तनली धमनी भएको यथार्थ महसुस गरी यसलाई राजमार्गको रूपमा प्रस्तावित गर्नुसट्टा कमक्षति र मितव्ययी विकल्पहरू पहिचान र छनौट गर्न केन्द्र सरकार र निकायहरूलाई अनुरोध गर्ने आयोजकको निष्कर्ष छ।
तोखाको अस्तित्व र प्राचीन सभ्यता रक्षाका लागि बृहत् छलफल गरी अघि बढ्न सम्पूर्ण तोखाबासीलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।
भोलि शनिवार बिहान ६.३० बजे वडा नं. ३ को प्राङ्गणमा सबै सरोकारवालाहरूको उपस्थितिका लागि आयोजकहरूले सार्वजनिक आह्वान गरेका छन् !

Post a Comment