टोखाको तलेजु र खः द्यः जात्रा (खड्ग जात्रा)



सुबिन्द्र श्रेष्ठ । पौराणिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा प्राचीन नगरी टोखाको निकै नै पुरानो ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको तलेजु मन्दिर टोखाको एक अभिन्न अंगको रुपमा रहेको छ । टोखा बस्तीको ठीक बीचौँ बीचमा रहेको यो मन्दिरले टोखाको त्यो कालखण्डको प्रतिनिधित्व गरिरहेको छ, जुन मल्ल कालमा एउटा निकै नै सशक्त राज्य अथवा किल्लाको रुपमा रहेको थियो । त्यस्ताका समयमा लक्ष्मीपुर अथात टोखा कान्तिपुर राज्यबाट नुवाकोट जोड्ने छोटो मार्गको रुपमा रहेकोले पनि मल्लकालमा आफ्नो राज्यको सुरक्षाका लागि यहाँ सुरक्षा किल्लाको रुपमा यस क्वाथ अर्थात तलेजु मन्दिरको स्थापना गरिएको अनुमान गर्न सकिन्छ । यद्यपी टोखा मल्लकाल भन्दा पनि पहिले लिच्छबि शासनकाल तथा त्यस भन्दा पनि पहिले एउटा छुट्टै राज्यको रुपमा रहेको थियो भन्ने तथ्य ईतिहासका पानाहरुले प्रस्त्याई रहेको छ । हालसम्म पनि छरप्रस्त रुपमा छरिएर रहेका विभिन्न कालखण्डका अभिन्न शीलापत्रहरुमा ती तथ्यहरु आज पनि भेटाउन् सकिन्छ । यस तलेजु मन्दिर कसको शासनकालमा र कहिले स्थापना गरियो भन्ने कुरा प्रस्त तिथिमिति नभेटिएता पनि यो मन्दिर र यसको वरिपरी भेटिएका अवशेषहरुले यो ठाउँको प्राचीन्ता र महत्वलाई दर्शाई रहेको छ । टोखाको त्यो एैतिहासिक काल खण्डका बारेमा हामी  कुनै दि चर्चापरिचर्चा गदै गरौँला आजको यो लेखमा तलेजु मन्दिर र त्यहाँ मनाई विशेष जात्राको बारेमा चर्चा गर्ने छौँ ।

टोखाको मौलिक परम्परा तथा जीवन्त चाड पर्व एवम् कला साँस्कृतिको केन्द्रको रुपमा रहेको यस तलेजु मन्दिरमा वर्षको एक चोटि विशेष जात्रा हुने गर्दछ । जीवित देवी गणेश कुमारी सहित दशैंको समयमा हुने खःद्यः (खड्ग) जात्रा यस मन्दिरको निकै नै ठुलो र एक मात्र जात्राको रुपमा रहेको छ । हुनत चैते दशैंको वेलामा पनि यस मन्दिरमा पूजा आजा नहुने भने होईन तर त्यो भन्दा पनि विशेष र धुम्धामसँग बडा दशैंको समयमा मात्र हुने खः द्यः जात्रालाई लिईन्छ । मुल नाइके हेमराज श्रेष्ठका अनुसार यसको संरक्षणका लागि स्थानीयर निकाय वडा कार्यालय हाल टोखा नगरपालिकाले तजेजु मन्दिरलाई आवश्यक सामाग्रीहरुको व्यवस्थापन गरिरहेको छ ।  
तलेजु मन्दिरमा थकालीको व्यवस्था 

टोखाको मुल नायोको व्यवस्थापन तथा आचाजु (कर्मचारी थर)का पूजारीको विशेष मन्त्रोचारण तथा पूजापाठमा हुने यो जात्रा सत्यले असत्यमाथी जिते पछि खुशीयालीको रुपमा मनाएको प्रतिकका रुपमा लिन सकिन्छ । टोखाको विशेष वर्ग अथवा थरहरुका जेष्ठ व्यक्तिहरुको सहभागितामा यो जात्रा हुने गर्दछ । 

टोखाको देय् थकालि सहित १२ जना थकालिहरु यस जात्रामा सहभागिता रहने गर्दछ । यस जात्रामा सहभागि हुनका लागि आफ्नै विशेष नियम तथा प्रकृया रहेको हुन्छ । यस तलेजु मन्दिर भित्र जो पायो त्यहि प्रवेश गर्न पाउदैन, त्यहाँ प्रवेश गर्न विशेष खल अथवा जातीय (थर)का व्यक्तिहरुले मात्र पाउने गर्दछ । जुन परापुर्वकालदेखिनै तोकिएको विशेष थर र खलःहरुका सन्ततिहरुलेमात्र यहाँ जुनसुकै समयमा पनि प्रवेश गर्न सकिनेछ । यद्यपी त्यस बाहेकका व्यक्तिहरुले बडा दशैंको दशमीको एकदिनमात्र प्रवेश गर्न अथवा तलेजु भवानीको दर्शन गर्न पाउनेछ । विशेष गरि आगँ द्यः खलःहरु मात्र यस मन्दिरमा प्रवेश गर्न पाउने प्रावधान गरेको छ । श्रेष्ठ थरका १२ परिवार तथा डंगोल थरका १ परिवारबाट १÷१ जना थकाली (जेष्ठ व्यक्ति) यस मन्दिरको थकालीका रुपमा रहने परम्परा रहेकोछ । त्यसमा पनि डंगोल थरमा बह्र थकाली गुठीको मूल थकाली यस मन्दिरमा थकालीको रुपमा रहनसक्ने छ । घ्यजु, किजिजु, छुजु, ह्यजु, कोजु, नायजु, ग्वाजु, खाय्जु यी परिवार वा खलःहरु तलेजुमा सहभागिता जनाउन नपाइने प्रवाधान रहेको छ ।

तलेजु मन्दिरमा १३ जना थकालीहरु रहने गर्दछ । ती थकालीहरुको पनि उमेर अनुसार विशेष स्थान र पद दिने गरिन्छ । श्रेष्ठ थरका १२ जना थकालीहरु मध्यमा पनि जेष्ठ व्यक्तिलाई देय् थकालीको स्थान र दर्जा दिने गरिन्छ, भन्ने डंगोल थरका एक जना जुन बह्र थकालीको पनि थकालीलाई तलेजुमा पनि बह्र थकालीको स्थान र दर्जा दिने गरिन्छ ।

दशैंको पहिलो दिन अर्थात शुक्ल प्रतिपदाका दिन देय मुल नायो र पूजारी आचायजु (कर्माचारी थरका पूजारी)ले तलेजु मन्दिरमा नलस्वाः (जमरा) राख्ने गरिन्छ । फुटपातीका दिन आचायजुले पूजाको सरसामाग्री तयार गरी फुटपाती भित्राउने गरिन्छ । पूजाका क्रममा हाँसको बलि दिनै पर्ने चलन रहेको छ । खःद्यः जात्राकालागि चाहिने बाँसको छत्र आकारको १३ वटा खटलाई समेत पूजा गरी तलेजुमा स्थापना गरिन्छ । पूजामा १३ जना थकालीहरुको अनिवार्य उपस्थिती रहन्छ । पूजा पश्चात थकालीहरुलाई सम्यबजिका साथै भोजसमेत खुवाइन्छ । यस दिनदेखि एकादर्शिका दिनसम्म देय् थकाली सहितले तलेजुको दैनिक पूजाआजा गर्ने गर्दछ । 

नवमीका दिन सन्धयाकालिन यसमयमा तलेजुबाट विशेष पूजाका सामाग्री सहित जीवित देवी गणेश र कुमारीको घरमा गएर कुमा फ्वायका वनेगु (कुमारीलाई तलेजुमा छुट्याएर राखिएको भाग प्रसाद दिने) गर्दछ । यसरी कुमा फ्वायका वनेगु तलेजु भवनीको फुल प्रसादका साथ कुमारीलाई विशेष पूजा आजा गर्ने गर्दछ ।

खःद्यः जात्रा (खड्ग जात्राण)


बिजायदशमीको भोलि पल्ट अर्थात एकादशीका दिन विहानदेखि तलेजु मन्दिर परिसरमा विशेष चहल पहल हुनेगर्दछ । आचायजुले विशेष पूजा गरेर तलेजु भवानीको खड्ग सहित फुलपातीका दिन पूजा गरी स्थापना गरिएको बाँसको छत्रलाई झिकेर त्यसै बाँसको छत्र भित्र खड्ग राखि दर्जा अनुसार थकालीहरुलाई दिईन्छ । यस दिन थकालीहरुको शीरमा सेतो कपडाको बेताली पहिराएको हुन्छ । थकालीको सहयोगका लागि तीन जना अन्य सहयोग समेत उसको दुईजना थकाली दाँयाबाँया र एकजना छत्र बोक्ने थकालीको पछाडी हुन्छ । त्यसका साथै थकालीहरुका घरपरिवार तथा महिला आफ्न्तहरु सुकुन्दाले बत्तीदेखाउने गर्दछ ।

यस जात्रा सुरु गर्नु पुर्व जीवित देवि गणेश कुमारीको उपस्थित अनिवार्य रहन्छ । यस खःद्यःलाई गणेश कुमारीको जात्राको रुपमा समेत लिने गरिन्छ । यस दिन विहान गणेश र कुमारीको घरमा मुल नायो पुजाको साथमा बाजागाजा सहित देवी घरमा गएर लिन जान्छ । देवी घरबाट गणेश कुमारीलाई विशेष बाजा र सुकुन्दाले बत्तीदेखाएर क्वालमा अर्थात तलेजु परिसरमा रहेको कुमारी पाटीमा ल्याई विराजमान गराईन्छ । 


गणेश कुमारीको तलेजु परिसरमा आगमन पश्चात पूजारीले थकालीहरुलाई दर्जा अनुसार क्रमबदरुपमा बाँखको छत्र दिई मन्दिर परिसरबाट बाहिरीन्छ । यसरी क्रमबद्ध रुपमा बाहिरिनेमा सबै भन्दा अग्रस्थानमा डंगोल थरका बह्र थकालीलाई शरिरमा ढाल (युद्धमा सैनिकले पहिरिने कवज) का साथै राँगाको आन्द्रामा हावा फुलाई माला लगाई दिएको हुन्छ । बह्र थकाली पछि श्रेष्ठ थरका थकाली अर्थात देय थकाली दोस्रो स्थानमा रहन्छ भने अन्य क्रम अनुसार लाम्बद्ध बसि धिमे बाजा सहित तपलाछीमा रहेको लिंगेश्वर तथा नारायण मन्दिरको परिक्रमा गराई ताहालेमा रहेको क्षेत्रपालमा लाम्बद्ध राखिन्छ । यसरी बाँसको छत्रलाई जालिदेवी पनि भन्ने गरिन्छ । लिगेश्वर र नारायण मन्दिर परिक्रमा पश्चात ताहालेमा रहेको क्षेत्रपालमा थकालीहरुलाई मुल नाइके र आचायजुले ती थकालीहरुलाई विधिवत पुजाआजा गरेपछि थकालीहरु तलेजु मन्दिरतिर दौडिन्छ । 

यसरी दौडिएर जो पहिला तलेजु मन्दिर भित्रपुग्छ त्यसलाई विशेष सम्मान गर्ने व्यवस्था गरेको हुन्छ । यसरी दौडिदा थकालीहरु लाई सहयोगिहरुले सकेसम्म उचालेर भए पनि दैडाउने गरिन्छ भने बाँसको छत्र बोकेकाहरु थकालीको नाममा छत्र मन्दिरमा बुझाउने गरिन्छ । बाँसको छत्रमा रहेको फुल जीवित देवी गणेश कुमारीलाई चढाईन्छ । भने उता थकालीहरु दैडिएसंगै उक्त  क्षेत्रका सुरक्षादेवता क्षेत्रपालमा भुइफसि (कुभिण्डो)को बलि लिईन्छ अर्थात काट्न्छि । औषधी हुने विश्वासले गर्दा काटिएको भुइफसी पाउन जात्रामा सरिक भएका मानिसहरु लुछाचुउँडी समेत गर्छन । यो निकै नै हेर्न लाएको जात्रा समेत बन्छ । यसरी क्षेत्रपालमा भुइफसी काट्नुको धार्मिक विश्वास के रहेको छ भने भुइफसी भित्र दस्त प्रवशे गरी बसेको र उसको बध गरेको प्रतिकका रुपमा भुइफसी काट्ने गरिन्छ ।

यस जात्राका बारेमा एउटा किंबदन्ती सुन्न पाईन्छ । किंबदन्ती अनुसार तलेजु मन्दिरमा रहेको १३ वटा खड्ग सहितको भगवती देवी रहेकी छिन् । यी देवीलाई भक्तपुर बाट ल्याएको विश्वास गरिन्छ । त्यसैले खड्गजात्रा गर्दा बाँसभित्र लुकाएर फूलैफूलको छत्र जस्तो आकृति बनाई ढाक्ने गरेको मान्छेहरु बताउँछन् ।

किंबदन्ती जेसुकै जस्तो सुकै होस् । टोखाको मौलिक पर्वको रुपमा रहेको यस खःद्यः (खड्ग) जात्राको सम्बद्धन र प्रवर्धन गर्नु हामी सबैको कर्तव्य हो ।


Post a Comment

أحدث أقدم