काठमाडौँको उत्तरी किनारासम्म ठोकिर शिवपुरी पहाडको दक्षिण काखमा अवस्थित टोखा शतप्रतिशत नेवाःहरुको बस्ती भएको रमणीय ठाउँ हो । धार्मिक तथा पौराणिक दृष्टिले मात्र होइन, ऐतिहासिक महत्वका थुप्रै पहिचानहरु बोकेर आएको टोखा अहिले सरस्वती (क्वने) र चण्डेश्वरी (थने) नामका दुई गा.वि.स. मा बेग्लिएर रहेको छ । टोखा शब्दको सम्वन्धमा चलिआएका विभिन्न भनाइ वा किम्बदन्तीहरु यहाँ प्रस्तुत गर्नु सान्दर्भिक ठानी उल्लेख गर्न खोजिएको छ ।
क. यस क्षेत्रमा कुनै बेला "टो" नाम गरेको ख्याक रहने गरेको हुनाले "टो" ख्याक बाट टोखा भएको अथवा नेपाल भाषामा ख्य को अर्थ खेल्ने वा घुम्ने ठाउँ भएको हुनाले टो नामको ख्याक दुलफिर गर्ने अर्थमा टोख्य बाट टोखा हुन आएको,
ख. कुनै मल्ल राजाले यहाँको कुनै खास कामका लागि तोक आदेश दिएको हुनाले तोक आदेश टोक्या–देश भन्दै आउदा पछि देश छुटेर टोक्या बाट टोखा हुन आएको,
ग. "टु" उखु, "ख्य" फल्ने वा पाइने शब्दार्थको आधारमा "टु" ख्य बाट टोखा भएको ।
विभिन्न भनाइहरु प्रचलित भए पनि उल्लिखित, किम्बदन्तीमध्ये स्थानीय जाति र भाषासँग खास अर्थ राख्ने हुनाले तेस्रो कारण चाहि सम्भाब्यताको नजिक रहेको अड्कल हुन्छ ।
लक्ष्मीपुर तथा जयपुर नामले पनि चिनिने यस टोखामा प्रसिद्ध सपना तीर्थ र चण्डेश्वरी, मुस्कानेश्वर, मसानकाली लगायतका विभिन्न देवी–देवताका मन्दिरहरुका अतिरिक्त नेपान राज्यलक्ष्मीका रुपमा मानिएकी प्रसिद्ध देवी तुलषा अथवा तलेजु भवानीको मन्दिरसमेत हुनुले यहाँ कुनै समय छुट्टै राजाले राज्य गरेको अनुमान गर्न सकिन्छ । रत्न मल्लले नेपाल सम्वत ६३० मा ३०० घरको सहर बसाएको कुरा चण्डेश्वरी मन्दिर स्थित शिलापत्रबाट थाहा पाइनु र अहिलेसम्म पनि ४०० टोखा तथा ७०० फेरा भनिने परम्परा रहिरहनुले कुनै बेला टोखा अन्तर्गत समेटिइको क्षेत्र निकै ठूलो थियो भन्ने थाहा पाइन्छ । खासमा भन्नुपर्दा यहाँ रहेका विभिन्न शिलालेख, ताम्रापत्र, मूर्ति, काठमा कुंदिएका बुट्टा आदि पुरातन बस्तुहरुको अध्ययन विश्लेषण तथा मूल्याड्ढन हुन सके यस्ता विभिन्न खाले सड्ढा र अड्कलहरुको निक्र्योल निस्कने देखिन्छ ।
साहित्यअन्तर्गत पद्य फाँटलाई हेर्दा टोखामा सर्वप्रथम बिभिन्न देवीदेवतासँग सम्वद्ध प्रार्थना, भजन,स्तोत्र आदिको संरचना र गायनबाट अगि बढेको थाहा हुन्छ । यस्ता भजनहरु भक्तिसर प्रधान हुँदा हुदै पनि मौलिकता र साहित्यिक दृष्टिले निकै उन्नत देखा पर्छन् । खास गरी राणा कालमा भजनिया नति सबैलाई झारा–बेठी तिर्नु नपर्ने भरिएको हुनाले चण्डेश्वरी र सपना तीर्थमा भजनमण्डलीहरु खुलेका र विभिन्न वान्की तथा लयमा भजन सृजना गर्ने परम्पराको विकास भएको कुरा थाहा पाइन्छ । यस सन्दर्भमा गौरीमान श्रेष्ठ (१९३५–२०१६ तिर), बेखानारायण श्रेष्ठ आदिको नाम अगाडि आउँछ , गायन तथा बादनमा पनि उल्लेख्य क्षमता भएका गौरीमानले नेवारी, नेपाली, हिन्दी र सुधुक्कडी भाषामा विभिन्न देवी देवतासँग सम्बन्धित एक सय भन्दा बढी भजनहरु रचना गरेको र उन उनका यी रचनाहरु आजसम्म पनि लिखित रुपमै सीमित भएर रहेको सुनिन्छ । यस्तै बेखानारायण श्रेष्ठले पनि केही भजनहरु रचना गरेको अड्कल गरिन्छ (स्वं. गजराज जोशीबाट प्राप्त जानकारी अनुसार) ।
यसरी अध्यात्मक प्रधान चिन्तनलाई मुखरित गरेर अघि ढेको टोखेली काव्य सृजन परम्परामा धार्मिक, प्राकृतिक तथा प्रेमपरक केही रचनामा मात्र (प्रकाशनमा होइन) सीमित रहेका गजराज जोशी , पत्रिकामा लघुकविता प्रकाशन गरी सार्वजनिक भएका मोतीलाल श्रेष्ठ उदास, आदि सर्जकहरु देखा परेका छन् । पहिले पुष्ट देखिएको सृजन श्रृङ्खला बीचमा दुब्लाएर झिनो हुन पुगेको भए पनि टोखेली काव्य रचना परम्परामा आज युवा पुस्ता युगानुकूल विषयलाई समेट्न खोज्दै दरिला आशा र भरिला विश्वास लिएर जमजमाएको छ । प्रस्तुत सड्ढलन यही जमजमाइको परिणाम हो ।
तादी विविध विषययुक्त साहित्यिक पत्रिका वर्ष ३ अंक ४ २०५४ बाट साभार सम्पादक शिवप्रसाद सापकोटा
प्रकाशित मितिः २०७५ भाद्र २६ गते
إرسال تعليق