राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कार

photo by tandav news
असोज १, काठमाडौँ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनाले देश आन्दोलित छ । अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै प्रहरी र सरकारको चर्को आलोचना भइरहेको छ । सरकारले एकपछि अर्को प्रहरी टोली र छानबिन समिति गठन गरिरहेको छ । कञ्चनपुर काण्डले देश नै चिन्तित भएको यो वेला बलात्कारका घटना भने झन् बढेका छन् । निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा २२५ भन्दा बढी चेली बलात्कृत भएका छन् । ‘दिनमा चारदेखि पाँच महिला बलात्कृत भइरहेका छन्, यकिन रिपोर्ट अझै  संकलन गर्दै छौँ,’ प्रहरी प्रवक्ता शैलेश थापाले नयाँ पत्रिकासँग भने ।


महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा राजधानीमा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कार प्रयास भएको उजुरी परेको छ । १ साउनदेखि १५ भदौसम्म काठमाडौंमा मात्र बलात्कारका २८ घटना भएका छन् । त्यस्तै, ललितपुर र भक्तपुरमा ७/७ घटना भएका छन् ।

‘जस्टिस फर निर्मला’ अभियानले राजधानीमा शनिबार आह्वान गरेको प्रदर्शनमा ललितपुरकी एक महिला पनि सहभागी थिइन्, जसकी छोरीलाई सामूहिक बलात्कार गरी बारीमा फालिएको थियो । सात दिन आइसियूमा राखेर उपचार गरेपछि मात्र होसमा फर्किएकी ती युवतीका अभिभावक १० महिनादेखि प्रहरी र अदालतको  ढोका धाउँदै आएका छन् । तर, न्याय पाएका छैनन् ।
कार्यालयबाट फर्कने क्रममा २ मंसिरको बेलुका करिब ८ बजे ललितपुरको गोदामचौरमा स्थानीय युवाले बलात्कार गरेका थिए । बलात्कारपछि टाउकोमा ढुंगाले हानेर उनको हत्या प्रयास भएको थियो ।
रातभरि युवतीको खोजी भयो । भोलिपल्ट बिहान उनी बेहोस अवस्थामा भेटिएकी थिइन् । अहिले उनी शारीरिक रूपमा अशक्त छिन् । ‘उसको दाहिने हातले काम गर्दैन,’ आमा भन्छिन्, ‘आँखा पनि राम्रोसँग देख्न सक्दिन, अस्पताल धाइरहनुपरेको छ ।’
स्थानीय रघु सिलवाल, विशाल कार्की र पवन कुँवरलाई प्रहरीले केही दिनपछि पक्राउ गरेको थियो । तर, प्रमाण नपुगेको भन्दै जिल्ला अदालत ललितपुरले उनीहरूलाई छाड्ने आदेश दिएको थियो । पछि उच्च अदालत पाटनले उनीहरूलाई थुनामै राख्ने आदेश दियो । तर, त्यतिन्जेलसम्म उनीहरू फरार भइसकेका थिए । ‘प्रहरीले कतै देखे खबर गर्नू हामी पक्राउ गर्छाैं भनेको छ,’ आमा भन्छिन्, ‘अपराधी खोज्ने काम हाम्रो हो कि उहाँहरूको ?’ प्रहरीले गम्भीरताका साथ अनुसन्धान नगर्दा पीडित युवतीले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।
पीडित गाउँबाट विस्थापित
पीडित किशोरी भने गाउँबाट विस्थापित भएकी छिन् । बलात्कृत भएको भनेर गाउँलेले गलत नजरले हेर्दा छोरी घर छाडेर धापासीमा डेरामा बस्न थालेको आमाले बताइन् । फरार रहेका अभियुक्तहरू पनि स्थानीय नै भएकाले समेत पीडित गाउँमा बस्न नसकेकी हुन् ।
पीडित युवतीले रघु सिलवालविरुद्ध नै जाहेरी दिएकी थिइन् । सुरुमा आफूलाई सिलवालले नै लडाएको र उनका साथीहरूले ‘रघु रघु’ भनेर बोलाएको उनले बताएकी छिन् । प्रहरीले बलियो प्रमाण जुटाउन नसक्दा अभियुक्तहरू छुटेको पीडितको भनाइ छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी विनोद सिलवाल भने आफूहरूले गम्भीरताका साथ नै सो घटनाको अनुसन्धान गरेको र अभियुक्तहरूको खोजी भइरहेको बताउँछन् ।
निर्मलापछि कञ्चनपुरमा आठ बलात्कार
कञ्चनपुरमा दुई महिनाको अवधिमा दुई बालिकाको बलात्कारपछि हत्या भएको छ । गत २६ असारमा घरबाट किताब किन्न हिँडेकी १७ वर्षीया कविता विष्टको बलात्कारपछि हत्या भएको महिना दिन नपुग्दै ११ साउनमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो ।
कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी कविताको बलात्कारपछि हत्याराले प्रमाण नष्ट गर्न लालझाडी जंगलमा शव गाड्यो । भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मलाको बलात्कारपछिको हत्या झन् रहस्यमय बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार १ साउनमा पुनर्वास नगरपालिकाकी ३९ वर्षीया महिलालाई भैँसी चलाउन गएका वेला ३० वर्षीय नरेश रानाले बलात्कार गरे । महिला कराएपछि स्थानीयले देखेर रानालाई पक्राउ गरेका थिए । रानाविरुद्ध जबर्जस्ती करणी उद्योगअन्तर्गत प्रहरीले मुद्दा चलाएको छ ।
४ साउनमा ९ वर्षीया बालिका बलात्कृत भइन् । पुनर्वास नगरपालिका–३ का २१ वर्षीय सलिम अन्सारीले घरमा कोही नभएको वेला बालिकालाई बलात्कार गरेका थिए । अन्सारीविरुद्ध पनि कञ्चनपुर प्रहरीले जबर्जस्ती करणी मुद्दा चलाएको छ ।
१० साउनमा शुक्लाफाँटा नगरपालिका–८ नौखुरीकी २० वर्षीया महिलालाई ३२ वर्षीय बिन्तीराम चौधरीले बलात्कार गरे । महिला घरमै सुतिरहेको अवस्थामा बलात्कार गरी चौधरी भागेका थिए । चौधरीलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ ।
१६ साउनमा पुनर्वास नगरपालिका–२ की १६ वर्षीया बालिकालाई २६ वर्षीय विकास बुढाले बलात्कार गरे । घर पु-याइदिन्छु, भन्दै बुढाले उखुबारीमा लगेर जबर्जस्ती गरेका थिए । बुढालाई पनि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
१९ साउनमा भीमदत्त नगरपालिका–१० जिमुवाकी ५ वर्षीया बालिकालाई ४० वर्षीय लक्ष्मण कोलीले बलात्कार प्रयास गरे । बालिकाको घर गएका कोलीले कोही नभएको मौका छोपी बलात्कारको प्रयास गर्न खोज्दा बालिका चिच्याइन् । बाहिर स्थानीयले हल्ला गरेपछि कोली भारतीय जंगलतिर भागेका थिए । पछि नेपाल फर्किएका कोलीलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए । उनीविरुद्ध पनि प्रहरीले मुद्दा चलाएको छ ।
२६ साउनमा वेदकोट नगरपालिका–७ का पाँच वर्षीय बालक किरण धामीमाथि ६६ वर्षीय धामीले यौन दुराचार गरेका थिए । उनीविरुद्ध यौन दुराचारको मुद्दा चलाइएको छ । १७ भदौमा बेलडाँडी गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भयो । बलात्कारको आरोपमा जनक खडका र भानु विष्ट पक्राउ परेका छन् । उनीहरूविरुद्ध मुद्दा दर्ता भएको छ ।
२७ भदौमा महाकाली नगरपालिकाकी १० वर्षीया बालिका बलात्कृत भइन् । साथीको घरबाट फर्कने क्रममा बीच बाटोमा ४० वर्षीय आइते सुनारले खोलामा लगेर बलात्कार गरे । सुनारविरुद्ध मुद्दा दर्ता भएको छ ।
आर्थिक वर्ष ०७४/७५ मा कञ्चनपुरमा बलात्कारसम्बन्धी ३३ घटना भएका थिए । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार जबर्जस्ती करणीसम्बन्धी १८ र जबर्जस्ती करणी उद्योगअन्तर्गत १५ घटना भएका थिए ।
न्यायको सट्टा पैसाको बार्गेनिङ
चितवन/ आफूमाथि बलात्कार प्रयास भएको भन्दै एक महिला जिल्ला प्रहरी कार्यालय चितवन पुगिन् । सामान्य जाहेरी लेखिन् । तर, प्रहरीले सुरुमा जाहेरी लिएन । उनी न्यायका लागि माइती नेपालको कार्यालय गइन् । माइती नेपालले घटनाबारे जानकारी लियो । र, ती महिलालाई पुनः प्रहरी कार्यालय पठाइदियो ।  दोस्रोपटक प्रहरीले जाहेरी लियो, तर मुद्दा दर्ता गरेको छैन । पीडकविरुद्ध किटानी जाहेरी भए पनि प्रहरीले पक्राउ गरेको छैन ।
भरतपुर महानगरमा नगर प्रहरीका रूपमा कार्यरत ती पुरुषले भने आफूलाई फसाउने उद्देश्यले महिलाले जाहेरी दिएको बताएका छन् । महिलासँग सामान्य भेटघाट भएको तर यौन दुव्र्यवहार नगरेको उनको दाबी छ ।
सार्वजनिक स्थानमा यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा निवेदन परेको चितवन प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । तर, घटना विवरण र घटनास्थलबारे पीडित भनिएकी महिला पनि स्पष्ट नभएकाले वास्तविकता अझै आइनसकेको प्रहरीले बताएको छ । कहिले होटेल, कहिले नारायणी किनार, कहिले पुलमुनि भन्दै ठाउँ फेरेकाले सत्यतथ्य बुझ्न अनुसन्धान भइरहेको प्रहरीले बतायो ।
पैसाको बार्गेनिङ
अहिले दुई पक्षबीच पैसाको बार्गेनिङ चलेको प्रहरी स्रोतले बतायो । प्रहरी स्रोतअनुसार पीडित भनिएकी महिलाले ८ लाख रुपैयाँ दिए मिल्ने बताएकी छिन् । ‘साँच्चै घटना भएको भए न्याय माग्ने कि पैसा ?’ एक महिला अधिकारकर्मीले भनिन्, ‘यस्ता कुराले भोलिका दिनमा विकृति मौलाउँदै वास्तविक पीडितहरूले पनि पैसाकै कारण न्याय नपाउने अवस्था आउन सक्छ ।’ अन्यायमा पर्दा न्याय माग्नुका सट्टा महिलाले पैसाको बार्गेनिङ गरेपछि प्रहरी पनि झस्किएको छ ।
सुस्त मनस्थिति भएकी बालिका बलात्कृत
भरतपुर महानगर–२४ की सुस्त मनस्थिति भएकी बालिका बलात्कृत भएकी छिन् । १६ वर्षीया बालिका बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेपछि आरोपित विष्णु सापकोटा पक्राउ परेका छन् । २५ भदौमा घटना भएको थियो । २६ भदौमा सापकोटालाई पक्राउ गरी प्रहरीले जबर्जस्तीकरणी शीर्षकमा मुद्दा चलाएको छ ।
पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत
पोखरा/ पोखरा महानगरपालिका–३१ मा ७० वर्षीया वृद्धा बलात्कृत भएको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । राम्रोसँग आँखासमेत नदेख्ने उनलाई ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको परिवारले बताएका छन् । श्रीमती माइत गएको मौकामा गत बुधबार पाण्डेले वृद्धालाई घरकै कोठामा थुनेर जबर्जस्ती गरेको स्थानीयको आरोप छ । आरोपी पाण्डेलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र गुरुङले जानकारी दिए ।
‘आफन्तले उजुरी दिनुभयो, हामीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेका छौैँ,’ डिएसपी गुरुङले भने, ‘वृद्धाले ममाथि बलात्कार भयो भन्नुभएको छ ।’
जबर्जस्ती गर्न खोज्दा नातिनीद्वारा हजुरबुवाको हत्या
रामेछाप/ जबर्जस्ती गर्न खोज्ने ६५ वर्षीय वृद्धलाई १३ वर्षीया बालिकाले फलामको रड प्रहार गर्दा मृत्यु भएको छ । रामेछाप नगरपालिका–७ मुढाजोरका पूर्णबहादुर श्रेष्ठको गत बिहीबार मृत्यु भएको हो । घरभन्दा केही टाढा बारीमा घाँस काट्न जाँदै गर्दा बाटोमा पछाडिबाट समातेर जबर्जस्ती गर्न खोजेपछि पूर्णबहादुरलाई फलामको रडले हानेको बालिका गंगा श्रेष्ठ (नाम परिवर्तन) ले बताएकी छिन् ।
बाटोमा पछाडिबाट समातेर बल प्रयोग गरी लडाउन खोजेपछि गंगा पूर्णबहादुरको हात फुत्काएर भागेको र पछि घरबाट फलामको रड ल्याएर प्रहार गरेको प्रहरीलाई बयान दिएकी छिन् । पूर्णबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पूर्णबहादुर र बालिका केही टाढाको नाताले हजुरबुवा र नातिनी पर्छन् ।
दोलखामा ५ वर्षीया बालिका बलात्कृत
दोलखाको तामाकोसी गाउँपालिका–६ च्यामा गाउँमा ५ वर्षीया बालिका बलात्कृत भएकी छिन् । २१ भदौमा बेलुकी खाना खाने समयमा पीडित बालिकाका बाबुआमा भान्सामा खाना बनाइरहेको वेला अर्को कोठामा खेलिरहेकी बालिकामाथि छिमेकी ५२ वर्षीया कमल बजगार्इंले बलात्कार गरेको किटानी जाहेरी परेको छ ।
बलात्कार गरेपछि बालिका चिच्याएको र हेर्न जाँदा बालिकाको शरीरमा रगत आइरहेको जाहेरीमा उल्लेख छ । त्यसरात पीडकले अनेक आश्वासन दिएर उम्केको र भोलिपल्ट फरार भएपछि मात्र आफन्त जाहेरी दिन आएको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले जानकारी दिए । प्रहरीका अनुसार पीडक बजगार्इं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दोलखामा करार सेवाका कार्यरत छन् ।
कार्यालयका अनुसार बजगार्इं १७ भदौदेखि सम्पर्कमा छैनन् । तर, उनले २१ भदौसम्मको हाजिरी गरेको स्रोतले बताएको छ । कार्यालयका प्रमुख इन्जिनियर चन्द्रकुमार श्रेष्ठका अनुसार उनको करार सम्झौता असारमसान्तमै सकिएको थियो । तर, उनले पहुँचको धाक लगाएर जबर्जस्ती हाजिर गरिरहेका थिए ।
धनुषामा २ महिनामा ८ बलात्कार
पछिल्लो दुई महिनामा धनुषामा बलात्कारका ८ घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ३ साउन र ५ भदौमा बलात्कारका घटना भएका हुन् । ३ साउनमा सबैला नगरपालिका ३१ वर्षीया, क्षीरेश्वरनाथ नगरपालिककी २८ वर्षीया र गणेशमान चारनाथ नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएका हुन् । ५ भदौमा जनकपुर २३ की ३० वर्षीया, जनकपुर –८ की २० वर्षीया, जनकपुर–४ की १५ वर्षीया, नगराइन नगरपालिकाकी १५ वर्षीया र धनुषाधाम नगरपालिकाकी १६ वर्षीया बालिका बलात्कृत भएका हुन् ।
बाँकेमा २ बालिका बलात्कृत
बाँके/ भदौमा बाँकेको कोहलपुरमा २ बालिका बलात्कृत भएका छन् । कोहलपुर नगरपालिका–१ की ६ वर्षीया बालिकामाथि १२ भदौमा भारत उत्तर प्रदेश घर भई हाल कोहलपुर नगरपालिका–४ मदनचोक बस्दै आएका १८ वर्षीय हारुन खानले बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ ।
यस्तै, कोहलपुर नगरपालिका–५ की १३ वर्षीया बालिका ७९ वर्षीय सहोदर हजुरबुवाबाट बलात्कृत भएको उजुरी परेको छ । हजुरबुवाले नातिनीलाई लट्याउने औषधि खुवाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ । मावली घर दाङ गएकी बालिका बिरामी भई उपचारका लागि तुलसीपुरस्थित अस्पतालमा भर्ना भएपछि बलात्कारको रहस्य खुलेको पारिवारिक स्रोतले जनाएको छ ।
कामको आशमा बलात्कार
बेलबारी/ घरपरिवारलाई सहयोग गर्ने भन्दै कामका लागि काठमाडौं हिँडेकी मोरङ केराबारी ९ की एक बालिका बलात्कृत भएकी छिन् । काठमाडौं लाने व्यक्तिले नै बाटामै बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । काठमाडौं निवासी अन्दाजी ६० वर्षीय राजेन्द्र श्रेष्ठले अभिभावकको सहमतिमा बालिकालाई काठमाडौं लगेका थिए ।
श्रेष्ठ आफन्तको घरमा गएका वेला बालिकाको आमासँग भेट भएको थियो । साधारण लेखपढ मात्र गर्न सक्ने बालिकाले ठूलो घरपरिवारमा काम गर्दा राम्रै हुन्छ भन्ने मनसायले आमाले काठमाडौं पठाएकी थिइन् । पीडित बालिकाका अनुसार इटहरी कटेपछि श्रेष्ठले यौनजन्य कुरा गर्न थालेका थिए । ‘बालिकालाई श्रेष्ठले तिम्रो मिन्स भएको छ/छैन’जस्ता कुरा सोधेको बालिकाले बताएकी छिन् ।
बर्दिवास पुगेपछि श्रेष्ठले छोरीको घर छ भन्दै होटेलमा लगेर बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । बलात्कारपछि श्रेष्ठ कोक किन्न निस्केको मौका छोपेर श्रेष्ठकै ब्यागमा रहेको ३ हजार पैसा निकालेर बालिका बसपार्कतर्फ आइन् । कोठाबाट बालिका भागेपछि श्रेष्ठले हुलियासहित प्रहरीमा रिपोर्ट गरे । गाडी चढ्दै गरेको अवस्थामा ट्राफिक प्रहरीले बालिकालाई भेट्टायायो । सोधपुछ गर्ने क्रममा आफूलाई खोज्ने मान्छेले बलात्कार गरेको जानकारी गराएपछि प्रहरीले श्रेष्ठलाई तपाईंको मान्छे फेला प-यो भन्दै इलाका प्रहरी कार्यालयमा बोलाएर पक्राउ ग-यो ।
सहपाठीको बुवाबाट बालिका बलात्कृत
धनगढी/ कैलालीको घोडाघोडी नगरपालिका–६, बछुरियाकी १४ वर्षीया बालिका सहपाठीको बुवाबाट बलात्कृत भएकी छिन् । १३ भदौमा बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय हर्कबहादुर कुँवरलाई पक्राउ गरेको छ । बलात्कृत बालिका र अभियुक्त कुँवरकी छोरी कक्षा ७ मा अध्ययनरत छन् । बलात्कृत बालिका बाजेसँग बस्दै आएकी थिइन् । उनकी आमा छैनन् । बुवा दोस्रो विवाह गरेर अछाममा बस्छन् । प्रहरीका अनुसार घटना भएको दिन बालिकाका बाजे नजिकै रहेको जेठोे छोराको घरमा थिए । प्रहरीका अनुसार बालिकाले पहाडमा रहेका आफ्ना बुवालाई फोन गरेर आफू बलात्कृत भएको बताएकी थिइन् ।
यसैबीच, धनगढी उपमहानगरपालिका–११, बेलामा एक वृद्धले ११ वर्षीया बालिका बलात्कारको प्रयास गरेका छन् । बलात्कार प्रयास आरोपमा ६६ वर्षीय कृष्णबहादुर खडायतलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
बर्दियामा २ महिनामा ५ बलात्कार
बर्दिया साउन र भदौमा बलात्कारका ५ मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् । बलात्कारका प्रयासका ३ वटा मुद्दा दर्ता भएका छन् । बलात्कारको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ परेको छ । बलात्कार प्रयासको आरोपमा अन्य ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बलात्कारको डरलाग्दो शृंखला
-चितवनमा सुस्त मनस्थिति भएकी बालिका बलात्कृत
-पोखरामा राम्रोसँग आँखासमेत नदेख्ने ७० वर्षीया वृद्धा बलात्कृत
-रामेछापमा जबर्जस्ती गर्न खोज्दा नातिनीद्वारा हजुरबुबाको हत्या
-दोलखामा ५ वर्षीया बालिका बलात्कृत, खानेपानी कार्यालयका कर्मचारी फरार
-धनुषामा दुई महिनामा आठ बलात्कार
-बाँकेमा भारतीय नागरिकद्वारा बालिका बलात्कृत, नातिनीलाई लठ्याउने औषधि खुवाएर बलात्कार
-काठमाडौंमा काम लगाइदिने भनेर हिँडाइएकी मोरङकी नौ वर्षीया बालिका होटेलमा बलात्कृत
-धनगढीमा सहपाठीको बुबाबाट कक्षा ७ मा पढ्ने छात्रा बलात्कृत
-बर्दियामा दुई महिनामा पाँच बलात्कार, तीनजना मात्र पक्राउ
-रौतहटमा बलात्कारमा मिलापत्र गराउन सांसदकै घरमा छलफल
-लिटिल बुद्ध भनिने बम्जनविरुद्ध पनि बलात्कारको आरोप
-अपराध लुकाउन पुख्र्यौली घर फर्किएर पशुपालनमा लागेका झापाका नेत्रप्रसाद ५ वर्षपछि पक्राउ
 भारतले निर्भयाबाट सिक्यो  नेपालले निर्मलाबाट किन नसिक्ने ?
बलात्कारीलाई कारबाही गर्न जनस्तरबाट यति ठूलो दबाब सिर्जना हुँदा पनि न्यायिक प्रक्रिया जस्ताको तस्तै छ । महिला हिंसाका पीडितलाई छरितो र सुलभ न्याय दिन सर्वोच्च अदालतले नै फास्ट ट्र्याक कोर्ट गठन गर्न आदेश दिएको थियो । २८ साउन ०६६ मा सर्वोच्चका तत्कालीन न्यायाधीश बलराम केसी र अवधेशकुमार झाको इजलासले यस्तो अदालत गठन गर्न आवश्यक जनशक्ति र खर्चको अध्ययन गर्न महिला मन्त्रालयलाई आदेश दिएको थियो ।
मन्त्रालयले अध्ययन गरे पनि प्रतिवेदनको पत्तो छैन । यो विषयमा नयाँ पत्रिकाले पटकपटक प्रश्न उठाउँदा मन्त्रालयले फाइल नभेटिएको जवाफ दिएको छ । बलात्कारका शृंखला बढेकाले त्यो विषयमा चिन्ता जाहेर गरेर मात्रै समाजको दायित्व पूरा हुने अवस्था छैन ।
हिंसा न्यूनीकरण गर्न तथा अपराधीलाई छिटो दण्डित गर्न विशिष्टीकृत फास्ट ट्र्याक कोर्टको आवश्यकता झन् बढेको छ । भारतमा पनि सन् २००० देखि नै फास्ट ट्र्याक कोर्टको अभ्यास सुरु भएको हो । तर, दिल्लीको दुर्नाम बलात्कार काण्डपछि महिला हिंसासम्बन्धी मात्रै मुद्दा हेर्न स्पेसल फास्ट ट्र्याक कोर्ट स्थापना गरिएको छ ।
अहिले  भारतभर चार सय यस्ता अदालत गठन भएका छन् । निर्भयाको न्यायको पक्षमा उठेको सामाजिक आन्दोलनले भारतमा फास्ट ट्र्याक कोर्ट स्थापना भएजस्तै नेपालमा पनि निर्मलाको न्यायको पक्षमा उठेको आन्दोलनले त्यस्तै रचनात्मक नतिजा दिलाउन सक्छ ।
महिलामन्त्री थममाया थापा भन्छिन्, ‘कार्यालय सर्दा फास्ट ट्र्याक कोर्टको फाइल हरायो’
प्रश्न :  बलात्कारको शृंखला अनन्त भएको छ । यस्तो जघन्य अपराधमा दोषीहरू पक्राउ परेका छैनन् । दोषीहरू पक्राउ परे पनि न्यायिक प्रक्रिया असाध्यै लामो र झन्झटिलो छ । त्यसैले सर्वोच्च अदालतले महिला हिंसाका मुद्दा हेर्न विशिष्टीकृत ‘फास्ट ट्र्याक कोर्ट’ गठन गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार महिला मन्त्रालयले त्यस्तो अदालत गठन गर्न लाग्ने खर्च र जनशक्तिको अध्ययन गरेर प्रतिवेदन पनि बनाएको थियो । त्यो प्रतिवेदन तपाईंले अध्ययन गर्नुभएको छ कि छैन, कार्यान्वयन गर्न के गर्नुहुन्छ ?
उत्तर  : महिला तथा बालबालिका मन्त्रालयले त्यस्तो अध्ययन गरेको थियो भन्ने जानकारी मलाई थिएन । तपाईंको पत्रिकामा समाचार पढेपछि मैले फाइल खोजेँ, तर भेटिएन । मन्त्रालय सर्दा कुन कुनामा प-यो भन्ने थाहै हुन सकेको छैन । तैपनि हामी खोज्दै छौँ । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न हामी संवेदनशील छौँ ।
 अब अनुसन्धान सैनिकमाथि पनि
निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिले सुझाब दिएको छ । घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आँकलनमा त्यस्तो सुझाब दिइएको छ ।
निर्मलाको शव भेटिएको स्थानबाट करिब ३ सय  किलोमिटरको दूरीमा सेनाको बाहिनी छ । बलात्कारपछि घाँटीको ‘कर्ड’ न्याकेर निर्मलाको हत्या भएको पोस्टमार्टम रिपोर्टमा खुलेको छ । ‘तालिमप्राप्त व्यक्तिले यसरी हत्या गर्ने सम्भावना धेरै हुन्छ,’ छानबिन समितिका एक सदस्यले भने, ‘त्यही आधारमा बाहिनीबाट त्यो दिन बाहिर निस्किएका सैनिकमाथि पनि अनुसन्धान गर्न सुझाब दिएका छौँ ।’
कञ्चनपुरका एसपी कुवेर कडायतले सैनिकदेखि मृतकका आफन्तसम्म अनेक कोणबाट अनुसन्धान भइरहेको बताए । ‘दोषी पत्ता लगाउन कुनै कसर बाँकी राख्दैनौँ, सैनिकदेखि निर्मलाका आफन्तसम्म माथि पनि अनुसन्धान हुन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।
सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिले शनिबार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदनले अनुसन्धानमा आबद्ध प्रहरीको गम्भीर लापरबाही रहेको भन्दै उनीहरूलाई कारबाहीको सिफारिस गरेको थियो । सोही आधारमा गृहले शनिबार नै दुई डिएसपीसहित ५ जनालाई निलम्बन गरिसकेको छ । तर, समितिका एक सदस्यले भने, ‘निलम्बन मात्रै पर्याप्त होइन, तर सरकारले किन उदारता देखाएको छ भन्ने बुझ्न सकिएन ।’
समितिको सुझाबअनुसार प्रहरीमाथि त अनुसन्धान सुरु भइसकेको छ । तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण तथा अर्का युवक आयुष विष्टको डिएनए टेस्ट लिइसकिएको छ । झुट पत्ता लगाउन उनीहरूमाथि ‘पोलिग्राफ टेस्ट’ समेत गर्न लागिएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Post a Comment

أحدث أقدم