काठमाडौ, पुस ४ – तपाईका बालबालिका घरमा
धेरै इन्टरनेट चलाउँछन् ? अथवा स्कुल वा साइबरमा उनीहरुको इन्टरनेट पहुँच छ
? अझ मोवाइलमा पनि इन्टरनेटको सुविधा छ कि ? त्यसो हो भने होसियार हुनुस्
है !
आफ्ना छोराछोरी वा बालबालिकाले इन्टरनेट
चलाउन जानेको छ भनेर मख्ख मात्र नपर्नुहोस् । उनीहरु गलत बाटोमा लागेका हुन
सक्छन् अर्थात अश्लिल सामग्रीमा रमाइरहेका हुन सक्छन् । बेलैमा सचेत
हुनुहोस् ।
अन्तर्राष्ट्रिय रुपमा बिभिन्न तथ्याङ्क
हेर्ने हो भने १५ देखि १७ वर्ष उमेर समुहका बालबालिकाले इन्टरनेटमा गएर
पूर्ण अश्लिल सामग्री हेरिरहेका हुन्छन् भने ८९ प्रतिशत बालबालिकाले
च्याटमा साथीसँग सेक्स सम्बन्धि कुराकानी गरेर रमाइरहेका हुन्छन् ।
अनि ७ बर्षदेखि १७ बर्षका २९ प्रतिशत
बालबालिकाले आफ्ना इन्टरनेट आइडि सजिलै अरुलाई दिने गर्छन् । यसले
विश्वव्यापी रुपमा नै बाल अश्लिलता अर्थात ‘चाइल्ड पोर्नोग्राफी’ समस्या
बढिरहेको देखाउँछ ।
के हो ‘चाइल्ड पोर्नोग्राफी’ ?
सामान्यतया बालबालिका नग्न तस्बिर तथा
भिडियो बनाउने कार्यमा संलग्न र अश्लिल गतिविधिमा संलग्न हुनु नै चाइल्ड
पोर्नोग्राफी हो । त्यति मात्रै होइन, गलत शब्द प्रयोग गर्नु, बालबालिकालाई
गलत शब्द बोल्न लगाउनु तथा उनीहरुको अगाडि बोल्नु, अरुले दुरुपयोग गर्नु
वा आफू नै संलग्न हुनु लगायतका गतिविधि पनि बाल अश्लिलता अर्थात ‘चाइल्ड
पोर्नोग्राफी’मा पर्दछ ।
बालबालिकामा कसरी बस्छ लत ?
बालबालिकालाई बाहिरी वातावरणको बारेमा
राम्रोसँग जानकारी हुँदैन । त्यसमा पनि अश्लिलताबारे राम्ररी थाहा नै
हुँदैन । तर इन्टरनेटको पहुँच एकैचोटी पाउँदा र यस्ता विषयमा आकस्मिक
जानकारी पाउँदा बालबालिका त्यतातिर तानिन सक्छन् ।
त्यतिमात्रै होइन हिजोआज टेलिभिजनमा आउने
अर्धनग्न दृश्य, भिडियो गेममा देखिने चित्र, विज्ञापन तथा पोष्टरममा हुने
अर्धनग्न तस्बिर, कपडामा हुने यस्ता दृश्यले पनि बालबालिकालाई अश्लिल
गतिविधितिर तान्न सक्ने जानकारहरु बताउँछन् ।
यस्ता विविधता र सजिलै पहुँच हुने अश्लिल
कुराले बालबालिकालाई जोखिमको बाटोमा लैजान सक्छ । अहिले प्रहरी तथा
प्रमाणीकरण नियन्त्रणको कार्यालयमा औपचारिक रुपमा रिपोर्ट नगएपनि समस्या
देखिएको भन्दै अविभावकहरु गुनासो लिएर जाने गरका छन् ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
अन्तर्गतको प्रमाणीकरण नियन्त्रण कार्यालयका उपनियन्त्रक मनिष भट्टराई
भन्नुहुन्छ, ‘अहिलेसम्म औपचारिक रुपमा यस्ता घटना दर्ता भएका छैनन् । तर
समस्या पर्यो भन्दै यसको समाधानको लागि अभिभावकहरु सुझाव माग्न चाहिँ आउने
गरेका छन् ।’
नेपालमा यसबारे अध्ययन नै छैन
अन्तर्राष्ट्रिय रुपमा ठूलो समस्या
देखिएपनि नेपालमा बालबालिकाले इन्टरनेटमा यौन तथा अश्लिल सामग्रीको प्रयोग
कस्तो गर्छन् भन्नेबारे अध्ययन हुन सकेको छैन । प्रमाणीकरण नियन्त्रण
कार्यालयका प्रमुख लक्ष्मीप्रसाद यादव भन्नुहुन्छ, ‘हामीले केही प्रयास पनि
गरेका हौं, तर गोपनियताका कारण पनि हामीलाई सहयोग गर्न डराएको देखियो ।’
यादवले यो समस्या गम्भीर हुन सक्ने भन्दै
अध्ययनबारे सोच भैरहेको बताउनुभयो । तर बढ्दो मोबाइल र इन्टरनेटको पहुँचले
बालबालिकामा अश्लिल सामग्रीको लत हुन सक्ने प्रमाणीकरण नियन्त्रण
कार्यालयको अनुमान छ । कार्यालयका प्रमुख यादव भन्नुहुन्छ, ‘इन्टरनेटको
पहुँच बढी शहर र शिक्षित वर्गमा नै हुन्छ । यो समस्या नहोला भन्न सकिन्न ।
अभिभावक सचेत हुन आवश्यक छ ।’
बालबालिकामा के प्रभाव पर्छ ?
जब बालबालिका लुकीछिपी अश्लिल सामग्री
हेर्छन्, साथीभाइसँग यसबारे कुरा गर्छन् अथाव अरु कसैले अश्लिल गतिविधितिर
आर्कषण गरिरहेको हुन्छ, यसले बालबालिकालाई कुलततिर लैजाने खतरा हुन्छ ।
उनीहरुमा यौनप्रतिको धारणा गलत बन्न पुग्छ भने यौन हिंसाका लागि पनि
उत्प्रेरित गर्न सक्छ ।
प्रमाणीकरण नियन्त्रण कार्यालयका यादव
भन्नुहुन्छ, ‘जब बालबालिकामा यसको बानी लाग्छ, त्यसपनि उनीहरु कुलतमा फस्न
सक्छन्, सधैं इन्टरनेटमा बसेर त्यही मात्रै हेर्न उसको ध्यान जान सक्छ ।
उसको ठेगाना तथा फोटो दिएपछि अरुले ब्ल्याकमेलिङ गर्दिने हुन्छ र अभिभावकको
डरले ढाँट्ने र गलत बाटोमा फस्दै जाने खतरा हुन्छ ।’
कसरी रोक्ने ?
बालबालिकालाई इन्टरनेटमै पहुँच नदिने
भन्ने होइन, तर इन्टरनेटलाई उनीहरुले सदुपयोग वा दुरुपयोग के गरेका छन्
भन्नेबारे निगरानी हुन आवश्यक छ ।
विभिन्न अध्ययन अनुसार एकल परिवारमा
रहेका, अविभावक व्यस्त हुने, इन्टरनेट र मोवाईलमा पहुँच हुने र घर तथा
स्कुलमा निगरानी नहुने, बालबालिकाले प्रयोग गर्ने इन्टरनेटको अनुगमन नगर्ने
तथा बालबालिकालाई गलत ढंगले इन्टरनेटमा अश्लिलताप्रति आर्कषण गर्ने
गतिविधिले बालबालिका अश्लिल गतिविधिमा संलग्न भएको पाईएको छ ।
यस्ता कार्यलाई रोक्न इन्टरनेट सेवा
प्रदायक कम्पनीलाई नै अश्लिल साईटहरु रोक्न लगाउने, बालबालिकाहरुलाई गोप्य
रुपमा इन्टरनेट चलाउन नदिने, स्कूलमा पनि शिक्षकले यस्ता विषयमा निगरानी
गर्नुपर्ने सुझाव छ, जानकारहरुको ।
प्रमाणीकरण नियन्त्रण कार्यालयका
नियन्त्रक यादव भन्नुहुन्छ्, ‘इन्टरनेट वा मोवाइलको प्रयोगलाई नै
रोक्नुपर्छ भन्ने होइन, तर सफ्टवयर प्रयोग गरेर वा सार्वजनिक रुपमा मात्रै
प्रयोग गर्न दिने तथा यौनसम्बन्धि विषयमा प्रष्ट जानकारी दिने हो भने यो
रोक्न सकिन्छ ।’
साभारःहिम बिष्ट/उज्यालो
إرسال تعليق