आज देशैभर मतदान -१ करोड २१ लाख ४७ हजार ८ सय ६५ जना मतदाता

काठमाडौ -संविधानसभाको दोस्रो निर्वाचनका लागि मंगलबार देशैभर मतदान हुँदैछ । नयाँ संविधान निर्माणका लागि गठन हुने ६ सय १ सदस्यीय संविधानसभा अन्तर्गत प्रत्यक्षतर्फका २ सय ४० क्षेत्र र समानुपातिकतर्फका ३ सय ३५ सीटका लागि मतदान हुन लागेको हो । विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म देशका १८ हजार बढी मतदान केन्द्रबाट मतदान गराउने तयारी निर्वाचन आयोगले गरेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उपे्रेतीले मतदानका लागि देशभर सम्पूर्ण तयार पूरा भएको बताएका छन् । सोमबार आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख आयुक्त उप्रेतीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न दल, उम्मेदवार र सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् । २०६२र६३ को ऐतिहासिक जनआन्दोलनको परिवर्तनलाई संस्थागत गर्नको लागि नेपाली जनताले आफ्नो संविधान आफै लेख्न पहिलो पटक २०६४ सालमा संविधानसभाको निर्वाचन भएको थियो । तर, दुई वर्षको लागि गठन भएको संविधानसभाबाट चार वर्षसम्म पनि संविधान बन्न नसकेपछि पहिलो संविधानसभा विघटन भएको थियो ।
डेढ वर्ष लामो राजनीतिक अन्योलका बीच अन्ततः मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएअनुसार प्रक्रिया अघि बढेको थियो । आज हुने निर्वाचनमा देशभर कुल १ करोड २१ लाख ४७ हजार ८ सय ६५ जना मतदाता रहेका छन् । यसपटकको निर्वाचनमा विभिन्न १ सय २८ दलहरु सहभागी छन् भने प्रत्यक्षतर्फ दल र स्वतन्त्र गरी ६ हजार १ सय २८ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । यस्तै देशभर एक निर्वाचन क्षेत्र हुने समानुपातिकतर्फ १० हजारभन्दा बढी उम्मेदवारहरु रहेका छन् ।

Post a Comment

أحدث أقدم