आजबाट विधिवत रुपमा येँया(इन्द्रजात्रा) शुरु भएको छ । पन्चाङ्ग निर्णायक समितीले तोकेको साइत अनुसार आज बिहान सवा ७ बजे हनुमान ढोका दरबार परिसरमा इन्द्रध्वज सहितको लिंगो ठडाइएको छ ।
भक्तपुरको नालाबाट हिजो लिंगो भोटाहिटी ल्याइपुर्याएपछि नगरपरिक्रमा गरिएको थियो । इन्द्रध्वज सहितको लिंगो प्रतिस्थापन संगै स्छन्द भैरव, शवेत भैरव, लाखे, महाकाली नाच लगायत सर्वसाधरणको लागि अवलोकनका लागि हनुमान ढोका खुला गरिने प्रचलन छ ।
भाद्रशुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यका भित्रका नेवार समुदायले वर्षेनि येँया पुन्हि अर्थात सम्हय्बजि चाड मनाउने गर्दै आएका छन् । सो दिन बेलुका दलुचा नामक एक प्रकारको कलात्मक दियोमा तेलको बत्ती बालेर त्यस बत्तीलाई नै विधिपूर्वक सम्हय्बजि चढाएर पूजा गरिसकेपछि त्यसैको प्रसाद स्वरुप सम्ह्य खाएर चाड मनाउने गरिन्छ ।
देवमाला वंशावली अनुसार कलिगत वर्ष ३८२५ मा तत्कालिन लिच्छवी राजा गुणकामदेवले आफुले सपनामा देखे अनुसार देवी महालक्ष्मीको खड्ग आकारमा विभिन्न नामका देवदेवीहरुका पीठहरु स्थापना गरी कान्तिपुर नगरी नामले बस्ती बसाएका थिए, त्यसै बेला देखि नै प्रत्येक वर्ष भाद्र शुक्लपक्ष द्धादशी देखि पूर्णिमासम्म चारदिन नगर स्थापनाको वार्षिक उत्सव मनाउने परम्परा तिनै राजाले चलाइका थिए, भनिन्छ । त्यति बेला विजुलि बत्तीको बिकास भइनसकेको हुँदा घरघरका झ्यालहरमा “दलुचा” नामक दियाहरु झुण्ड्याएर त्यसमा तेलका बत्तीहरु बाल्ने तथा टोलहरुमा पनि काठका झ्याल जस्ता लठ्ठाहरु भुइँमा गाडेर उभ्याई त्यसमा पालाहरु राखेर बत्ती बाली उत्सव मनाउने गरिन्थ्यो । उत्सवको चौथो दिन पूर्णिमाको दिन ती बत्तीहरुलाई नै पूजा गरेर अर्थात दलुचा पूजा गरेर सम्हय् नखः मानी नगरोत्सव सिध्याउने गरिन्थ्यो , पछि शाहवंशीय राजाहरुले तीन शहर विजय गरेर शासन गर्न थालेपछि पृथ्वी नारायाण शाहका छोरा प्रतापसिंह शाहले हनुमानढोका परिसरमा इन्द्रध्वजोत्थान भनेर लिङ्गो ठड्याइ इन्द्रजात्रा भनेर नामाकरण गरी अर्काे चार दिन पनि थपेर आठ दिन जात्रा मनाउने गरिएको हो, भनिन्छ ।
कान्तिपुर नगरलाई नेपालभाषामा येँय् देय् भन्ने गरिने हुनाले त्यसबेला यस जात्रालाई येँया भन्ने गरिएको थियो । हिजोआज पनि नेपाल भाषाभाषीहरुले इन्द्रजात्रा नभनीकन येँया नै भन्ने गर्दछन् र भाद्रपूर्णिमाको दिनलाई पनि येँयापून्हि भन्ने गर्छन । इन्द्रजात्रा भन्ने नाम त पछि मात्र नेपाल भाषाभाषीहरुले राखेका हुन् । यसको अतिरिक्त येँया जात्रामा मल्ल राजाहरुको शासनकालमा कुमारीको रथयात्रा गर्ने कुरा पनि थपिएको थियो ।
إرسال تعليق