नेपालका टप टेन ‘भ्रष्ट’ जिल्ला

नेपालमा बढी भ्रष्टाचार कुन जिल्लामा हुन्छ ? कुन जिल्लामा चाहिँ कम हुन्छ? भ्रष्टाचारको मापन गर्न गाह्रो छ, तर यो सूचि विगत १३ वर्षमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका भ्रष्टाचारका उजुरीमा आधारित हो।
भ्रष्ट जिल्लाको टप टेन काउन्ट डाउन (सबभन्दा भ्रष्ट तल)
१०) काठमाडौँ
९) बाँके
८) रुपन्देही
७) सिराहा
६) पर्सा
५) महोत्तरी
४) सप्तरी
३) धनुषा
२) ललितपुर
१) बारा
सबैभन्दा कम भ्रष्टाचार हुने १० जिल्ला
कम भ्रष्ट जिल्लाको टप टेन काउन्ट डाउन (कम भ्रष्ट तल)
१०) डडेलधुरा
९) भोजपुर
८) ओखलढुंगा
७) ताप्लेजुङ
६) मकवानपुर
५) रोल्पा
४) प्युठान
३) मुस्ताङ
२) बझाङ
१) मनाङ
विस्तृत तथ्याङ्क हेर्न यहाँ क्लिक गर्नुस्
अब यो बारे एन्टी करप्सन एक्सपर्ट डा. नारायण मानन्धरको विश्लेषणको सारसंक्षेप पढौँ न त-
अङ्कमात्रै हेरेर हुँदैन
यी तथ्याङ्कहरु भ्रष्टाचारको प्रवृत्ति र आयाम बुझ्न र स्थानीय स्तरमा भ्रष्टाचारको स्थिति बुझ्न प्रयोग गर्न सकिन्छ। तर यसको व्याख्या गर्दा निकै ध्यान दिनुपर्छ। भ्रष्टाचारको उजुरी दर्ता भएको संख्याको आधारमा स्थानीयय स्तरमा हुने भ्रष्टाचारको स्तर सही रुपमा मापन गर्न सकिँदैन। भ्रष्टाचारको उजुरी बढ्नुको कारण यो समस्याप्रति जनताको चेतना बढेकोले पनि हुनसक्छ। प्रशासनसम्म सहज पहुँचका कारण पनि यो भएको हुनसक्छ। धेरै आर्थिक गतिविधि हुने जिल्ला (धेरै बजेट छुट्याइने जिल्ला) मा ठूलो स्तरको भ्रष्टाचार हुन्छ भने तिनीहरुको तुलनामा कम आर्थिक गतिविधि हुने जिल्ला (कम बजेट छुट्याइने जिल्ला) मा कमै। अर्बौँ रुपियाँको भ्रष्टाचारको एउटा मात्र उजुरी भएको जिल्लालाई स-सानो भ्रष्टाचारका सय वटा उजुरी भएको जिल्लासँग दाँज्न मिल्दैन। उजुरीको संख्याले भ्रष्टाचारको समस्याको गहनता प्रष्ट्याउँदैन। तर अरु सूचनाहरुको अभावमा यी कुराहरुलाई ध्यानमा राख्दै प्राप्त तथ्याङ्कबाट केही विश्लेषण गर्न सकिन्छ।
तराईमा समस्या बढी गम्भीर
ललितपुर र काठमाडौँलाई छाड्ने हो भने टप टेनका सबै आठ जिल्ला दक्षिणी तराई भेगका छन्। राष्ट्रपतिको जिल्ला धनुषा तेस्रो नम्बरमा पर्छ। अझै फराकिलो पारी टप २० हेर्ने हो भने पनि धेरै जिल्ला तराईका भेटिन्छन्। यसले तराईमा भ्रष्टाचारको समस्या पहाड र हिमाली क्षेत्रमा भन्दा गम्भीर रहेको देखाउँछ। यस पछाडि सजिलो पहुँच, बढी आर्थिक गतिविधि, उच्च जनचेतना अथवा भ्रष्टाचारै बढी हुने कारण हुनसक्छ।
कम भ्रष्टाचार हुने जिल्लाको सूचिमा मकवानपुरलाई छाडेर सबै जिल्ला पहाड वा हिमालमा छन्। यी जिल्लाहरुमा आर्थिक गतिविधि कम हुने भएर भ्रष्टाचारको घटना कम भएको र त्यसले भ्रष्टाचारको घटनाको उजुरीमा कमी आएको हुनसक्छ।
यद्यपि जब हामी भ्रष्टाचारको उजुरी भएका जिल्लालाई गरिबी निवारण कोषले प्रयोग गर्ने सामाजिक आर्थिक विकासको कम्पोजिट इन्डेक्ससँग तुलना गर्छौँ, तब देख्छौँ कि कुनै पनि जिल्लाको सामाजिक-आर्थिक विकासको स्तरले भ्रष्टाचारको उजुरीको स्थितिसँग कुनै सम्बन्ध राख्दैन। सामाजिक-आर्थिक विकास उच्च होस् वा कम, त्यस्ता जिल्लाहरुमा भ्रष्टाचारको उजुरी समान रुपले उच्च वा बढी हुनसक्छ। भ्रष्टाचार धनी र गरिब सबै जिल्लामा विद्यमान छ।
नियमित उजुरी
१३ वर्षको अवधिमा हरेक वर्ष उजुरी परेका जिल्लाहरुको संख्या ४ मात्रै छ। महोत्तरी, धनुषा, चितवन र रुपन्देहीमा हरेक वर्ष भ्रष्टाचारको उजुरी परेका छन्। नागरिकहरु भ्रष्टाचारका विषयमा जागरुक हुनु र भ्रष्टाचारका घटना बढ्नु यसको कारण हुनुपर्छ।
उजुरीको ट्रेन्ड

उजुरीको संख्या सन् २००५ मा निकै बढेको छ। यति बेला राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएका थिए। भ्रष्टाचारविरोधी मुद्दा तत्कालीन शासकको मुख्य अजेन्डा भएकोले पनि जिल्ला स्तरमा भ्रष्टाचारको उजुरी बढेको हुनुपर्छ। त्यसैगरी बहुदल कालमा नयाँ भ्रष्टाचारविरोधी कानुन लागू भएसँगै अख्तियारको सक्रियता बढेको बेला पनि उजुरी बढेको देखिन्छ। सन् २००६ को जनआन्दोलनपछि भने भ्रष्टाचार उजुरी घटेको देखिन्छ। जिल्ला प्रशासन कार्यालयले उजुरीविरुद्ध कारबाही गर्ला भन्ने विश्वास त्यतिबेला गुमेको देखिन्छ।
सन् २००७ मा भ्रष्टाचार उजुरी सबैभन्दा कम बिन्दूमा पुगेलगत्तै बढ्दै गएको देखिन्छ। यो बढ्ने क्रम स्थानीय निकाय सर्वदलीय संयन्त्रले चलाउने निर्णयसँगै मिडियाले स्थानीय स्तरमा हुने भ्रष्टाचारको बारे रिपोर्टिङ बढाएपछि भएको देखिन्छ।
sours:mysansar.com 

Post a Comment

أحدث أقدم