एसएलसी आजदेखि


काठमाडौ, चैत्र ७ - आज  देखि प्रवेशिका परिक्षा सुरु भएको छ । यस पालि ५ लाख २८ हजार २ सय ५७ विद्यार्थीले १ हजार ७ सय ४८ केन्द्रबाट एसएलसी परीक्षा दिँदै छन् ।
परीक्षा नियन्त्रक डिल्लीराम रिमालका अनुसार परीक्षाका लागि ५६ हजार जनशक्ति खटिने छन् । प्रत्येक केन्द्रमा एक केन्द्राध्यक्ष र आवश्यकताअनुसार एक वा दुई सहायक केन्द्राध्यक्ष तोकिएको छ । २५ विद्यार्थीका लागि एक निरीक्षक रहनेछन् । हरेक केन्द्रमा १०  सुरक्षाकर्मी तैनाथ गरिने तथा आवश्यकताअनुसार जिल्ला परीक्षा समन्वय समितिले बाहिरी सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गर्न सक्ने छ । त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र गुप्तचर विभागसित शिक्षामन्त्रीको अध्यक्षतामा संयुक्त बैठक भएको छ ।
'उत्तरपुस्तिका र प्रश्नपत्र हरेक जिल्लामा गइसकेको छ,' रिमालले आइतबार सञ्चारकर्मीसित भने, 'परीक्षा मर्यादित बनाउन कुनै कसरत बाँकी राखिने छैन ।'
उनका अनुसार परीक्षा बिथोले सार्वजनिक अपराधको कारबाही गरिनेछ । चिट चोरे/चोराए वा प्रश्नपत्रको गोपनीयता भंग गरे परीक्षाबाट निष्कासित गरी शिक्षा ऐनअनुसार एक लाख रुपैयाँ जरिवाना, ६ महिना कैद अथवा दुवै सजाय गरिनेछ । अर्काको नाममा परीक्षा दिएमा शैक्षिक प्रमाणपत्रै रद्द गर्ने गरी ऐन बनाउन केन्द्रीय परीक्षा बोर्डले मन्त्रालयलाई सिफारिस गरेको छ ।
शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माका अनुसार चिट चोराउने वा केन्द्रको वातावरण बिथोल्ने क्रियाकलापमा शिक्षक, निरीक्षक वा शिक्षा मन्त्रालय सम्बद्ध अधिकारी संलग्न भए बढुवा तथा ग्रेड रोक्का गर्ने गरी सिफारिस गर्न जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिइएको छ । 'अनियमितता गर्ने विद्यालयलाई पनि ऐनअनुसार कारबाही हुनेछ,' उनले भने ।
व्यवस्थापनका लागि केन्द्रमा शिक्षा सचिवको अध्यक्षतामा केन्द्रीय परीक्षा बोर्ड तथा जिल्लामा सीडीओको अध्यक्षतामा सुरक्षा र शिक्षा कार्यालयका प्रमुखसमेत रहने गरी समन्वय समिति बनाइएको छ । समितिले सर्वदलीय बैठक गरेर परीक्षाको तयारी गरेको छ ।
अभिभावक संघ/संगठनले विद्यार्थीलाई तनाव हुने वातावरण सिर्जना नगर्न माग गरेका छन् । अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले परीक्षाको मर्यादा कायम राख्न तथा विद्यार्थीलाई भय नहुने गरी परीक्षा गराउन आग्रह गरे । एसएलसी स्कुलतहको अन्तिम परीक्षा हो तर  विद्यालय क्षेत्र सुधार कार्यक्रमअनुसार सन् २०१४ पछि कक्षा १२ मा विद्यालय तहको अन्तिम परीक्षा हुनेछ ।

Post a Comment

Previous Post Next Post