भूकम्पमा परि नेपाल, भारत र तिब्बतमा गरी ५८ को मृत्यु

फलोअपः २ असोज, काठमाडौं । आइतबार साँझ गएको शक्तिशाली भूकम्पका कारण नेपालमा मृत्यु हुनेको ९ पुगेको छ । भूकम्पका कारण भारतमा ४२ र तिब्बतमा ७ जनाको मृत्यु भएको छ ।

भूकम्पबाट भक्तपुर, झापा, संखुवासभा र धनकुटामा गरी चार जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पका कारण होस् गुमाएकी भक्तपुर गठ्ठाघरकी ६५ वर्षीया बृद्धा लीला पौडेलको गएराति उपचारका क्रममा ज्यान गएको हो । गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा उनको राति मुत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

यस्तै घर भत्किएर पुरिँएर संखुवासभाको खाँदाबारी नुम १ का लहबहादुर राईका ५ वर्षीय प्रदिप राईको र धनकुटा फलाँटे-५ की ४० वर्षीया मधु कार्कीको मृत्यु भएको छ । झापाको मेचीनगर १० भानुटोलकी करिव ५/६ वर्षीया आयशा घिमिरेको ज्यान गएको छ । प्यारालाइसिसका बिरामी आयशा भूकम्प आउँदा बेहोस भएको र राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार काठमाडौंको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किएर च्यापिँदा गोरखा भुम्लिचोकका ३६ वर्षीय साजन श्रेष्ठ, उनकी छोरी ८ वर्षीया अनिशा र सिन्धुली मरिनका २० वर्षीय वीरबहादुर माझीको मृत्यु भएको थियो । घटनामा घाइते भएका उनीहरुको मनमोहन अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।

गृह मन्त्रालयले भने भूकपमा परि ६ जनाको मात्र मृत्यु भएको छ । मन्त्रालयले काठमाडौंमा मृत्यु भएका ३, सुनसरीका २ र संखुवासभामा एक जनाको मृत्यु भएको बताएको छ । भूकम्पका कारण २४ जना गम्भीर र ७७ जना सामान्य घाइते भएका छन् भने १ सय ६८ घरमा पूर्ण रुपमा तथा १ सय ४६ घरमा आशिंक रुपमा क्षति भएको छ । भूकम्पबाट २२ जिल्ला प्रभावित भएका मन्त्रालयले जनाएको छ ।


सरकारले तत्काल मृतकका परिवार २५ हजार दिने
सरकारले भूकम्पमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई तत्कालीन राहतस्वरुप प्रति मृतक परिवार २५ हजार दिने भएको छ । कार्यवाहक विजयकुमार गच्छदारको अध्यक्षतामा बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले मृतकका परिवारलाई प्रति रु एक लाखका दरले थप आर्थिक सहायता उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सिफारिससाथ अनुरोध गर्ने निर्णय गरेको छ ।

घटनामा परी गम्भीर घाइते भएकालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने, क्षति भएका सार्वजनिक तथा व्यक्तिगत सम्पतिको यथार्थ विवरण सङ्कलन गर्न तत्काल कार्यटोली गठन गरी क्षतिको विवरण लिने र व्यक्तिगत सम्पत्तिको हकमा विद्यमान राहत मापदण्डबमोजिम घटनास्थलमै गई तीनदिनभित्र राहत रकम वितरण गर्ने निर्णय भएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गृहअन्तर्गतका सुरक्षा निकायका प्रतिनिधिसम्मिलित कमान्डपोस्ट खडा गरी उद्धार तथा राहतको समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

सिक्किमको अवस्था भयावह
भूकम्पले नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतको सिक्किममा मात्र ३८ जनाको मृत्यु भएको छ । मर्नेहरुको संख्या बढ्ने अधिकारीहरुले बताएका छन् । ग्यानटोक पुलिसका एसपी मनदीप सिंहले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सिक्किमको उत्तरी जिल्लामा २६ जना, पूर्वी जिल्लामा ७ जना, गेजिङमा चार जना र दक्षिणी क्षेत्रमा एक जनाको मृत्यु भएको छ ।

केही सञ्चार मध्यमले २२ जना नेपाली भाषीको मृत्यु भएको बताइएपनि त्यसको पुष्टि हुन सकेको छैन । एसपी सिंहले उद्धार तथा राहत जारी रहेकाले मर्नेहरुको विस्तृत विवरण खुल्न नसकेको बताउनु भयो ।

भूकम्पका कारण वाटोघाटो बन्द भएको छ । राष्ट्रिय राजमार्ग भने सोमबारबाट सुचारु भएको छ । भूकम्पमा परेकाहरुको सेनाले हेलिकप्टरबाट उद्धार गरिरहेको छ । भूकम्पका कारण सिक्किमको प्रशासन केन्द्रमा क्षति पुग्नुका साथै प्रहरी स्टेशनहरु र घरहरुमा क्षति पुगेको छ । यस्तै भुकम्पका कारण तिब्बतमा ७ जनाको मृत्यु भएको छ ।

आइतबार साँझ ६ बजेर २६ मिनेट जाँदा भारतको सिक्मि र ताप्लेजुङको सीमालाई केन्द्रबिन्दु बनाई ६ दशमलव ९ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।



Post a Comment

أحدث أقدم