३ खर्ब ८४ अर्ब ९० करोडको बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)


काठमाडौं, अषाढ ३२ - आर्थिक वृद्धिदर ५ प्रतिशत हासिल गर्ने लक्ष्यका साथ सरकारले शुक्रबार आर्थिक वर्ष २०६८/६९ को बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०६८/६९ मा चालूतर्फ २ खर्ब ६६ अर्ब ६१ करोडसहित कुल ३ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँको आय-व्यय विवरण उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले सार्वजनिक गरेका हुन् ।
मन्त्रालयले ७२ अर्ब ६१ करोड पुँजीगत र वित्तीय व्यवस्थाअन्तर्गत २५ अर्ब ७२ करोड विनियोजन गरेको छ । प्रस्तावित खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तलुनामा २५.६७ प्रतिशतले बढी छ ।

कूल विनियोजन मध्ये विकास कार्यक्रमका लागि रु. २०२ अर्व ५६ करोड अर्थात, ५२.६२ प्रतिशत र साधारण प्रशासन तर्फ रु. १८२ अर्व ३४ करोड अर्थात ४७.३८ प्रतिशत प्रस्ताव गरिएको छ ।
खर्च जुटाउने स्रोतका रूपमा राजस्वबाट २ खर्ब ४१ अर्ब, वैदेशिक अनुदानबाट ७० अर्ब १३ करोड र वैदेशिक ऋणबाट २९ अर्ब ६५ करोड रुपैयाँ उठाउने योजना सरकारको छ । त्यो सबै गर्दा पनि न्यून हुने ३७ अर्ब ४१ करोड रुपैयाँ आन्तरिक ऋणबाट पूर्ति गरिने छ ।
मूल्य वृद्धिदर ७ प्रतिशतमै सीमित गर्ने महत्त्वाकांक्षी योजना सरकारको छ ।
क्षेत्रगत विनियोजनतर्फ शिक्षामा सबैभन्दा बढी ६३ अर्ब ९१ करोड, भौतिक योजना/सडक व्यवस्थापनमा ३७ अर्ब १६ करोड, सामाजिक सुरक्षामा ११ अर्ब ३४ करोड,  रक्षामा २० अर्ब र प्रहरीका लागि १८ अर्ब ६४ करोड छुट्याइएको स्रोतले बतायो । खानेपानीमा ९ अर्ब रुपैयाँ छुट्याइएको छ ।
चालू वर्षको भन्दा ऊर्जा क्षेत्रमा १० अर्ब रुपैयाँ बढी छ । ऊर्जातर्फ ८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहने गरी जलविद्युत् विकास कम्पनी स्थापना गरिने छ । यसलाई ५ अर्ब रुपैयाँ छुट्याइएको छ ।
बजेटमा उच्च तहका कर्मचारीलाई ३१ र निम्न तहका लागि ४२ दशमलव ८६ प्रतिशत तलबवृद्धि प्रस्ताव गरिएको छ । 'हालको महंगीलाई समेत दृष्टिगत गरी निजामती, जंगी, प्रहरी, शिक्षक लगायतका राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च राखी सदाचार प्रवर्द्धन गर्न नेपाल सरकारको मुख्य सचिवको संयोजकत्वमा गठित समितिको सिफारिस समेतका आधारमा वर्तमान तलवमानमा ३०.३९ प्रतिशत देखि ४२.८६ प्रतिशतसम्म बृद्धि गरेको छु,' बजेट बक्तब्यमा भनिएको छ, 'हालको महंगीभत्तालाई तलबमा गाभिएको छ ।'
बजेटमा निजामती कर्मचारीहरुको स्वास्थ्य वीमा कार्यक्रम आगामी आर्थिक वर्षदेखि आरम्भ गरिने उल्लेख छ ।

 यस बजेटका केही नाराहरु है-

“एक परिवार एक रोजगार”
कर्णालीमा कार्यान्वयनमा रहेको “एक परिवार एक रोजगार” कार्यक्रमलाई जाजरकोट, अछाम, बझाङ्ग र बाजुरा लगायत पूर्वाधार र मानव विकास सूचकांकमा पछाडि परेका जिल्लाहरुमा लागू गरिने
• “उत्पादन वृद्धि गरौं आत्मनिर्भर बनौं”
आगामी तीन वर्ष भित्र खाद्यान्न लगायत कृषि जन्य वस्तुमा आत्मनिर्भर बन्न कृषिलाई व्यवसायिकरण गरिनेछ
“एक गाउँ एक उत्पादन”
गाउँ घरमै रोजगारी र आयआर्जनका अवसरहरु सिर्जना गरिने
“गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी”
“सबै गाउँ उज्यालो बनाउँ”
आगामी ५ वर्ष भित्र प्रत्येक घरधुरीसम्म विद्युत पहुँच विस्तार गर्ने
जनताको रहर उज्यालो शहर
काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरहरुमा रातभर ननिभ्ने गरी नयाँ प्रविधि मार्फत सडक वत्ती जडान गर्न
“विद्युत चोरी बन्द गरौं, सभ्य समाज निर्माण गरौं”
“राष्ट्रको समृद्धि—युवाको रोजगारी”
“गाउँलाई माया गरौंः आधारभूत सेवा सुविधा गाउँमै पुर्‍याऔं ”
प्रत्येक जिल्लामा एक/एक वटा नमुना गाउँ खडा गरिने
“आफ्नो गाउँ आफै बनाउँ”
दिगो वन, समृद्ध जीवन
 एक गाउँ एक नर्सरी
“नयाँ नेपालको आवश्यकता स्वास्थ्यमा सहकारीता”
“गाउँगाउँमा ब्रोडब्याण्ड, सबै शहरमा फोन अन डिमाण्ड”
• “बंकरबाट ब्यारेक”

बजेटमा सुन्दा राम्रो लाग्ने थप व्यवस्था

मदिरा, बियर र चुरोट उद्योग र तिनका विक्रेताहरुले कुनै पनि प्रकारका उपहार कार्यक्रमहरु संचालन गर्न नपाइने र त्यस्ता उद्योगहरुले मूल्य अभिवृद्धि
करमा दर्ता भएका वाहेक अन्य बिक्रेतालाई त्यस्तो उत्पादन बिक्री गर्दा छुट समेत दिन नपाइने व्यवस्था। 

यो राम्रो व्यवस्था हो। लागू हुनु पर्छ।
झुठा एवं नक्कली विल विजकको प्रयोग गरी कर छल्ने प्रवृत्ति बढ्दै गएको पाइएकोले यस्तो कार्यमा संलग्न हुने र सघाऊ पुर्‍याउने दुवै पक्षलाई कारवाही गर्ने गरी विद्यमान कानूनी व्यवस्थामा परिमार्जन गरेको छु। झुठा तथा नक्कली विल विजक सम्बन्धी अनुसन्धान प्रक्रियामा रहेका बाँकी करदाताहरुको अनुसन्धान शीघ्र सम्पन्न गरिनेछ।
शीघ्र भनेको शब्द अनुसार छिटो नै होस्।
काठमाडौं उपत्यका भित्र सवारी आवागमन र ट्राफिक सूचना सम्प्रेषणका लागि महानगरीय ट्राफिक प्रहरी एफ एम स्टेशनको स्थापना र सञ्चालन गर्न आवश्यक बजेट छुट्याएको छु ।
३० वटा एफएम त छन् क्यारे काठमाडौँमा, अब अर्को थपिने भो। ट्राफिक सूचनाबाहेक रुक रुक रुक अरे बाबा रुक भन्ने हिन्दी गीत नि बज्ने हो कि यो एफएममा ?
सवै नेपाली नागरिकलाई विभिन्न सेवा तथा सुविधामा प्रयोग गर्न सकिने फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्ड तयार गर्ने कार्यको शुरुवात गरिनेछ। प्रथम चरणमा आगामी आर्थिक वर्षभित्र ४ लाख कार्ड वितरण गरिनेछ।
चार लाखमा म पनि पर्छु कि ? परेमा तपाईँलाई भनौँला है कस्तो रहेछ यो कार्ड
सामाजिक सुरक्षा भत्ता पाउने एकल महिलाको उमेरको हद हटाइ विधवा भएकै दिनदेखि भत्ता पाउने ब्यवस्था मिलाएको छु ।
सरकारले विधवा बन्न प्रोत्साहन गरेको नठानियोस् है। अब केटीहरुलाई गाली गर्दा रा* भन्ने गाली नगरी भत्ता पाओस् तैँले भनेर गाली गर्ने दिन नआओस्। फेरि विधवालाई मात्र दिने रे विधुरले नपाउने रे। यो त लैंगिक असमानता भो भनेर केटाहरु कुर्लन पाइन्न।
वर्तमान तलवमानमा ३०.३९ प्रतिशत देखि ४२.८६ प्रतिशतसम्म बृद्धि गरेको छु। हालको महंगीभत्तालाई तलबमा गाभिएको छ ।
सरकारीको त तलब बढ्यो त्यो पनि ठूलै। हामी निजीमा काम गर्नेलाई त केही न केही। बरु महंगीको मार खेप्नु पर्ने होला। मह‍ंगी नियन्त्रणको भने कुनै कार्यक्रम छैन
भ्रष्टाचार विरुद्धको रणनीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको विकास गर्न राष्ट्रिय जागरण अभियान सञ्चालन गरिनेछ।
अभियान सञ्चालन गर्ने क्रममै भ्रष्टाचार होला नि फेरि !
युवावर्गलाई यौन विकृति विरुद्ध लड्न प्रोत्साहित गर्न विशेष कार्यक्रम संचालन गरिनेछ ।
कस्तो कार्यक्रम हो कुन्नि ?
भावी समृद्ध नेपालको रुपरेखा देखिने गरी काठमाडौं उपत्यकामा गणतन्त्र स्मारक (मोनुमेन्ट) निर्माण गरिनेछ ।
तीन वर्ष भो क्यारे यो बनाउने भनेको। कहिले बन्ने हो ?
सम्पत्ति खरिद गर्दा आयस्रोत खुलाउनु पर्ने विद्यमान ब्यवस्थालाई परिवर्तन गरी रु. ५० लाखसम्मको सवारी साधन र एक करोड रुपैयाँ सम्मको घर जग्गा खरिद गर्दा स्रोत खुलाउनु नपर्ने ब्यवस्था गरेको छु ।
पैसा आकाशबाटै झर्छ नि, किन स्रोत खुलाउनु पर्‍यो हैन र ?
काठमाडौंका विभिन्न स्थानहरुमा उत्खनन गरिएको प्राकृतिक ग्यास परीक्षण गरी उपयोगको कार्ययोजना बनाई सञ्चालनमा ल्याइनेछ ।
जमानामा आठ कक्षा पढ्दाको भूगोल किताबमा नि यस्तै लेखिएको थियो क्यार।
बाघ र गैडाको हालको संख्यालाई आगामी १० वर्ष भित्रमा दोब्बर बनाउने लक्ष्यका साथ संरक्षण कार्य अघि बढाइनेछ ।
कसो बाघ र गैँडाको स‍ंख्या १० वर्ष भित्र दोब्बर पार्न फोटोकपी मेसिन किन्ने भनिएनछ :)
यस आर्थिक वर्षमा ३ करोड विरुवा रोपिने लक्ष्य लिएको छु । 
त्यत्रो तीन तीन करोड बिरुवा कहाँ रोप्ने होलान् !
पोखरालाई चलचित्र नगरीको रुपमा प्रवर्द्धन गरिनेछ ।
ल नेपालको हलिउड पोखरा हुने रे।
साभारः www.ekantipur.com/np/ & www.mysansar.com

Post a Comment

Previous Post Next Post