लास काटेर मासुको भागबन्डा
२०६८ वैशाख २३ गते -टोखाको भूतखेल चौरको एउटा चाखलाग्दो किंबदन्ती पनि यहाँ बराबर सुन्न पाइन्छ । आज हामी तपाईलाई यहि कथा सुन्नाउँ छौँ ।
कुनै समयमा टोखामा जुनसुकै व्यक्ति मर्दा मलामी जाने एकमात्र व्यक्ति भाजुरत्न ज्यापु थिए । एक दिन संयोगले उनको मनमा मुर्दा ल्याएको भान परेछ । मुर्दा ल्याएको भनी भूतखेल चौरर्को मसानघाटमा पुग्दा उनले क मुर्दा देखे, न त मलामी नै । अन्धकार भएकाले उनलाई घर फर्केर आउन कथिन भयो । उनले यसो मसानघाटतिर हेरे । त्यहाँ एकदम उज्यालो प्रकाश देख्यो । अगाडि उज्यालो तर पछाडि अन्धकार भएकाले भाजु रत्न डरले गर्दा एउटा बगेनीको रुखमा चढेर बसेछन् । रुखमा चढेर बसिरहेको अवस्थामा मसानघाटमा झिलीमिली बत्ती बलेको देख्दा उनलाई अचम्म लागेर आयो । ओहो ! यस्तो मध्यरातमा पनि कसरी त्यहाँ आगो बलेको होला भनेर आश्चर्य मानी उनी आँखा नचिम्ली हेरिरहे । एक्कासि त्यहाँ मसानकाली माई र भूतप्रेतको आगमन भयो ।
मसानकाली माईले लासलाई टुक्राटुक्रा पारी भाग लगाएर भूतप्रेतलाई खुवाउँदै गरेको उनले देखे । यसरी मासु भाग लगाउँदा एक भाग बढी हुन्थ्यो, पुनः त्यसलाई भाग लगाउँदा पनि एक भाग बढी नै भएकाले यस मसानघाटमा पक्कै पनि एक जना मनुष्य लुकेर बसेको हुनुपर्छ भनी मसानकाली माईले भूतप्रेतलाई त्यो मनुष्य खोज्न अराइन् । जति खोजे पनि मनुष्यलाई भेट्टाउन नसके पछि उनले आफैले ध्यानदृष्टिले विचार गरिन् । भाजु रत्न रुखमा थरथर कामिरहेको देखी मसानकाली माईले भनिन्–“हे भाजु रत्न ! रुखबाट तल झर, म तिमीलाई केही पनि गर्दिनँ । मैले मानिसको लास काटेर मासुको भाग लगाएको तिमिले देखेकाले तिमीलाई पनि एक भाग दिन्छु ,तिमी यहाँ आऊ ।”
भाजुरत्न ज्यापु थरथर कामी रुखबाट ओर्लेर मसानकाली माईको अगाडि पुगेर आफ्नो लुगामा मासु थापे । मसानकाली माईले लौ !अब तिमी आफ्नो घरमा जाऊ भनिन् । भाजुरत्न १५–२० पाइला मात्र के अगाडी पुगेका थिए , कुखुरा पनि बासिहाल्यो । मानिस भएर मानिसको मासु पनि कहाँ खान्छ र भी भाजुरत्नले लुगामा पोको पारी ल्याएको मासु भुँईमा फ्याँकिदिए । फटाफट घरतिर लागे ।
रगत लागेको कपडा पखालिहाल्नु पर्यो भनी लुगातर्फ हेर्दा रगत लागेको जति भागमा सुन टाँसिइरहेको देख्दा भाजुरत्न छक्क परे । मलाई मसानकाली माईले मासु होइन सुनको पोको पो दिएको रहेछ,व्यर्थमा मैले मान्छेको मासु भन्ने ठानी मसानघाटमै फ्याँकी आएँ भनेस उनी पश्चाताप गर्न थाले । लोभ लागेकाले फ्याँकेको ठाउँमा मासु छ कि छैन भनी फर्केर हेर्न जाँदा सो मासु मसानघाटको कुमारी भई बसिरहेको भाजुरत्नले देखे । यो घटना भएदेखि अहिलेसम्म पनि लास मसानघटमा लाँदा कसमारीलाई घुमाएर मात्र लाने गरिएको छ । अन्यथा मसानकाली माईले त्यहाँ लास जलाउन दिन्नन् भन्ने कथा स्थानीय बासिन्दाहरु बताउँछन् ।
टोखाको मसानकालीमा भएका यी घटनाहरुले भूतप्रेतको अस्तित्व यस दुनियाँमा छ भन्ने विश्वास जगाउँछ । भूतप्रेत नै छैन भन्नेहरुलाई ठुलो चुनौती दिएको छ । यस भूतप्रेत सम्बन्धी रहस्यमय घटनाहरुको वैज्ञानिक कारण खोतलेर वास्तविक कुरा जनसमक्ष ल्याउन वैज्ञानिकहरुलाई नै छोडिन्छ ।
तपाईहरुलाई कस्तो लागि रहेको छ त यी रहस्यमय घटनाहरु । आफुलाई लागेका कुराहरु हामीलाई बाँध्न नभुल्नुस । आफ्नो प्रतिकृया दिँदै गर्नुस हामी तपाईको प्रतिकृयाको प्रतिक्षामा रहने छौँ ।
Post a Comment