होली ईतिहास र एक चर्चा


नेस११३१ चैत्र ५ गते शनिवार 
हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मालाई होली पूर्णिमा भनिन्छ । होली हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो। यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो। होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउ छन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ।
होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ। राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ। सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन्। युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन्। भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन्। यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ। होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला
गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर -विशेषरूपले सजाएको लिङ्गो) गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गो)लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।
ईतिहास
होलीको बारेमा पौराणिक भनाइअनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशिपुनामक राक्षसले भगवान् विष्णुभक्त आˆनै छोरा प्रहृलादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आˆनी बहिनी होलिका -जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् । प्रहृलादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्गअनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसैनी जलाएर आपसमा रङ र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।
कृष्ण भगवान होली खेल्दै
होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो। इतिहासकाहरु मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातनधार्मिक पुस्तकहरुमा पाईन्छ। नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। विंध्यक्षेत्रको राम गढस्थानमा स्थित ईसा भन्दा 300 वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ। संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो।
उपत्यकामा होलि
भक्तपुरमा चिर स्वायगू अथार्त लिंग घुमाएपछि फागु पर्व सुरुवात भएको मानिन्छ । जगतप्रकाश मल्लको समय मा बनेको दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ ।फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिंग अथार्त लगलाई टोल-टोलमा पसलै पिच्छे घुमाएर पुजा गरी घुमाएर पुन मन्दिरको पाटीमा राखिने परम्परा छ। काठबाट बनेको दुई हात लामो लिंग करिब ३० इन्च मोटाई रहेको छ । संस्कृतिकर्मी ओम धौभडेल का अनुसार यसलाई भिमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिन्छ ।घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्षगरी ढोग्ने र दान दक्षिणा चढाएका थिए । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ|
चिर स्वायगू अथार्त लिंग झुन्ड्याएपछि यहाका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । बिशेषगरी होली भरी शनिबार र मंगलबार भिमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाका गायजु गुठीले भिमसेन मन्दिरको पाटीमा बसेर होलीको गित गाउने गरेका छन् 'भिमसेन देया लज खङ्गलो वानला ल्यासे बिस्यूवाने म्वायक सो झायला' अथार्त यसलाई नेपालीका भिमसेनको लिंगले मन लोभियोकी भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की' जस्ता गित गाउने गर्छन् ।फागुन शुक्ल पूणिर्माका दिन रंग होली खेलेपछि उक्त दिन साझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गलाबको फूल, अत्तर र अमुख सहित पुजा गरेपछि नगर परिक्रमा गरिन्छ ।त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अविरको डल्लाले छरी साझपछि दत्तात्रय मन्दिर पुर्‍याउने प्रचलन रही आएको छ । धौभडेलले बताए अनुसार साझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिंग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिर स्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ|यसरी मन्दिरबाट खोला सम्म लिंग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ । लिंग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिंग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको उनले बताए ।लिंग पखालेर भिमसेन मन्दिरमा ल्याएपछि यस बर्षको होली समाप्त हुन्छ ।
साभारःविकिपिडिया





Post a Comment

Previous Post Next Post