३ खर्व ३७ अर्व ९० करोडको बजेट प्रस्तुत (पूर्ण विवरणसहित)


काठमाडौं, मंसिर ४ - सरकारले चालु आर्थिक वर्षका लागि कुल ३ खर्व ३७ अर्व ९० करोड रुपैयाँको बजेट अध्यादेश मार्फत विनियोजन गरेको छ ।
सिंहदरवारमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले पत्रकार सम्मेलन गरी जारी गरेको बजेटमा नयाँ कार्यक्रमहरु खासै छैनन् । पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पाण्डेले भौतिक पूर्वाधारहरुको निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जानकारी दिए । सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन ८ अर्व ९५ करोड बजेट छुट्याइएको छ ।
यसैगरी महिलाहरुलाई प्रत्यक्षरुपमा लाभ पुग्ने कार्यक्रममा कूल बजेटको १७.९ प्रतिशत अर्थात रु. ६० अर्व ६१ करोड बजेट विनियोजन भएको छ । २०६७ फागुन महिनामा आयोजना गरिने छैठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताकोलागि १० करोड विनियोजन गरिएको छ ।
यसैगरी गरीबी निवारणकालागि लक्षित समूह कार्यक्रमका लागि ३ अर्ब ४ करोड बजेट छुट्याइएको छ । माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनस्र्थापना नहुन्जेलसम्मकालागि शिविरहरुको व्यवस्थापनका लागि १ अर्ब ८८ करोड बजेट विनियोजन भएको छ ।
यसैगरी साना किसान विकास बैंक र साना किसान सहकारी मार्फत पशुपालक कृषकहरुलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन१ अर्व विनियोजन भएको छ । चालू आर्थिक वर्षमा थप ८१ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन ९ अर्ब १ करोड बजेट विनियोजन भएको छ ।
स्थानीय निकायहरुलाई उपलब्ध गराउँदै आइएको अनुदानलाई निरन्तरता दिइएको छ ।
यस्तै ६० मेगावाटको त्रिशुली तेस्रो ए, १४ मेगावाटको कुलेखानी तेस्रो, ३० मेगावाटको चमेलिया र ३० मेगावाटको राहुघाट जलविद्युत निर्माण कार्य सम्पन्न गर्न बजेट विनियोजन भएको छ ।
बजेटमा शिक्षा क्षेत्रका लागि ५७ अर्ब ६५ करोड बजेट छुट्याइएको छ । यो रकम कूल बजेटको १७.१ प्रतिशत हो । यो रकम गतवर्षको खर्चको तुलनामा २४.५ प्रतिशतले बढी छ ।
संसदमा बजेट प्रस्तुत गर्न गएका अर्थमन्त्री पाण्डेलाई शुक्रबार माओवादी सभासद्हरुले अवरोध गरी बजेट पुस्तिका नै कब्जामा लिएपछि शुक्रबार राती नै सरकारको सिफारिसमा राष्ट्रपति रामवरण यादवले संसद अधिवेशनको अन्त्यको सुचना दिएका थिए ।
संसदको अन्त्य गरिएपछि राष्ट्रपतिले अध्यादेशमार्फत बजेट जारी गरेका हुन् । सिंहदवारमा अर्थ मन्त्री पाण्डेले पत्रकार सम्मेलन गरी बजेट पढेर सुनाएका हुन् ।
 साभारः ईकान्तिपुर डट कम

Post a Comment

أحدث أقدم