खोइ त कहाँ छन् नेपाली ?


वर्तमान नेपाल विभिन्न राजनीतिक विचारको झुन्ड-झुन्डमा विभाजित भएर बाँचिरहेको छ । यी भिन्न-भिन्न झुन्डका फरक विचार, सिद्धान्त र अडानका बीचमा वर्तमान नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्वको परिभाषा झुन्डिएको छ । यी विभिन्न धारको स्वार्थी र अदूरदर्शी रणनीति, पार्टी र व्यक्तिवादी चिन्तन तथा संवेदनशील र प्रतिकूल अवस्थामा पनि अगाडि सारिएका एकतर्फी अडानको बोझमुनि नतमस्तक भएर नेपाल उभिएको छ । यिनै विचारको भुमरीमा फसेर युवाका चेतना र शक्ति पनि विभाजित भएका छन् । मानवअधिकार र नागरिक समाजको खोल ओढेर केही राजनीतिक संस्कार बोकेका मानिस निश्चित पार्टीको स्वार्थ पूरा गर्न तल्लीन भएर लागिपरेका छन् । लुटेराहरू नयाँ-नयाँ अनुहार भएका मुकुन्डो लगाएर मञ्चमा नाटक देखाइरहेका छन् । यस्ता अनेकथरी धारमा उभिएका मानिसको अधीनमा रहेको यो देश विभाजित मानसिकताको प्रकोपमा परेर असफलतातिर धकेलिँदै छ ।
केही मानिस पैसा, पद र प्रतिष्ठालाई देशभन्दा पनि ठूलो ठानिरहेका छन् । उनीहरूसँग तर्क गर्ने क्षमता भएको दिमाग छ, न्याय-अन्याय छुट्याउन सक्ने खुबी छ परन्तु उनीहरूको विवेक अरू कसैका अधीनमा रहेको यथार्थको पुष्टि लगातारका केही राष्ट्रिय घटनाले गरिदिएका छन् । प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रताको दुहाइ दिनेहरूको वास्तविक अनुहार पनि यति वेला सतहमा देखा परेको छ । रियल जुस र रेकर्ड गरिएको अडियो टेप प्रकरणले विभिन्न सिद्धान्त र विचारले सुसज्जित नेपालका नेता, बुद्धिजीवी, मिडिया र सचेत नागरिकबीच उत्पन्न विभाजनको यही रेखालाई संकेत गरिरहेको छ ।
रियल जुस प्रकरणले छाडेका छापहरू सुक्न नपाउँदै माओवादी नेता कृष्णबहादुर महराले एकजना चिनियाँ नागरिकसँग सभासद् खरिद गर्न ५० करोड मागेको संवाद रेकर्ड गरिएको टेप सार्वजनिक भयोे । केही सञ्चारमाध्यमले यस घटनालाई बढो महत्त्वका साथ प्रकाशन र प्रसारण गरे, तर अधिकांश सञ्चारमाध्यमले यसलाई अलिकति पनि महत्त्व दिन चाहेनन्, किनभने टेपको सत्यतामाथि ती तिनले प्रकाशन र प्रसारण गर्नुअगाडि नै प्रश्न खडा गरेका थिए र निराधार समाचारलाई स्थान नदिने निर्णय पनि गरेका थिए । रियल जुस प्रकरणमा मौनता साधेर बसेका कतिपय सञ्चारमाध्यम, बुद्धिजीवीवर्ग, नेता यस अडियो टेप प्रकरणमा सबैभन्दा ठूलो स्वरले चिच्याए ।
रियल जुस प्रकरण यथार्थको जगमा उभिएको थियो, त्यसले सिंगो नेपालका साथसाथै भारतको सञ्चार जगत्लाई पनि नराम्रोसँग हल्लाएर छाड्यो । धेरै मानिसको वास्तविक अनुहार पनि यस प्रकरणले उजागर गरिदियो । अर्काे प्रकरण विनाप्रमाण रचना गर्न खोजिएको विदेशी चलखेल र राजनीतिक दाउपेचको जगमा उभिएको थियो त्यसैले त्यसको असर एकछिन् चलेको बतासजस्तै हलुका देखियो । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सिंगो देशभरि बहस चलिरहँदा समेत अखाद्य वस्तुको उत्पादनविरुद्ध पर्चा बाँड्न र सभामुखलाई भेटेर सत्यतथ्य पत्ता लगाउन आग्रह गर्न आवश्यक नठानेको एउटा नागरिक समाज आधारहीन भनेर अधिकांश मिडियाले किनारा लगाएको टेप प्रकरणमा भने सोही अभियानमा अग्रसर भयो ।
यस घटनाले देशका नेता र तिनका कार्यकर्तादेखि नागरिक समाज, विश्लेषक, सञ्चार जगत् आदिलाई दुई भागमा बाँडिदियो । एक जो विदेशी हस्तक्षेप देखेर वाक्कदिक्क भएका थिए र विशेषतः भारतीय राजदूत राकेश सुदलाई नेपाल सरकारले कारबाही गरेको हेर्न चाहन्थे र अर्का जो यो सारा घटनाप्रति आँखा चिम्लेर चुपचाप बस्न चाहन्थे । रियल जुस प्रकरणकै कारण प्रकट भएको राकेश सुदको अशोभनीय व्यवहारले सार्वभौम देशको स्वतन्त्रतामाथि हमला भएको नदेख्नेहरूले प्रमाणहीन भनिएको टेप प्रकरणमा देशभित्र हस्तक्षेप बढेको देखे र स्वतन्त्र र सार्वभौम नेपालका पक्षमा आवाज उठाएको अभिनय गरे ।
यही देशमा, सीमामा छिमेकी देशका एसएसबीले नेपाली युवतीको बलात्कार गर्छन्, नेपालभित्र छिरेर नेपालीका छातीमा गोली दागेर फर्किन्छन् । हामी र हाम्रो सरकार नाटकघरमा नाटक हेर्न बसेको दर्शकझैँ मौन भएर बसिदिन्छौँ । जो यी सबै अत्याचारका विरुद्ध आवाज उठाउन खोज्छ, त्यसलाई हामी कि बढ्ता क्रान्तिकारी देख्छौँ कि स्वार्थका लागि लडिरहेको, तर उसको आवाजमा आवाज मिलाउने साहस गर्न सक्दैनौँ । पार्टी, व्यक्ति र यस्तै अन्य कारणका माझमा रुमल्लिएका हामीले आफू-आफूमाझ बढिरहेको वैचारिक स्खलन देखिरहेका छौँ । तर, एकसाथ मिलेर स्खलित विचारलाई समृद्ध बनाउन सकिरहेका छैनौँ । आज देशमा माओवादी छन्, कांग्रेसी छन्, एमाले छन्, मधेसी छन्, आदिवासी, जनजाति, थारू, मुसलमान, मुसहर आदि आदि सबै छन्, तर नेपाली छैनन् ।
रामदत्त जोशी, मैतीदेवी३३, काठमाडौँ
असोज २५ गतेको नयाँ पत्रिका बाट साभार

Post a Comment

Previous Post Next Post