भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहमा अन्योल, लेखापढी व्यवसायी संघद्वारा सरकारको ध्यानाकर्षण



स्थानीय तहमा भू–सेवा केन्द्र सञ्चालन र लेखापढी व्यवसायीको अनिवार्य संलग्नता सुनिश्चित गर्न नेपाल लेखापढी व्यवसायी एसोसिएसनको माग


काठमाडौं। भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहमा लेखापढी व्यवसायीको भूमिका र भू–सेवा केन्द्र सञ्चालनको विषयमा देखिएको अन्योल अन्त्य गर्न नेपाल लेखापढी व्यवसायी एसोसिएसनले सरकारको ध्यानाकर्षण गराएको छ।


एसोसिएसनको केन्द्रीय समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र पठाउँदै स्थानीय तहमा भू–सेवा केन्द्र सञ्चालन गर्दा लेखापढी व्यवसायीको अनिवार्य संलग्नता सुनिश्चित गर्न माग गरेको हो।


एसोसिएसनले मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार २०८३ कात्तिक १६ गते जारी पत्रमा स्थानीय तहलाई सम्बोधन गर्दै भू–सेवा केन्द्र सञ्चालनसम्बन्धी व्यवस्था उल्लेख भए पनि त्यसले लेखापढी व्यवसायीको कानुनी अधिकार र व्यावसायिक सुरक्षाबारे अन्योल सिर्जना गरेको जनाएको छ।


एसोसिएसनका अनुसार कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा २७ तथा लेखापढी व्यवसायीसम्बन्धी नियमावली, २०५१ को नियम ४ ले लेखापढी व्यवसायीको कार्यक्षेत्र र अधिकार सुनिश्चित गरेको छ। साथै, लेखापढी व्यवसायीको व्यावसायिक सुरक्षा र अनिवार्य संलग्नतासम्बन्धी विषयमा सर्वोच्च अदालतबाट भएका अन्तरिम आदेश तथा विचाराधीन मुद्दाहरूलाई समेत ध्यानमा राख्नुपर्ने एसोसिएसनको भनाइ छ।


पत्रमा भूमि प्रशासन कार्यालयहरूबाट अनुमति लिएर भू–सेवा केन्द्र सञ्चालन गर्दै आएका लेखापढी व्यवसायीलाई स्थानीय तहबाट पुनः अनुमति दिने वा नदिने भन्ने विषयमा स्पष्ट व्यवस्था नभएको उल्लेख गरिएको छ। यसले भू–सेवा केन्द्र सञ्चालनमा अन्योल उत्पन्न हुनुका साथै लेखापढी व्यवसायीको सेवा प्रवाह र पेशागत अधिकार प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।


एसोसिएसनले स्थानीय तहले भू–सेवा केन्द्र सञ्चालन गर्दा लेखापढी व्यवसायीको कानुनी, व्यावसायिक तथा पेशागत अधिकारलाई बेवास्ता गर्न नहुने जनाएको छ। कानुन, नियमावली, अदालतका आदेश तथा निर्णयहरूको सम्मान गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउनुपर्ने उसको माग छ।


एसोसिएसनका अध्यक्ष सिङ्गीराम दाहालद्वारा हस्ताक्षरित पत्रमा भूमि प्रशासनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही लेखापढी व्यवसायीको अनिवार्य संलग्नता सुनिश्चित गरेर मात्र अगाडि बढाउन मन्त्रालयसँग अनुरोध गरिएको छ।


स्थानीय तहमा भू–सेवा केन्द्र सञ्चालनको अधिकार र लेखापढी व्यवसायीको पेशागत संलग्नताबारे स्पष्ट नीतिगत व्यवस्था नहुँदा आगामी दिनमा भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहमा कस्तो प्रभाव पर्छ भन्ने विषय चासोको विषय बनेको छ।


Post a Comment

Previous Post Next Post