टोखा टाइम्स, काठमाडौं, मंसिर ३। नेपाल संवत् ११४७ को अवसर पारेर नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला समितिले शंखधर दिवस तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नेपाल संवत् ११४७ को नयाँ क्यालेण्डरसमेत सार्वजनिक गरिएको छ।
लखतीर्थस्थित जगत सुन्दर ब्वनेकुथिको सभाहलमा आयोजित कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नयाँ क्यालेण्डर सार्वजनिक गरेका हुन्। कार्यक्रम दबूका काठमाडौं जिल्ला अध्यक्ष रत्नकाजी महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित केन्द्रीय अध्यक्ष श्रेष्ठले नेवाः पत्रकारहरूको हकहित, अधिकार र पहिचानका विषयमा संगठन निरन्तर सक्रिय रहँदै आएको बताए। उनले राज्यस्तरबाट छापा पत्रकारितामा संलग्न पत्रकारहरूमाथि भइरहेको विभेदपूर्ण व्यवहार तथा पत्रकारिता क्षेत्रका विभिन्न समस्याविरुद्ध दबूले आवाज उठाउँदै आएको उल्लेख गरे।
विशेष अतिथिका रूपमा केन्द्रीय उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, छ्याञ्जे राजु नापित, ज्येष्ठ सदस्य दानदास श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष विराजकाजी राजोपाध्याय तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्ला अध्यक्ष भीमबहादुर लामा सहभागी थिए।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूले नेवाः समुदायका मुद्दालाई पत्रकारितामार्फत उजागर गर्नुका साथै नेवाः आन्दोलन र पत्रकारिता आन्दोलनलाई सँगसँगै अगाडि बढाइरहेको बताए। उनले संगठनले प्रदेश संरचना र विदेश शाखासमेत विस्तार गरिसकेको जानकारी दिँदै संगठनात्मक गतिविधिलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
त्यसैगरी, केन्द्रीय सल्लाहकार राजु शाक्यले नेपाल संवत्लाई राष्ट्रिय सञ्चारमाध्यममा उचित स्थान दिनुपर्ने आवश्यकता औँल्याए। उनले राष्ट्रिय समाचार समिति (रासस) मा नेपाल संवत् प्रयोगका विषयमा आफूले पहल गर्दा सुरुमा सकारात्मक प्रतिक्रिया प्राप्त भए पनि पछि अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको अनुभव सुनाए। हाल पनि राससको मुख्य बुलेटिनमा नेपाल संवत् देख्न सकिने अवस्था नरहेको उनको भनाइ थियो।
बागमती प्रदेश अध्यक्ष विराजकाजी राजोपाध्यायले नेवाः पत्रकार राष्ट्रिय दबूले आफ्नै भवन निर्माणका लागि पहल गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा काठमाडौं जिल्ला समितिले सञ्चालन गर्दै आएका विभिन्न गतिविधि तथा नयाँ वर्षको क्यालेण्डर प्रकाशनबारे जिल्ला अध्यक्ष रत्नकाजी महर्जनले आफ्नो धारणा राख्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
दबूले पहिलोपटक क्यालेण्डर प्रकाशन गरेको जानकारी दिँदै प्रकाशन समितिका संयोजक रबिन्द्र बज्राचार्यले आगामी दिनमा क्यालेण्डरलाई निरन्तरता दिनुका साथै म्यागजिनसमेत प्रकाशन गर्ने तयारी भइरहेको बताए।
कार्यक्रममा ललितपुर जिल्ला अध्यक्ष मञ्जु बज्राचार्य, गोरखा जिल्ला अध्यक्ष हेरालाल श्रेष्ठ, ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जन, नेवाः देय् दबूका उपाध्यक्ष शान्त श्रेष्ठ, सृजनमान श्रेष्ठ, हरिकुमार श्रेष्ठ, वरिष्ठ कलाकार गणेश साय्मि, संस्कृतिविद् जितेन्द्र विलास बज्राचार्यलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
नेपाल संवत् ११४७ को अवसरमा आयोजित यस कार्यक्रमले नेवाः समुदायको मौलिक संवत्, भाषा, संस्कृति र पहिचानको संरक्षणसँगै नेवाः पत्रकारिताको संस्थागत विकासमा समेत जोड दिएको आयोजकले जनाएको छ।

Post a Comment