चौथौं हलिं नेवाः‍ दिवस मनाइँदै



काठमाडौं । विश्वभर छरिएर रहेका नेवाः समुदायलाई एकतावद्ध गर्न हलिं नेवाः दिं अर्थात विश्व नेवाः दिवस मनाइने भएको छ । आयोजक वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले मंगलबार पत्रकार सम्मेलन गर्दै बसन्तपुर डबलीमा शनिबार दिवस मनाइने जानकारी दिएको छ ।

कार्यक्रममा नेपालभाषा र समुदायमा योगदान गर्ने आठ जनालाई पुरस्कृत गरिनुका साथै लोकप्रिय गायक स्व. रमेश ताम्राकारको नाममा स्थापित पुरस्कार पनि पहिलो पटक हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।

दिवसका अवसरमा नेपाल र चीन दुवै मोहोडाबाट सगरमाथा सफल आरोहण गर्ने महिला पत्रकार कल्पना महर्जनलाई पनि नगदसहित सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विशेषाङ्क विमोचन गरिनुका साथै अगुवाहरु मल्ल के. सुन्दर, डा. महेशमान श्रेष्ठ तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठका साथ ‘विश्वमा नेवारः चुनौती र अवसर’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिनेछ ।

समारोहमा नेवाः साहित्य क्षेत्रमा योगदान गरेका पूर्खाहरुको फोटो प्रदर्शनी, नेवार परिकारको स्टल, विभिन्न ख्याति प्रांप्त कलाकार तथा संघसंस्थाहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ ।

सन् २०१८ देखि मार्चको पछिल्लो शनिबारका दिन मनाउन सुरु गरिएको दिवस गत वर्ष कोभिडरू१९ को प्रभावकै कारण स्थगित भएको हो ।

Post a Comment

Previous Post Next Post