वर्षाका कारण सुनकोसी ताल बढ्यो



श्रावण २४-सिन्धुपाल्चोक- लगातार वर्षाका कारण कान्ले पहिरोले सुनकोसी थुनेर बनेको तालमा पानीको मात्रा बढ्न थालेको छ। तीन दिनदेखि वर्षा नथामिँदा पानीको निकास बढाएर ताल घटाउने नेपाली सेनाका प्रयास सफल हुन सकेको छैन।

शनिबार बिहान कान्ले पहिरोले १२ घन्टा सुनकोसी थुनिँदा १ करोड ५० लाख क्युबिकसेट मिटर पानी जमेको थियो। बिहीबार साँझ ८० लाख क्युबिकसेटमा झरिसकेको पानी शुक्रबार बिहानदेखि फेरि बढेर ९० लाख क्यूबिकसेट पुगेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयप्रमुख एसपी लक्ष्मणबहादुर सिंहले बताए। 'तलाउमा पानीको मात्रा घटबढ भइरहेछ। साँझ घट्छ, बिहान बढेको हुन्छ,' उनले भने। 

वर्षाले सुनकोसीमा पानीको प्रवाह झन्डै दोब्बरले बढेको छ। घटनाको दिन प्रतिसेकेन्ड १ सय ८० क्यूबिकसेट पानी बहेकोमा अहिले प्रतिसेकेन्ड ३ सय क्युबिकसेट पुगेको सेनाको प्राविधिक टोलीलाई उद्धृत गर्दै एसपी सिंहले बताए। बाँधबाट भने प्रतिसेकेन्ड ३ सय ५० क्युबिकसेट पानी निकास भइरहेको छ। 'माथिबाट आएको भन्दा प्रतिसेकेन्ड ५० क्युबिकसेट बढी दरले पानी निकालिए पनि तलाउ घटेको अनुभूति गर्न पाइएको छैन,' उनले भने। 

सेनाको टोलीले बहाव बढाउन तालको बाँधमा लगातार विस्फोट गरिरहेको छ। दिनमा तीनवटासम्म ब्लास्ट गर्दै आएकोमा बिहीबार एकै दिन सात विस्फोट गरायो। बाँधदेखि सुनकोसी फाँट (बाह्रबीसे बजारबाट केही तल) सम्म झन्डै ३ किमि क्षेत्र ताल बनेको छ। शक्तिशाली ड्रिल मेसिन र विस्फोटक पदार्थसहित प्राविधिक टोली प्रवाह बढाउन तयारी हालतमा रहे पनि वर्षाले साथ दिएको छैन। 'एकै पटक मात्रा बढाउँदा थप विपत्ति निम्त्याउँछ। विस्तारै प्रवाह बढाउन कम शक्तिको विस्फोट गराउनुपरेको हो,' प्रजिअ गोपालप्रसाद पराजुलीले भने। 

विस्फोटबाट मात्रै प्रवाह बढाउन नसकिने भएपछि सेनाले शुक्रबार राजधानीबाट हेलिकोप्टरमा दुई ठूला क्षमताका एक्स्काभेटर खसालेको छ। शनिबारबाट पार्टपुर्जा बाँधमा ओसारेर एक्स्काभेटर फिट गरिने एसपी सिंहले बताए। 'फिटिङ गर्न दुई दिनजति लाग्ने सेनाले बताएको छ। त्यसपछि बाँध माथिबाट बिस्तारै एक्स्काभेटरले काम गर्छ,' उनले भने।

ताल नघट्दा राम्चेका १९ घर, अरनिको राजमार्गको एक किमि सडक, सानीमा हाइड्रोपावरको उत्पादनगृह अझै डुबेकै छन्। घटनाको सात दिन बित्दा पनि ताल नघटेपछि स्थानीयमा सम्भावित दुर्घटनाको त्रास कायमै छ। 
प्रकाशित मिति २०७१ श्रावण २४

Post a Comment

Previous Post Next Post