एमालेका उम्मेदवारको हत्याका आरोपी सार्वजनिक



बारा, कात्तिक १० नेकपा एमालेका उम्मेदवार महमुद आलमको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइवीले आलमको हत्यामा संलग्न रहेको अभियोगमा एमालेकै नेता रामचन्द्र प्यासी कुसवाह, बीरगञ्ज बस्दै आएका भारतीय नागरिक अतिक खान र रक्सौलका पत्रकार राजेश श्रीवास्तव बर्मालाई बारामा सार्वजनिक गरेको हो ।
अभियुक्तलाई सार्वजनिक गर्दै सिआइवीका डीआइजी प्रकाश अर्यालले आलमको हत्याका लागि प्यासीले ६ महिनादेखि योजना बनाएको र पटक पटक हत्या गर्ने प्रयास गरेको बताउनुभयो । भारतबाट ३ जना सार्प सुटर ल्याएर हत्या गर्न काठमाडौं र बारामा पटक पटक प्रयास भएको र हत्याको योजना दुबईमा बनाइएको डिआइजी अर्यालले बताउनुभयो । दुबईमा रहेको ब्यक्तिको बारे केही खुल्न नसकेको उहाँको भनाई छ ।
गएको संविधानसभाका सदस्यसमेत रहेका प्यासीलाई आलम हत्यामा संलग्न रहेको अभियोगमा सीआइवीको टोलीले शनिबार पक्राउ गरेको थियो ।  डिआइजी अर्यालका अनुसार प्यासी आलम हत्याका योजनाकार, खान व्यवस्थापक र वर्मा सुचकको रुपमा काम गरेका थिए । २०७० बैशाखदेखि हत्या भएको दिनसम्म प्यासीको योजनामा आलमको घर र आवतजावत गर्ने ठाउँबारे सूचना संकलन भएको थियो ।
दुबईमा बस्ने मुख्य योजनाकारले आलमको हत्याको योजना बनाएर ३० अगस्त २०१३ मा ३ जना भारतीय सुटर रक्सौल हुदै वीरगञ्ज आएर होटल रानी पोखरीको कोठा नं १०३ मा बसेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
७ सेप्टेम्बरमा सुटरहरुलाई भारतीय नागरिक अतिक खान आलमको हत्या गर्न काठमाडौं गएको र हत्या गर्न नसकेपछि २ अक्टुबरमा वीरगञ्ज फर्केर सुटरहरु वीरगञ्जको एक गेष्टहाउसमा बसेको डिआइजी अर्यालले दाबी गर्नुभयो ।
प्रहरी प्रतिवेदन अनुसार प्यासीले सुटरहरुलाई आलम सवार बा ५ च ३३२९ नम्बरको टाटासुमोको रंगबारे उम्मेदवारी दर्ताको दिन जानकारी गराएका थिए । आलममाथि गोली प्रहार भएको दिन असोज १८ गते आलम घर नजिकै २ जना सुटरहरु मोटरसाईकलमा बसेर पछाडि गर्दै आई लिपनिमाल १ स्थित चावासती दाना उद्योग आलममाथि गोली प्रहार गरेको थियो ।
बिहान ११:३० मा आलममाथि गोली प्रहार गरेको भारतीय सुटर १२:३० बजे वीरगञ्जको एभरेष्ट होटल अगाडि मोटरसाईकल छोडी भारतको रक्सौलतर्फ फरार भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । असोज १८ गते बाराको लिप्नीमाल १ मा गोली प्रहार गरिएको एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेद्वार आलमको असोज २४ गते उपचारका क्रममा काठमाडौंमा ज्यान गएको थियो । आलमको हत्यामा संलग्न सुटरहरु असोज ११ गते काठमाडौं जोरपाटीमा भारतीय नागरिक मोहम्मद समसुल हकमाथि गोली प्रहार गरी घाईते बनाएको सिआइबीले जनाएको छ ।
 http://ujyaaloonline.com/news

Post a Comment

Previous Post Next Post