काठमाडौं, १४ भाद्र । अमेरीकासँग मिलेर सीरियामा सैन्य कारबाही गर्ने प्रस्ताव बेलायतको तल्लो सदनबाट अस्वीकृत भएको छ । ‘हाउस अफ कमन्स’मा प्रधानमन्त्री डेभिड क्यामरुनले राखेको प्रस्ताव सांसदहरुले खारेज गरिदिएका हुन् ।
आक्रमण गर्न हुँदैन भन्ने पक्षमा २ सय ८५ र आक्रमण गर्नुपर्ने पक्षमा २ सय ७२ मत परेको थियो । सैन्य कारबाहीको प्रस्ताव १३ मतले अस्वीकृत भएपछि प्रधानमन्त्री क्यामरुनले बेलायती जनताले सीरियामा कारबाही गर्न नचाहेको प्रतिकृया दिएको बीबीसीले जनाएको छ ।
यसअघि बेलायतले सीरियाका राष्ट्रपति बशर अल असदका सेनाले सरकारविरुद्ध आन्दोलनरत समूहमाथि रासायनिक हतियार प्रयोग गरेको भन्दै सैन्य कारबाही गर्नुपर्ने बताउँदै आएको थियो ।
यद्यपी बेलायतमा कुनै पनि कदम चाल्नु अघि संसदमा दोस्रोपटक पनि मतदान गर्नुपर्ने प्रावधान छ । त्यसैले बेलायतको स्पष्ट निर्णय आउनुअघि दोस्रोपटकको मत परिणामलाई कुर्नुपर्ने भएको छ ।
यसैबीच रासायनीक हमला भए–नभएको पत्ता लगाउन सीरिया पुगेको संयुक्त राष्ट्रसंघको टोली नमुना संकलन गरेर शनिबार फर्किदै छ । जाँचको परिणाम आउन धेरै दिन लाग्ने बताइएको छ । यद्यपी आउँदो हप्ताभित्र जाँचको प्रारम्भिक जानकारी आउने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
Post a Comment