सुरेन्द्र पौडेल, काठमाडौं, जेठ ३२- दक्षिण एसियाली राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानभन्दा नेपाल शान्त रहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ। दक्षिण एसियामा भुटानमात्र नेपालभन्दा शान्त रहेको अध्ययनको निष्कर्ष छ।
अमेरिकी तथा अस्ट्रेलियन संस्था इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (आइपी) ले मंगलबार लन्डनमा सार्वजनिक गरेको 'ग्लोबल पिस इन्डेक्स २०१२' (विश्व शान्ति सूचकांक २०१२) अध्ययन प्रतिवेदनमा नेपाललाई विश्वका शान्तिपूर्ण राष्ट्रको सूचीमा ८०औं स्थानमा राखिएको छ। अध्ययनमा विश्वका १ सय ५८ राष्ट्र समेटिएको छ।
'दक्षिण एसियामा भुटानपछि नेपाल दोस्रो शान्तिपूर्ण देशको रुपमा देखिएको छ,' एक सय २९ पृष्ठ लामो प्रतिवेदनमा वर्ष २०११ को समीक्षा गर्दै भनिएको छ, 'पहिलेभन्दा सुरक्षा सुधार र राजनीतिक स्थिरता बढेकाले नेपाल ८०औं शान्त देश बनेको हो।'
अध्ययनमा समेटिएका देशका आन्तरिक तथा बाह्य द्वन्द्व, सामाजिक सुरक्षा सतर्कता, सैन्यकरण, सरकारको प्रभावकारिता, विधिको शासन, राजनीतिक संस्कार, भ्रष्टाचार नियन्त्रण, प्रेस स्वतन्त्रता, लगानी मैत्री वातावरणलगायत २३ वटा सूचक तयार पारी अध्ययन गरिएको थियो। यिनै सूचकका आधारमा 'ग्लोबल पिस इन्डेक्स' तयार पारिएको आइपीको प्रतिवेदनमा जनाइएको छ।
प्रतिवेदनअनुसार नेपाल अघिल्लो वर्षको तुलनामा १५ स्थान उक्लेको छ। सन् २०११ को प्रतिवेदनमा नेपालको विश्वका शान्तिपूर्ण देशको सूचीमा ९५ औं स्थानमा रहेको थियो। एसियाली राष्ट्रमा नेपाल, श्रीलंका, भुटान र फिलिपिन्सले सन् २०११ मा शान्तिका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको प्रतिवेदनमा जनाइएको छ।
अघिल्लो वर्षभन्दा ७ स्थान तल झरी सूचीको १ सय ४२ औं स्थानमा रहेपनि भारतले छिमेकी राष्ट्रसँगको कटुता कम गरेको प्रतिवेदनमा छ। 'वर्ष २०११ मा भारतको सम्बन्ध छिमेकी राष्ट्रसँग सुधि्रएको छ। यस क्षेत्रको आन्तरिक हितका लागि यसले निरन्तरता पाउने आशा हामीले लिएका छौं,' अनुसन्धानकर्तामध्ये एक स्टिभ किलएल्आको भनाइ प्रतिवेदनमा उद्धृत छ।
सूचीमा बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान र अफगानिस्तान क्रमशः ९१, १ सय ३, १ सय ४२, १ सय ४९ र १ सय ५७ औं स्थानमा छन्।
प्रतिवेदन अनुसार एसिया तथा प्यासिफिक राष्ट्रमा न्युजिल्यान्ड पहिलो नम्बरमा छ, जापान दोस्रो र भुटान तेस्रो। नेपाल भने एसियाली सूचीको १३औं स्थानमा छ।
राजनीतिक हिंसा घटेको र सैन्य लगानी कटौती भएकाले २०११ अघिल्लो वर्षको तुलनामा शान्त रहेको प्रतिवेदनमा छ।
- नागरिक-
Post a Comment