प्रधानमन्त्रीको चुनाव आज १ बजे


काठमाडौ, भाद्र ११ - प्रधानमन्त्री चुन्न आइतबार व्यवस्थापिका संसद्मा मतदान हुँदैछ । दलहरूबीच सहमतिको सरकार गठन हुन नसकेपछि बहुमतीय प्रक्रिया अनुसार प्रधानमन्त्री चयन गर्न मतदान हुन लागेको हो ।
माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल चुनावी मैदानमा छन् । दिउँसो १ बजे संसद्मा चुनाव हुनेछ । सहमतीय सरकारका लागि राष्ट्रपतिले पहिलो पटक सात र दोस्रो पटक तीन दिनको समय दिए पनि दलहरूबीच सहमति हुन नसकेपछि बहुमतीय प्रक्रिया अघि बढेको हो ।
अन्तरिम संविधानको धारा ३८ -२) मा बहुमतीय प्रक्रियाअनुसार प्रधानमन्त्री चयन हुने व्यवस्था छ ।
सभामुख सुवास नेम्वाङले प्रधानमन्त्री चुनाव हुने दिन आइतबार पौने १२ बजेभित्र संसद् प्रवेश गर्न सभासदलाई यस अघि नै 'रुलिङ' गरिसकेका छन् । संशोधित नियमावलीअनुसार सभासदले अनुपस्थित रहन र तटस्थ बस्न पाउने छैनन् ।
यसअघिको प्रधानमन्त्री चुनावमा मधेसी जनअधिकार फोरम नेपालका सबै सभासद संसद्मा अनुपस्थित भए पनि कुनै कारबाही भएको थिएन । संशोधित नियमावलीअनुसार सभामुखलाई पूर्वसूचना दिएरबाहेक अनुपस्थित रहन पाइने छैन । पक्ष वा विपक्षमा मत दिनैपर्ने छ । नियमावलीमा यस्तो व्यवस्था नहुँदा गत वर्ष साउनदेखि माघसम्म १७ पटकसम्म मतदान भए पनि परिणाम आएको थिएन । लामो समयसम्म चुनाव भइरहे पनि परिणाम नआएपछि नियमावली संशोधन गरिएको थियो ।
दुईवटै प्रस्ताव एकै पटक निर्णयार्थ प्रस्तुत हुनेछ । विजयी हुन कम्तीमा दुई सय ९८ मत आवश्यक पर्छ । संसद्मा पाँच सय ९४ सभासद छन् । यीमध्ये जनता दल -युनाइटेड) का सभासद विश्वनाथप्रसाद अग्रवाल उपचारार्थ अमेरिका छन् ।
सद्भावना आनन्दीदेवीले बहुमतीय चुनावमा सहभागी नहुन आफ्ना सभासदलाई निर्देशन दिएको छ । उक्त पार्टीका सभासदहरू सरिता गिरी र मोतीलाल दुगडले सभामुखलाई निर्देशनबारे जानकारी गराइसकेका छन् । सभामुख नेम्वाङले भने मतदानमा उपस्थित नहुनु नियमविपरीत हुने बताए । 'पार्टीको निर्देशन मलाई जानकारी गराएका छन्,' उनले भने, 'उनीहरू सहभागी भएर मत दिनैपर्छ ।'
माओवादी सभासद गुणाखर बस्याल, फोरमका शिवपुजन राय यादव र एमालेका नारदमुनि राना थारू सम्पर्कबाहिर छन् । जनता दलकी गायत्री साह, एमालेका डोलबहादुर कार्की र फोरम गणतान्त्रिकका बीपी यादव निलम्बित भएकाले मताधिकार गुमेको छ ।
source;ekantipur.com

Post a Comment

Previous Post Next Post